रोमियो+जुलियट, मुना+मदन
र मजनु+लैलाभन्दा पृथक
कुनै व्याख्यात्मक टिप्पणीको जरुरत नभएको
हृदयको साम्राज्यमा प्रेमको अधिनायकत्व स्थापित
चराको गीत र खोलाको संगीतजस्तै
आऊ निर्माण गरौँ
अदृश्य तर अर्थपूर्ण प्रेमको कहानी।
तिमी सियो हुँदा म धागो
र म धागो हुँदा तिमी सियो बनेर
जिन्दगीलाई आकर्षक डिजाइन दिउँ
संघर्ष र प्रेमलाई मिसाएर
प्रतिपादन गरौंला एक भिन्न जीवनदर्शन
तिमी हाँसिरहनु हिउँको जस्तै हाँसो
म मुस्कुराई रहनेछु गुराँसको जस्तै मुस्कान
र बनाउँला हिमालजस्तै जिन्दगी
एक हाइड्रोजन
र अर्को अक्सिजन बनेर
बाँचौँला पानीको जस्तै जिन्दगी।
हरेक साँझ उज्यालो दियो सल्काउँदै
भरौँला जनकिरीको जस्तै उडान
र पहिल्याउँला जिन्दगीको सार्थक गन्तव्य
मिसाएर कर्णाली, रारा र पँचाल झर्नाको पहिचान
भरेर पन्चैबाजा, हुड्केली र देउडाको संगीत
बनाउँला प्रेमलाई इन्द्रेणीजस्तै जीवन्त रङ्गिन।
यो हृदयमा हरेक पल उब्जिएको प्रेम बोकेर
हावा पुगोस् तिम्रो हृदयको दैलोसम्म
र तिमीलाई प्रत्येक पटक लाग्ने बाडुल्कीमा
म मिसिन पाउँ।