भन्देऊ न काका यो माटो मेरो किन हुन सकेन?
कुन् साल, कुन महिना र कति गते कसले
यो देशलाई हिमाल, पहाड र तराई छुट्टाए म जान्दिनँ
म जन्मनुभन्दा पहिल्यै म मधेसी रहेछु
सानो छँदा मेरो साथी र मैले सँगै स्कुल मुन्तिरको खेतमा
पानी हालेर हिलो बनाएर लेखेका थियौँ आफ्नो नाम
अनि नामपछि 'म नेपाली हुँ' भन्ने वाक्य
आज ठूलो भइसकेपछि हाम्रो केही कुरामा
मन मुटाव हुँदा उसले मलाई मधेसी भन्यो
किन बिर्सियो उसले हामीले बालापनमा सँगै लेखेका शब्दहरू?
के मेरो वर्ण, लवज र भेषमा उसले नेपाल भेटेन?
एउटै माटोमा हुर्किएर, एउटै पसिना बगाएर एउटै सपना पालेर पनि
ऊ आफूलाई अग्लो पहाड देख्छ र मलाई सानो खेत देख्छ
के मलाई तराईका फाँटहरूमा आफूलाई अग्लाउने अधिकार छैन?
धोती र मजेत्रोमा आफूलाई देख्न चाहने म
ढाकाटोपीलाई शीरमा राखेर नेपाल गाउन पनि मन पराउँछु
दौरा सुरुवालले मात्र नेपाली हुनेभए
भन काका, म आँखा चिम्लेर पसिनाले रोप्नेछु दौरा मेरो खेतमा
र फलाउनेछु नेपाल आफ्नै आँगनमा
जेठको अत्यासलाग्दो घामले त कहिल्यै हामीलाई मधेसी भनेन त?
घामले नै हो हामीलाई धोती लगाउन भनेको
मिल्ने भए म सगरमाथा पनि उक्लिनेछु धोती लगाएर
र पढाउने छु नेपाल सारा जगतलाई
कस्तो लवजले मलाई नेपाली बनाउँछ?
कस्तो वर्णले मलाई नेपाल चिनाउँछ?
आँखाभरि नेपाल राखेर म लड्न तयार छु सिमाना बचाउन
मुटुभरि नेपाल राखेर म गाउन तयार छु भोटे दाइको गीत
सपनाभरि हिमाल राखेर म रोप्न तयार छु समानताको सयपत्री
मेरो साथी,
म धोती लाएर नेपाल गाउँछु
तिमी टोपी लाएर स्वागत गर मलाई धौलागिरिमा
तिमी धोती लाएर तराई झर
म टोपी लाएर पहाड आउँला सभ्यता फुलाउन
तिमी र म, म र तिमी, हामी मिलेर नेपाल रंगाऔँ विश्व जगतमा।