रिले दौड जस्तो
एक वृक्षले अर्को वृक्षलाई
बतास थमाइदिए जस्तो
मेरो मस्तिष्कमा
विचारहरू सलबलाइरहेका छन्
कुनै माध्यम खोजी जोडिइरहेका छन्
कुनै विद्रोह गर्न अनुक्रम मिलाउँदै छन्।
मेरो चेतनालाई
राम्रोसँग ज्ञात छ
तर पनि अन्त:करणबाट
एउटा भिन्न प्रतिध्वनी आउँछ
जसले चेतनाको दियो निभाउँछ
निष्पट्ट अन्धकार बनाउँछ
अनि धकेल्छ
उही विद्रोहको भयावह महासागरमा
केको लागि विद्रोह भइरहेछ
थाहा छैन
किन विद्रोह भइरहेछ
थाहा छैन
आफ्नो लागि
या त आफ्नाको लागि?
थाहा छैन
मात्र थाहा छ त
विद्रोह कसरी भइरहेछ।
त्यो सोच, विचार, परिकल्पनाको विद्रोह
हुरी नै आए पनि
वृक्षलाई सुइको नदिने तरिकाको छ
जति ताली बजे पनि आवाज नआउने तरिकाको छ
मानौँ कि विद्रोहले निर्वात मन पराउँछ
लाग्दै छ विद्रोहले विचित्र
विचार सिर्जना गर्दैछ
दसैँको टीकामा पनि होलीको रङ्ग
भर्दै छ
अजीव सुगन्ध छर्दैछ
मलाई खिन्नता र खुसीको मिश्रणले श्रृंगार्दै छ
खै मेरो भनिने 'म' कस्को लागि विद्रोह गर्दैछ?