केही फूलहरूले
केही अबिरहरूले
केही राइफलका तोप सलामीहरूले
केही दोसल्लाहरूले
केही ध्वजाहरूले
केही थान आँसुहरूले
केही थान दाउराहरूले
केही ज्वाला आगोहरूले
तिम्रो बिदाइ गरेका छन्
तिमी जानू, माथि जानू
धेरै माथि जानुू
तिमी धन्य रहेछौ
तिमी यसरी जान पायौ।
सडकमा लाठी बोकेर हिँड्दै गर्दा
कोही आफ्नाले चिन्ला भनेर
चिन्ता गर्नु भएको छ?
कहिल्यै तपाईंले
आफैलाई भात खान दिएको
पेसासँग घृणा गर्नु भएको छ?
कहिल्यै लाज हुन्छ भनेर
आफ्नो बर्दीलाई
ज्याकेटले ढाक्नु भएको छ?
सडकमा दिनभर उभिएको
त्यो बर्दिवाल
कहिल्यै मेरो लागि हो भनेर सोच्नुभएको छ?
कहिल्यै एक लोहोटा पानी दिनु भएको छ?
तपाईं तराई जानु भएको छ?
तपाईं पहाड जानु भएको छ?
तपाईं हिमाल जानु भएको छ?
तराईको धुपमा
हिमालको ठन्डीमा
एउटै लुगा लगाएर कहिल्यै बस्नु भएको छ?
आफ्ना साना छोराछोरीलाई
त्यो बर्दीसँग डरबाहेक
अरु केही देखाउनु भएको छ?
तपाईंलाई तपाईंकै बेइज्जत
तपाईंकै छेउमा बसेर कसैले गर्दैगर्दा
तपाईं त्यो पेसाको मान्छे हैन भनेर देखाउन
सुनेको नसुन्यै गर्नु परेको छ?
तपाईंलाई देख्ने जति सबैले
घृणाको नजरले हेर्दा
तपाईं के गर्नुहुन्छ?
तपाईं घरमै हुनुहुन्छ
दसैँ, तिहार, चाडबाडमा
टीका लगाउन नपाउँदा कस्तो हुन्छ?
तपाईंलाई कहिल्यै तपाईंले
चाहनेहरूले नै यो जागिर छोड
यस्तो पनि के गर्ने भनेको छ?
तपाईंलाई मेरा प्रश्नहरू सुनेर दिक्क त लागेको छैन?
तपाईंको मनमा
यस्ता जाबो
कति छन् कति
यी चोरै त हुन् भन्ने त आइरहेको छैन?
एकचोटि ऐनाअगाडि उभिनुस् त
मेरा प्रश्नहरू
त्यो ऐनालाई सोध्नुस् त
-ऐनाले के जवाफ दियो?
अँ साँच्चै, म त मरेर जानेको कुरै बिर्सिएछु
तिमी धन्य रहेछौ
तिमी यसरी जान पायौ।
हामीलाई हेर त
तिमीजस्तै हामीहरू क्या
हरेक दिन हामी यही त्रासमा
तिमीजस्तै हुने डरमा
यिनै-यिनै प्रश्नहरूमा
हरेक दिन मरिरहेछौँ।
यो गन्नेमान्नेहरूको समाजमा
तिमी हामी देश भनेर बस्नेहरू
साँच्चै यसरी नै मरिरहेछौँ
तिमी धन्य रहेछौ, जाने बेला केही हाई-हाई पायौ।
(नोट: बिराटनगरमा मारिएकी प्रहरी जवानप्रति समर्पित।)