उनी बिरामी भएपछि मैले नजिकैको स्वास्थ चौकी लिएर गएँ। डाक्टरले चेकजाँच गरेपछि भन्नुभयो, 'उहाँ त प्रेगनेन्ट हुनुहुन्छ।'
उनी मलाई हेरेर मुसुक्क हाँसिन्, मलाई पनि कता-कता लाज लाग्यो। तर खुसीको सीमा नै रहेन। हामी हात समाउँदै घर पुग्यौँ। उनले आमालाई सुनाइन्।
आमाले गहभरि आँसु पार्दै भन्नुभयो, 'तँ जन्मिनुभन्दा पहिले बालाई गाउँभरिका सबैले सौता हाल्नू भनेका थिए। तँ पेटमा आएपछि मेरा दु:खका दिन सकिए। तँलाई मेरो सधैं आशीर्वाद छ।'
हामी यहीँ खबर सुनाउन हजुरआमाकोमा गयौँ। आमाको खुट्टा ढोगेर यो खबर सुनाएँ।
'वंश जोगाइस् बाबु, पनाति देखेपछि स्वर्ग पुगिन्छ रे भन्छन्,' खुसी हुँदै आशिष दिनुभयो।
श्रीमती पनि 'अमिलो पिरो खान मन लाग्यो भने छोरी हुन्छ रे, घिउ मासु खान मन लाग्यो भने छोरा हुन्छ रे। मेरो त छोरो नै छ। बच्चा पनि दाहिनेपट्टि मात्रै घुम्छ, छोराको लक्षण छ' भन्थिन्।
अलि गर्दै सबैतिर कुरा फैलियो, सबैले बधाई दिन थाले। छरछिमेकले पनि 'ल छोरो नै होस्' भन्न थाले। नजिकैको कोपिला भाउजूले सुन्नेबित्तिकै कोसेली बोकेर आउनु भयो। खुसी हुँदै भन्नुभयो, 'उनले मलाई धेरै सेवा गरेकी छिन्। सुप खानलाई भाले र हुनेवाला छोरालाई चाँदी बाला भन्दै' उनलाई जिस्काउँदै हाँसीमजाक गर्न लाग्नुभयो।
मलाई बाबा बन्न लागेकोमा भन्दा पनि छोरा पाउन लागेकोमा शुभकामना र खुसी व्यक्त गर्ने बढी भए। म पहिले बाबा बन्ने लागेकोमा खुसी थिएँ, अब मलाई बाबाभन्दा छोराको बाबा बन्नु ठूलो लाग्यो।
एकदिन गाउँको रामे काकाले टन्न जाँड खाएर मलाई आँखा तर्दै भनेका थिए- 'मलाई पैसा माग्द दिनस् नि, तेरो छोरी नै होस्, मेरो श्राप लागोस्।'
जग्गाको सिमानामा विवाद भएको बेला पनि रमिला काकीले नि 'तिम्रो छोरी नै होस् भगवान!' भनेकी थिइन्।
वन पालेको मिटिङमा हरि काकाले भने, 'छोरी त जसले नि पाउँछन्, मुखियाका सन्तान नाक राख्ने भए छोरै पाउनु पर्छ, ज्यामीका त छोरा छन् तँ त पढेको मान्छे छोरो नै होला।'
सबैको आशा चकनाचुर नहोस्, शत्रुको पनि सेखी झरोस् भनेर दर्गा मन्दिरमा कालो बोका पनि पूजा गरेँ। म, श्रीमती अनि छरछिमेकसमेत ढुक्क थियौँ छोरो नै हुन्छ भन्नेमा। बुढीलाई हल्का बेथा लाग्नेबित्तिकै हामीले स्वास्थ्य चौकी पुर्यायौँ। रातभरि बेथा लाग्यो। बिहानै नर्सले भनिन्, 'बधाई छ, तपाईंको छोरी भयो।'
म त झसङ्ग भएँ। मैले भनेँ, 'छोरी हुँदा केको बधाई!'
नर्स रिसाइन्, 'मैले बनाइदेको हुँ र?'
आजभोलि बच्चा साट्छन् रे भन्ने न्युज सुनेको थिएँ, मैले प्रशासनमा गएर झगडा गरेँ। उनीहरूले मलाई सिसिटिभी फुटेज देखाए। मलाई श्रीमतीसँग साह्रै रिस उठ्यो। हामी बाहिर कुरिह्यौँ।
उनले कल गरेर भनिन्, 'हजुरजस्तै छोरी जन्मेकी छ।'
'खुब राम्रो गरिस्, कसैको नभको छोरी पाइस् अलच्छिना!'
'मेरो के दोष भन्दै?' सुक्क-सुक्क गर्न थालिन्।
मैले 'नाटक नगर' भन्दै फोन काटेँ।
हस्पिटलबाट निस्किएँ, टन्न रक्सी खाएँ, नाइट बस चडेर काठमाडौं हिँडेँ। मलाई बुढीले झगडा पर्दा गरेका गाली, उनले भनेका नराम्रा कुरा, उसले गरेका झगडा मनमा खेल्न थाले।
'गाउँका अरु साथीभाइका बुढी कति असल छन्। मैले नजानेर बिहे गरेछु, मेरै कक्षाको साथीले कति माया गर्थी, न अहिले पनि ख्याल गर्छिन् कि। म घरकी बुढी छाड्छु। आजभोलि बुढी जसले नि छोडेको छ नि, अरुले कुटपिट गरेर छाड्छन् मैले त्यसो त गरेको छैन। मेरो के दोष?' मनमा यस्तै कुरा खेले।
मैले एउटा म्यासेज गरेँ, 'आजबाट छोरी तेरी हो, तँ तेरो बाटो म मेरो बाटो। मलाई कन्ट्याक गर्ने कोसिस नगर्।'
मेसेज सेन्ड गरेर ब्लक गरिदिएँ।
म काठमाडौँको कोटेश्वरमा उत्रिएँ। मनकामना होटलमा गएँ, गफ गर्दै जाँदा रक्सी खाने साथी भेटिए। दिनभर गफ गर्ने राति टन्न रक्सी खाएर दिन बिताउन थालेँ। केही दिनपछि मैले भारतको मुम्बई जाने योजना सुनाएँ। एकजना सोलुको फुर्बा दाइ, म अनि अर्का ठर्राबा भारत जाने भयौँ। ठर्राबाले धेरै ठर्रा खाने भएर ठर्रा बा भन्थ्यौँ।
फुर्बा र ठर्राबाको कोठा थियो। दिनभरि आफ्नो काम गरेर आउँथे, राति अबेरसम्म दारु खाएर जान्थे। मलाई खुब माया गर्थे ठर्राबा। रमाइला किस्सा सुनाउँथे। घरबाट वाइनसँग खाने सितन लिएर आउँथे। उनको त्यो सितनभन्दा पनि टिफिन बक्स यति अनौठो र दामी थियो, म छ्क्क पर्थें।
त्यस बक्समा स-साना थिच्ने बटम थिए। हामीले खोल्न बन्द गर्न नै नसक्ने कुन धातुले बनेको पत्तै पाउन नसकिने। कहिले चहकिने, कहिले मधुरो देखिने अनौठो थियो। मैले ठर्राबालाई यसको बारेमा धेरै सोधेँ। कहानी लामो छ भनेर टारिरहे।
एकदिन हल्का रक्सी लागेपछि बल्लबल्ल हामीलाई त्यो टिफिनको राज देखाए र सुनाए।
तरबारको बटम थिच्दा सानो चक्कु आउथ्यो। अर्को थिच्दा चम्चा, अर्को थिच्दा तातो र चिसो पानी आउने। कति बजे खाजा खाने त्यहीअनुसार पानी हालेपछि टुनुनु टुनुनु घन्टी बज्ने, खानामा विषादी मिसिएको रहेछ भने त्यसमा जडान गरेको धातुले खाना पूरै कालो बनाउने। सबै खाना खाएपछि ठूलो बटम थिचेपछि पूरै भाडो सफा हुने रहेछ।
मैले सोधेँ, 'बा, यो भाडो कहाँबाट फेला पार्नुभयो?'
बाले फेरि कहानी सुनाए- 'यो जंगबहादुरलाई बेलायत भ्रमण जाँदा त्यहाँकी रानीले गिफ्ट दिएको रे। युद्धमा प्रयोग हुने भाडो हो। अनि जंगबहादुर चितवानमा शिकार खेल्न जाँदा हाम्री आमाहरूलाई नुहाएको ठाउँमा गएर जिस्काएछन्। मेरी आमा र सहेलीले त्यहाँबाट फुत्केर अगाडि नाकामा गएर पासो थापेछन्। जंगबहादुर र उसका सिपाही त्यस पासोमा परेपछि उनीहरूले माफी मागेछन्।
गाउँलेले लेखे बदनाम हुन्छ भनेर माफी मागेर बहादुर नारी भन्दै बक्सिसमा दिएर गएका रहेछन्। पछि आमालाई काठमाडौंबाट मुखिया वा कर्णेलसम्म दर्जा दिन्छौँ, भर्ति हुन आउनू भनेर दरबारबाट पत्र पनि आएको थियो रे। आमाले मलाई मेरो जन्मदिनमा गिफ्ट दिएको टिफिन हो।'
हामी सबैजना छक्का पर्यौं। 'कस्तो अमूल्य चिज रहेछ! तपाईंको आमा कति बहादुर रैछिन्' भन्दै तारिफ गर्यौं।
नयाँ वर्ष मनाएर दुई गते बिहानै मुम्बई जाने तयारी थियो। एक गते राति मज्जाले पार्टी गर्ने सल्लाह भयो। बेलुका सबैजना जम्मा भयौँ। फुर्वा दाइले लोकल कोदाको तीनपाने ल्याएछन्। ठर्राबाले सुकुटी र लोकल माछा छ भन्दै मक्ख परेर बबाल पार्टी हुन्छ भन्दै त्यही युनिक टिफिन खोले।
त्यहाँ त सागरोटी रहेछ। बुढा रिसाएर बुढीलाई सरापे, गाली गरे। 'साग हाल्दिछे बुढीले, हात नभाँची छाड्दिनँ' भन्न थाले। टिफिन बक्सलाई कस्तो ठाडो रछ' भन्दै ठटाए।
मैले खोसेर राखेँ। बाले मेरो हातबाट खोसेर लगेर पछारे। टिफिन टुक्रा-टुक्रा भएर फुट्यो। मलाई झनक्क रिस उठ्यो। मैले एक चड्कन हानेर कराएँ, 'तिम्रो दिमाग छैन, यो भाडाको के दोष र फुटायौ? जे हालेर पठाएको छ त्यही हुन्छ नि टिफिनमा, यसको के दोष? आमाको त्यति सुन्दर चिनो फुटायौ पापी बुढा। तिमीलाई सुकुटी चाहरिएर हुन्छ?'
बाको नाकबाट रगत बग्यो। बा मलाई देखाउँदै भन्न थाले, 'मलाई अरुले सम्झाएको भए म फुटाउदिनँ थिए तर तिमीले मलाई के सम्झाउँछौँ? आफ्नो आङमा भैँसी नदेख्ने, अरुकोमा जुम्रा! तिम्रो बुढी पनि यस्तै सुन्दर टिफिन हुन् कुनै आमाकी अमूल्य चिज हुन्। उसको पनि त दोष थिएन। पेटमा जे थियो त्यही जन्मियो। छोरा होस् या छोरी, त्यो भाडाको जस्तै तिम्री श्रीमतीको के दोष? तिम्रो आँखामा अहमताको पर्दा छ। होटलको साउनी आमा, तपाईंको कहानी भन्नुस्।'
आमाले मलाई सम्झाउँदै भन्नुभयो, 'बाबु, छोरीलाई हेला गर्ने बाउआमाभन्दा पापी कोही हुन्न यो संसारमा। हामीले यो छोरी पेटमा हुँदा फाल्नको लागि कटर, घिरौला, जडिबुटी कति खायौँ। मेरा तीन छोराले हामीलाई वृद्धाश्रम लगेर राख्दा यही छोरीले दाजुभाइसँग लडेर वृद्धाश्रमबाट निकालेर ल्याइन्। हामीलाई दिन कटाउन होटल खोल्दिन्।
हामी बाउआमा भएर पनि टुहुराको सेवाको लागि काम गर्छौं। तिमी जस्ताका छोरीलाई सहयोग र शिक्षा दिन्छौँ। मेरी छोरी क्याप्टेन सुनिता हुन् हामो लागि। उनी नर्स पनि डाक्टर पनि हुन्, वकिल पनि हुन्, न्यायाधीश पनि हुन्। छोरीले आमाबालाई वृद्धाश्रम छाडेको र छोराले फिर्ता ल्याएको कुनै अभिलेख छैन बाबु तर छोरीका लाखौँ छन्।'
म त्यो रातभरि सुतिनँ। हृदयबाट नै छर्लङ्ग दूध र पानीजस्तो मेरो गल्ती छुट्टियो। बिहानै ठर्राबाको खुट्टा समाएर माफी मागेँ।
'बा, तपाईंले मेरो हृदयको आँखा खोल्दिनु भयो। म घर गएर पापको प्रयाश्चित गर्छु।'
बा पनि 'मलाई हैन, श्रीमती खुसी बनाएको बेला म खुसी भएको सम्झिनु नत्र तिम्रो थप्पड र मेरो रगतले पिरोल्छ बाबु' भन्दै मुस्कुराए।
कति महान मान्छे रहेछन् बा। म बिहानै सरासर घर लागेँ। भोलिपल्ट घर पुगेर श्रीमतीसँग माफी मागेँ। उनले बिना हिच्किचावट माफी दिँदै भनिन्, 'म हजुर भनेर सबै छाडेर आउने, हजुर मलाई छाडेर जाने! अब यस्तो कहिल्यै नगर्नूस्।'
गहँभरि आँसु पारिन्। कति विशाल हृदय नारीको! उनको छेउमा कति निच रहेछु जस्तो लाग्यो। नारी साँच्चै महान् हुँदा रैछन् भन्ने लाग्यो।
दिन बित्दै गयो। छोरी पनि ठूली हुँदै गई। ऊ मलाई एकदमै माया गर्छे। बिरामी हुँदा सबैभन्दा चिन्तित पनि ऊ नै हुन्छे। अस्ति जिल्ला स्तरीय नाटक प्रतियोगितामा प्रथम भइछे। हाम्रो मात्रै नभएर पूरै गाउँ र जिल्लाकै नाम राखी भन्दै थिए।
मलाई म छोरीको बाबा हुनुमा गर्व लाग्छ। तर कहिलेकाहीँ विगत याद आउँछ र पश्चाताप हुन्छ, ऊ र उसको आमामाथि अन्याय गरेँ भनेर।
ठर्राबाको पनि बेलाबेलामा याद आउँछ। उनलाई धन्यवाद दिन्छु, मेरो आँखा खोलिदिएकोमा। थाहा छैन अचेल उनी कहाँ छन्। एउटा कुरा चाहिँ थाहा पाएँ, उनी त साइकोलोजिस्ट रहेछन्। मेरो बारेमा थाहा पाएपछि उनले जानेर नै अचम्मको टिफिन बक्सको माध्यमबाट मेरो चेत खोलिदिए। जे होस् उनी जहाँ भए पनि खुसी हुन्, सुखी रहुन्।