‘आमा तातोपानी मलाई यतामाथि नै ल्याइदिनु है।’ यो मौसम नि कति चिसो। मलाई मात्र यस्तो लाग्छ कि अरूलाई पनि?
आमा:बाबु यो गिलास समात।
मैले एक गिलास तातोपानीको सहारा लिँदै बिहान कटाउने सोच बनाएँ। टेबलभरि किताबको खात छ। यो पढ्ने कुरा नि कहिले सकिँदैन। जति पढ्यो उति पढ्नुपर्ने कुराहरू निस्किन्छन्।
बल्ल बल्ल हिजो शिरीषको फूल सकाएँ। साह्रै मिठासपूर्ण लाग्यो। ती शिरिषका फूलहरू वाह......
ती सुकमबरी........
मलाई आवश्यकभन्दा बाहिरका किताब पढ्न खुब जागर आउँछ ।
आज त शनिबार हो क्यारे!
दिनभर निकै किताबलाई साथ दिनुपर्ला।
म फुत्त बाहिर निस्केर भर्खर भर्खर रमाउन थालेका बाख्राका पाठाहरूसँग रमाउन थालेँ। यतिकैमा हाम्रै घरको बाटो हुँदै एक अपरिचित अनुहार आउँदै गरेको देखेँ। खोइ कुन्नि मेरै अनुहारतिर उनको नजर देखें। अनि उनले मलाई 'दाइ पारि गाउँ जाने छोटो बाटो कताबाट होला?' प्रश्न गरिन्।
मैले खासै वास्ता नगरी यही बाटो पुगिन्छ मात्र भनिदिएँ।
आज निकै कामहरू सोचेको छु। म बाहिर बरालिएर हुँदैन। खुरूक्क भित्र पसेँ। मलाई राधा उपन्यासले पर्खिरहेकी थिइन्। आज मैले अरू दायाँ-बायाँ केही नसोची यिनलाई भरपुर समय दिनुछ।
राधा आजको दिन भनेको मेरो तिम्रो लागि हो। म तिमीसँगै बिताउने छु। म पढ्न थालेँ। एकचित्त लगाएर। हरेक शब्दहरूले मेरो मन, मुटु, मस्तिष्क नै छुने गर्दथे।
'रतन खाना सेलायो, अघिदेखि बोलाएको सुन्नु छैन,' आमा तल भान्साबाट बोलाई रहनु भएको रहेछ।
म फटाफट भान्सातिर लागेँ। सधैं यो नमिठो, त्यो नमिठो भन्ने मान्छे म आज खानाको स्वाद कस्तो थियो केही थाहा नै पाइनँ।
म फेरि राधासँग नै भलाकुसारी गर्न पुगेँ। यसरी नै समय बित्दै गयो। फेरि अर्को शनिबार आयो। त्यै बाटुलो अनुहार गरेकी हँसिलो मुहार बोकेकी युवती देखेँ। अरू बेला कहिले याद गरेको थिइनँ। २ पटक देखिसकेँ। को रहेछ आखिर? मेरो नि बजारसम्म जाने काम थियो। म बरालिँदै घर बाहिर निस्केँ।
युवती: यो ठाउँ कति सुन्दर रहेछ नि।
म: हो नि, हजुर कहाँ पुगेर आउनु भएको?
युवती: पल्लो गाउँ मेरो मामा घर हो त्यै गएर आएकी नि।
यतिकैमा निकै गफ भए। अन्जान व्यक्ति पनि सामीप्यमा भएपछि आफ्नै लाग्दो रहेछ। ओछ्यानमा पल्टिँदै उनको नाम फेसबुकमा खोज्न थालेँ। अनु क्षेत्री देख्नसाथ त्यो बाटुलो मुहार भएको फोटो देखें।
खोइ उनको मनमा के थियो कुन्नि, उनी पनि मसँग बोल्न हतारमा थिइन्। हाम्रो वर्षौंदेखिको मित्रता जस्तो कुराकानी भयाे। रात निकै छिप्पिसकेको थियो। खोइ म कति बेला निदाएँ पत्तो नै भएन। सधैं अल्लारामले मलाई उठ्न बाध्य बनाउँथ्यो। आज मेसेन्जरको आवाजले मलाई उठ्यो। 'गुड मर्निङ रतन'
म जर्याकजुरूक गर्दै उठें। खुसी हुँदै प्रति उत्तर दिएँ। खोइ थाहा छैन। कोही मान्छे किन यति प्यारो हुन्छ एकै दिनमा। कतै म भ्रममा त छैन? मेरै कोही साथीले जासुस लगाएको त होइन?
फेरि मनले भन्छ होइन होइन, कहाँबाट मेरो साथीहरूले अनुलाई चिन्छन् र?
यसरी बोल्दै गरेको, हरेक दिनहरू उल्लासमय बिताएको नि आज चार वर्ष बितेछ। अनुको पढाइ अनि मेरो काम राम्रोसँग चल्दै थियो। म अनुबिनाका दिनहरू आफूलाई बाँच्नु नपरोस् भन्न थालिसकेको थिएँ। हाम्रा हरेक विशेष दिनहरूमा विशेष उमंगले विशेष बनाउने गरेका छौं। अनु आफ्नो हरेक उपलब्धिको हिस्सा मेरो श्रेय हो भन्ने गर्छिन्। हामी एक अर्कालाई प्रेम गर्छौं। यो कुरा हाम्रो परिवारमा नि कता कता चर्चा चलेजस्तो लाग्न थालेको थियो।
मेरो हजुरआमा लामो समय बिरामी परेर हामीबाट सधैंका लागि बिदा हुनुभयाे। म र मेरो परिवार शोकमा डुब्यो। यो बेला अनुले अलिक मलाई ख्याल नगरेको हो कि भनेजस्तो लाग्यो।
घरमा यस्तो शोक छ। म अनुलाई अंगालो मारेर मनको पीडा पोख्न नि पाएको छैन। अनु मेरो घरसम्म मलाई भेट्न आउने वातावरण नि छैन।
एक दिनको कुरा हो।
राति अबेरसम्म म अनुको फोन पर्खेर बसेँ। फोन आएन। मैले आफैं फोन गरेँ। निकै पटक पछाडिमात्र अनुले फोन उठाइन्। अनुमा अलिक व्यवहार भिन्न पाएँ। म आफ्नो पीडा सुनाउन हतारमा थिएँ। अनु मेरो कुरा बुझ्ने स्थितिमा थिइनन्। मलाई खोइ के भयाे। रून आएछ, मेरो मन समालिन सकेनछ। कति दिनदेखि गाँठो पारेको मन आज खुस्कियो अनुसामु।
अनुको घरमा केही दिनदेखि बिहेको कुरा चलेको रहेछ। केटा अमेरिका बस्ने। सबै परिवार अमेरिका नै बस्दै आएका रहेछन्। अनुको बुवाको पहिलेको पुरानो चिनजानको मान्छे रहेछन्। पाँच जना छोरीमध्ये एउटी छोरी बुहारी बनाउने कुरा रहेछ।
अब बाँकी अनु र अनुको बहिनीमात्र हुन्। अनुको बिहे गर्ने उमेर नि भएको, नर्सिङ पढ्दै गरेकी केटी। यसो हेर्दा सर्लक्क ज्यान परेकी हँसिली।
अमेरिकाको प्रलोभनमा अनु पनि परिछ। परिवारले सम्झाइबुझाइ गरेछन्। मेरो यतिका वर्षको त्याग छिनभरमै अनुले बिर्सिछ। म एकैछिनमा होस हराएको मान्छेझैं भएछु। मेरो घर परिवारबाट फोन गरिदिनु भएछ। कुराकानी के हो भन्दा सबै कुरा यस्तो, यस्तो हो भन्नु भएछ। अनुले रतनसँग मेरो प्रेम छैन भनिछ।
म छोरा मान्छे भएर नि कति रोएँ मलाई थाहा भएन। मलाई खोइ कतिले सम्झाउनुभयो त्यो नि याद भएन। बिहान भयो म जुरूक्क उठेर अनुलाई भेट्न गएँ। अनु आज होस्टेल नआएर मामाघर बसेकी रहिछे।
म उसको मामाघरको पल्लो घरको पेटीमा बसिरहेँ। अनु जब बाहिर निस्किन्छे अनि मनभरिका पीडा पोख्छु सोचेँ। अनु रातभरमा एक पटक नि बाहिर निस्किन। म निरास हुँदै घर फर्कें।
भोलिपल्ट निकै लामो कुराकानी भयाे। घरमा जे/जे भने नि बाँकी पढाइ पूरा गर्ने सर्तमा अनु मेरो घर आउने भई। मेरो परिवारको स्वीकृति पनि भयो। मेरो खुसीको लागि परिवारले शोक परेको वर्ष केही भन्नुभएन। अनु सहमतिमै आधा बाटो आएर परीक्षापछि बिहे मन्दिरमा गर्ने भनेर मलाई विश्वास दिलाएर ऊ होस्टेल फर्की।
दिनहरू बित्दै गए। उसलाई पर्खेको दुई महिना भएछ। अब पर्खाइको घडी सकियो। म संसारकै खुसी थिएँ। मैले संसार जिते भन्ने लागिरहेको थियो। जुन दिन हामीले मन्दिरमा बिहे गर्ने भनेका थियौं। त्यही दिन बिहानै अनुले रूँदै फोन गरी 'रतन हामी अब एक हुन सक्दैनौं। म आमा बुवाको इच्छाविपरीत जान सक्दिनँ। म हजुरलाई अथाह माया गर्छु। तर आमा बुवाको आँसु देख्न सक्दिनँ।'
यस्तै-यस्तै अनेकौं बाहना बनाएर मलाई पनि रूवाई। ऊभन्दा म धेरै रोएछु। मैले आज उसलाई दुलही बनाउन किनेको सिन्दुर, चुरा, पोते हेर्दै म बेहोस नै भएछु। मलाई भाइले काखमा लिएर पानी छम्किरहेको रहेछ।
सायद अनु मेरो संसार थिई। आज उसैले मलाई लत्याएर गई।
अमेरिका बस्ने केटा भने पछि मलाई आश्वासनमा राखेर मन्द-मन्द विष पिलाउँदै मारेर गई। मसँग उठेर आँटको डिलमा बस्ने सामर्थ्य नि सकिएछ। उसकै लागि बिहानदेखि आधा रातसम्म काम गर्दा नथाक्ने यी हात आफ्नै आँखाको आँसु पुछ्न नसक्ने भएका छन्।
यतिका वर्षको हाम्रो प्रेम अमेरिकाको ग्रीन कार्डले उडायो। म अनुबिना अधुरो नै हुनेछु। अनि अनु तिमीले के सोच्यौ? प्रेम पैसामा किन्न पाइन्छ र? अमेरिकामा फल्ने पैसामा मेरो प्रेम किन्न पाउँछौ र अनु?
तिमी प्रलोभनमा पर्यौ अनि आमा बाबालाई बीचमा उभ्याइदियौ।