मलाई निन्द्रै लाग्दैन। म पूर्व फर्कन्छु, म पश्चिम फर्कन्छु, म छटपटाउँछु। एकफेर अर्धनिन्द्रामा झिमिक्क गर्छु र रात सकिन्छ। म जब मेरो व्यथा सुनाउँछु मानिसहरू भन्छन्– दिनभरि थाक्नेगरी काम गर्यो भने मिठो निन्द्रा पर्छ।
म कसम खान्छु मेरो जीउ करकरी खानेगरी थाकेको छ। म निकै लखतरान छु। त्यसैले दुनियाँका कुरा सुन्नुभन्दा बरू आजकल मलाई दुई गिलास रक्सीमा झम्म हुनु ठिक लाग्छ। तीन गिलास पुर्यायो भने मिठो निन्द्रा पर्छ।
‘... तपाईं सबैको सास एकै भन्नुहुन्छ, मरेपछिका लाश समेत एकै छैनन् हाम्रो देशमा...!’ पल्लो टेबुलमा आदर्श र दर्शनले स्थान जमाइरहेको छ।
देशप्रेम अक्सर भट्टीमा नै भेटिन्छ।
तीन गिलास अमिलो निगारले झम्म हानेपछि साहुनीको टम्म शरीरमा आँखा पर्दा मैले पनि प्रेम देखेँ। तर गरिबको प्रेम उनीहरूको रक्सीजस्तै अमिलो हुन्छ। आजलाई मन निचोर्न मलाई रक्सी मिलिसक्यो।
मलाई राम्रोसँग थाहा छ पल्लो टेबुलका दार्शनिकहरू केहीबेरमा लर्खराउँदै घर जानेछन् र भोलि सबेरै मजस्तै मजदूरी गर्न पुग्नेछन्। भोलि साँझ दुई गिलास तीन पाने ननिखारेसम्म फेरि देश र दर्शनका कुरा गर्ने छैनन् उनीहरू। उनीहरू पनि मजस्तै भुइँमान्छे हुन्। भुइँमान्छेका विचारले यहाँ केही फरक पार्दैनन्, फरक पार्न सक्नेहरूले विचार गर्दैनन्।
नत्र हामीले चिलगाडीको समयमा समेत त्रिशूलीमा डुबुल्की मारेर बालुवा निकाल्नु पर्दैनथ्यो, नत्र मौसुफका जुत्ताले टेक्ने कार्पेट बुन्दा हाम्रा दिदीबहिनीका हात छिया-छिया हुँदैनथे। नत्र हाम्रा दाजुभाइले दुई छाकका लागि ज्यानको बाजी लगाउनुपर्ने थिएन। नत्र... छि! फेरि मभित्रको भुइँमान्छे बर्बराएछ!
भट्टीमा संसारका कथा भेटिन्छन्। मैले त्यो सिपाहीलाई भेटेको थिएँ, जसले युद्ध मैदानमा घाइते शत्रुलाई पानी पिलाएको थियो, पछि सरकारले उसलाई सुली चढाएको थियो।
मैले त्यो फौजीलाई पनि भेटको थिएँ, जसले आफ्नै साथीको हत्या गरेर दोष शत्रुलाई थुपारेको थियो, सरकारले उसलाई तक्मा भिराएको थियो। उनीहरूका कथा सुनिरहँदा भट्टीमा एउटा मजदूर पनि थियो, जसले प्रश्न गरेको थियो– युद्ध किन गरेका थियौ? सरकारले उसको जिब्रो थुतेको थियो! भट्टीले नसुनेका कथा र व्यथा विरलै होलान् यो संसारमा। तर अफसोच आजकलका नेता, कर्मचारी र भिआइपीका नयाँ कथा भने भट्टीमा आउँदैनन्। रिसोर्टमा भुइँमान्छे धाउँदैनन्।
हो, नयाँ समयसँगै फेरिएका छन् भेटघाट हुने चौतारीहरू।
भट्टीले आजकल केबल मजदूरका कथा सुन्छ। तर ती सबै कथा पुरानै छन्, ती सबै संसार पुरानै छन्। नयाँ बेल्चाले बालुवा भर्दैमा कथा नयाँ हुँदैन। हो त्यही कारण आजकल मैले फौजीका कथा देख्दिनँ र मजदूरका व्यथा लेख्दिनँ।
म त आजकल केबल त्रिशूलीको चिसो पानीमा डुबुल्की मारेर बालुवा निकाल्ने बेला एउटा हात समातेर न्यानो अडेस दिने सान्नानीलाई देख्छु। अनि दुनियाँले ङिच्च मुख खुम्च्याएर हेर्नेबेला झुत्रोमैलो देखे पनि हाँसेर निगारको मग टकार्ने साहुनीका कथा लेख्छु।
म कुनै दिन त्रिशूलीको भेलमा डुबुल्की मार्दा उत्रनै सकिनँ भने दुई थोपा आँसु झार्ने त्यही सान्नानी त हो। अनि कहाँ गएछ भनेर बाहिर फेरि आँखा डुलाउने त्यही साहुनी न हो!
नारायणी किनारमा मेरो गन्हाएको लास छेउ उभिएर मेरा नेता नयाँ तरिकाले पुरानै भाषा बोल्नेछन् – मजदुरको बलिदानी खेर जाने छैन। हामी लड्नेछौं समानताका लागि...
मेरै सान्नानी, मेरै सहपाठी, मेरै साहुनीहरूले फेरि सुन्नेछन् ती रगत उम्लने भाषणहरू र पछि लाग्नेछन् मजदुरका कथा देखाएर मालिक हुनेहरूको गरिबका व्यथा देखाएर धनी हुनेहरूको र निरिह व्यक्तिका मुद्दा देखाएर शक्तिशाली बन्नेहरूको!
अँ! मेरो एउटा पुन्टे छ। त्यसले पनि बाँध्नेछ निधारमा एउटा रातो रूमाल र उम्लनेछ त्यसको पनि रगत। जब त्यसको पनि लुटिनेछ जवानी र जोश, ठ्याक्कै बन्नेछ मेरै एउटा प्रतिबिम्ब!
हो, तिम्रो नयाँ देशका सप्पै कथा पुरानै हुन्, उही बासी रक्सीजस्तै अमिला!
प्रिय 'मित्र' र प्रिय 'कमरेड' हरूले भनेझैं फेरिएको देश होइन, केबल एउटा पुस्ता हो!