ढुङ्गालाई मुठ्ठीमा राखेर
माटो बनाउने तागत छ पेम्बासँग
पेम्बासँग आफ्नै शक्ति छ
आफ्नै शक्ति हुनेहरूले
कसैको नोक्सान पुर्याउँदैनन्।
पेम्बा आफैमा शान्त छ
पेम्बासँग आफ्नै गुम्बा छ
पेम्बासँग आफ्नै बुद्ध छ
आफ्नै बुद्ध हुनेहरूले
बुद्धत्वमा भन्दा अन्त कतै टेक्दैनन्
टेकिएर संसारमा नमर्ने बुद्धत्व मात्रै हो।
आफ्नै हिमाल छ पेम्बासँग
कहिलेकाहीँ घुम्न गएर
त्यो तिम्रो हुँदैन
हिमालको फोटोमा चिसो हुँदैन।
पेम्बाले हिमाल चढेको छ
पेम्बाले हिमाल चढेको फोटो छैन
आफ्नै हुनु भनेको फोटो हुनु होइन
फोटोले कहिल्यै हिमाल चढ्न सक्दैन
पेम्बाले चढेको छ
आफ्नै हिमाल छ पेम्बासँग।
जूनजस्तो तेज छ निमाको
उसको प्रेमिका
जसले पेम्बाको हिमाललाई
रातमा पनि उज्यालो दिइरहन्छे
चम्किरहन्छ उनीहरूको प्रेम सधैँ
पेम्बाको हिमालमा निमाको तेज चम्किन्छ
तिम्रो प्रेमिकाको तिमीमा के चम्किन्छ?
हुस्सु च्यातिएर हिमाल देखिएझैँ
देखिन्छ पेम्बाले मुस्कुराउँदा
पेम्बासँग आफ्नै मुस्कान छ
आफ्नै मुस्कान-
आफ्नो मौलिकताबाट मात्रै जन्मिन्छ
मौलिकताभन्दा अर्को सुन्दरता हुँदैन।
पेम्बा जसरी बाँचिरहेको छ
सबैथोक आफ्नै लिएर बाँचिरहेको छ
यो त मैले लेखेको हो
आफैले लेखेको
आफ्नो कविता छ पेम्बासँग
जुन कविता पढ्नलाई मात्र
पहिला आफू कवि हुनुपर्छ
अरुले बनाइदिएको कवि होइन नि फेरि!
आफै हुनुपर्छ।