सूर्यले पृथ्वी नियाल्न
सिँढी चढेको पखदेखि
पृथ्वी नियालेर फर्किन
सिँढी ओर्लेको पखसम्म
पनि
संघर्ष गरिरहेको छ
मनबाट दिक्षित हुन
ऊ।
दिक्षित हुन यति इरादा रहेछ कि
कहिले
मनको ढोकामा
ढकढक हानिरहेको हुन्छ
त कहिले
तनको म्यासेन्जरमा
बिन्तीपत्र चढाइरहेको हुन्छ
तर अपसोच!
तन र मनले
दिक्षित नगर्ने भनेर
आगो छोएर कसम खाएछन् कि क्या हो
ढोका खोल्ने हिम्मत नै गरेनन्
न मनको, न म्यासेन्जरको।
ढकढक अर्थहीन भएपछि
दिक्षित हुन छट्पटीरहेको
ऊ
झरीमा रुझेर तपस्या गरिरहेको हुन्छ
तन र मनले
आगो छोएर खाएका कसम
तोडाउन
तर विडम्बना
जाबो मनको ढोका तोडेर
फरार हुन नसकेको
उसले
के सक्थ्यो अग्नि कसम
तोडाउन
त्यसैले थालेछ उसले
घाम, जून, ताराहरूलाई साक्षी राखेर
बिम्ब र अलङ्कारसँग मित्रता
गाँस्न
सेता कागजका खोष्टाहरूमा
रंग मिसिएको लोला
फ्याँक्न
बिम्ब, अलङ्कार, लोलाले
गराइदिएछन्
उसलाई
दिक्षित
गाँसिदिएकै भरमा मित्रता
फ्याँकिदिएकै भरमा लोला
भएपछि दिक्षित
ङ्याकिदिएछ
आफ्नै अस्तित्व
र
दिएछ आफूले आफैलाई
तिलाञ्जली
प्रिय 'ऊ'को
स्वर्गमै बास होस्।