तिमी भन्छौ क्रान्तिको रङ्ग रातो हुन्छ
म भन्छु होइन, क्रान्तिको रङ्ग निलो हुन्छ
रातो रङ्ग त रगतको मात्र हुन्छ
क्रान्ति भनेको रगत होइन
पसिना हो
पसिनाको रङ्ग निलो हुन्छ
तिमीलाई लाग्दो हो क्रान्ति भनेको कसिलो मुट्ठी हो
चर्को आवाज हो
जवान रगतको उत्तेजना हो
मलाई लाग्छ कसिलो मुट्ठी त क्रोध मात्रै हो
मुट्ठी कसेर छानो भत्काउनु क्रान्ति हुन्छ?
कि गला मिलाएर जग हाल्नु क्रान्ति हुन्छ?
फूलबारीबाट आइरहेको बारुदको दुर्गन्ध
बेदका ऋचाहरूमा लागिरहेको आगो
विभाजित गरिएको धर्ती
सत्तासँग साटेको नैतिकता
कुनै पनि चिज क्रान्ति होइन
मन्दिरबाट आइरहेको धुपको बासना
आगो निभाउन भइरहेको वर्षा
पहराको छातीमा हुर्किरहेको पिपल
बाँझो चिरिरहेको किसान
सब चिज क्रान्ति हुन्
तिमी र ममा यही फरक छ
तिमी विनाशलाई क्रान्ति भन्छौ
म सृजनालाई क्रान्ति भन्छु
तिमी मृत्युलाई क्रान्ति भन्छौ
म जीवनलाई क्रान्ति भन्छु।