आफूसँगै आफ्नो धर्म बेच्दै छु म
आफ्नो भाषा अनि संस्कार पनि
म कस्तो मानव आफ्नो संस्कार अनि संस्कृति बेच्दै हिँड्ने
भोको पेटको लागि म आत्मा मरेर आफूलाई जिउँदो सबित गर्न खोज्ने।
म कस्तो मानव आफ्नो निर्लज्ज आफै नाची हिँड्ने
लज्जा के हो त्यो आफैलाई बोध छैन
रुमलिँदै भौतरिँदै शरीर-शरीरको खेलमा म लगिरहेछु
मुटु पोल्ने तापमा पनि थरथर काँपिरहेछु।
आफूले आफ्नो भाउ लगाइ हिँडेको छु
पलपलका हाँसोहरूलाई मोल लगाइ किनेको छु
ममा रहेका रंग सुवास ओइलाइरहेछ
मन मस्तिष्कको तरंग बहुलाइरहेछ।
निर्लज्ज छोप्न हमेसा रंगिन वस्त्र पहिरिएर
आफू भित्रका साहानुभूतिलाई मारेर
रंगहीन समाजका रंगहरूमा झुमिरहेछु
कस्तो निर्लज्ज मानिस म, आफूलाई मारेर बेफिकर घुमिरहेछु।
निर्मम स्पर्श तड्पाई अनि ती रातहरूमा
वेचैन शब्दहरूको शब्दकोषमा आफ्नो शब्द खोजिरहेछु
भष्म झैँ जल्न संकोच नमान्ने म भूमरीमा आफै पसिरहेछु
भविष्यको खोजमा कर्मको खाडलमा फसिरहेछु
मभित्र पिल्सिएका शब्दहरूको कुनै अर्थ छैन बजारमा
म भित्रका आवेगहरूको अस्तित्व छैन हजार हजारमा
यो खोट मेरो हो कि मेरो जन्मको
उत्तर खोज्ने रहर अनि औकात रहेन आफैभित्र हराएको म
गन्तव्य बिर्सिएको अस्तित्व गुमाएको म
सपेराको धुनमा सर्प झैँ नाचिरहेछु
त्यही पनि आफूले आफैलाई मारेर हाँसिरहेछु।
ममाथि प्रश्न गर्नेहरूलाई तिमी कहाँ पुग्यौ भन्दा
आफ्नो गहिराहीको खाडल खन्दै गर्दा आफै भासिने मूलमा पुगिसकेको म
तिमी तिम्रा स्वप्नील सपनाहरूले गगन चुम्दै गर्दा
मेरो स्वाभिमानलाई मैले कुल्चिरहँदा विवशताले थपडी मारिरहेछ
मानिस मरेर पनि हाँसिरहेछ उसको निर्लज्ज साक्षी रहेछ।