मसान्त छ, खोइ मन शान्त छैन
सधैं–सधैंको टार्गेटले गिदी नखा’को हैन।
फकाउँदै दिएको ऋणले अहिले रङ देखाउँदैछ
बक्यौता किस्ता, साँवाब्याज फिर्ता आ’को हैन।।
बढ्दो कर्जा नोक्सानीले टाउको दुखाइसक्यो
असुलीको लागि अनेक तिकडम नला’को हैन।।
चिठीपत्र फोन–फान कति भयो कति
सूचना नै निकालेर नथर्का’को नि हैन।।
मान्छेहरू ज्याद्रा परे वा समय नै उस्तो भयो
खै के हो चुरो कुरो क्यै थाहा पा’को हैन।।
धितो लिलाम गरूँ भने मुद्दा पर्छ उस्तै
नगरूँ त रुपैयाँ तिर्न ऋणी आ’को हैन।।
सारा सम्बन्ध टुटिसके एकोहोरो खटाइले
टेन्सन–तनाव, टाउको दुखाइ अझै गा’को हैन।।
मैले जागिर खाको हो कि जागिरले मलाई खाएको हो
रनभुल्लमा छु म अचेल, क्यै भेउ पा’को छैन।।