विचारको बारीमा सयपत्री उम्रँदैन, उम्रने त विचार हो। ढुङ्गा बालुवाको बगरमा सुनचाँदी भेटिने छैन, पाइने त ढुङ्गा-बालुवा नै हो। थकाइ लाग्नसक्छ घरैमा बसीबसी पनि तर थकाइ लाग्ने छैन उभिएर मिठा सृजना पढियो भने।
अथवा हिँड्दा हिँड्दै स्वस्थ पनि भइने र मन परेको भिडिओ क्लिप हेरियो भने शरीर थाक्ने छैन। तर यति उदार मन भएर पनि कहिलेकाहीँ स-साना कुरामा म अल्झन्छु। त्यो के हो भनेर जिज्ञासा मेट्नको लागि हजुरले कमसेकम यो लेख पूरै पढिसक्नु पर्छ। तयार हुनुहुन्छ? हुनुहुन्छ होइन!
कुरो अलिअलि बिमतिकै हो भनौँ।
यो सन्दर्भलाई जोडेर मैले शब्द र अक्षरहरूको भरपूर प्रयोग गरेको छु। मैले त्यसो गर्नु पछाडि कैँयन कारण होलान्, कारण नहोलान् त्यो आफ्नै ठाउँमा छ। हजुरलाई मेरो कुरामा असहमति राख्ने पूर्ण स्वतन्त्रता छ। मलाई कसैले तस्बिर सहितको रचना पोष्ट्याएको देखेर अचम्म लाग्छ। किन हो म त्यस्तो गर्नै सक्दिनँ, माफ गर्नु होला मेरो खस्रो विचारलाई। तर हजुरले त्यसो गर्नु भएर विध्वंश गर्नु भयो भन्ने मेरो आशय पक्कै होइन है।
भन्नु होला यो मानिसलाई तस्बिरप्रति आपत्ति छ। मान्छेहरूले सञ्जालमा तस्बिर टाँगेको देखिसहँदैन। कुनै न कुनै निहुँ देखेर खण्डन गरिहाल्छ। यस्तो सोच्नु भएको छ भने त्यो सरासर गलत हो। हरेक दिनको थकान, पीडा, दुःखसुख भोगेको मानिसले अहिलेको पोस्ट मोडर्न डिजिटल युगमा सञ्जालमा फोटो पोष्ट्याउनु अस्वभाविक त हुँदै होइन।
विवाह व्रतबन्ध, जन्म, मृत्यु, विवाहको एनिभर्सरी आदिमा आफ्नो तस्बिर राखेर आफूलाई व्यस्त बनाउनु कुन नराम्रो काम हो र! यो ठिकै हो, वर्ष-वर्ष दिनमा त्यो तस्बिरले आफ्नो त्यो समयलाई सम्झाइदिन्छ। मानिस आफै हराए पनि त्यो तस्बिरले उसलाई समाजअघि राखिदिएर सबैले सम्झनयोग्य बनाउँछ। काम कति सहज हगि?
मेरो लेखको मेसो त्यसरी बर्थडे, एनिभर्सरीमा तस्बिर टाँग्नेहरूप्रति लक्षित हुँदै होइन। किनकि पर्व नपरे पनि आक्कल झुल्कल प्रोफाइल तस्बिर फेर्नेमा म पनि पर्छु। अब मैले यो कुराप्रति विरोध जनाउनु भनेको आफ्नै गालामा थप्पड हान्नु होइन र!
समय एउटै दिशामा कुदेको हुँदैन। त्यो बाङ्गोटिङ्गो हिँड्छ भनियो भने पनि मान्नु होला यो मानिस धेरै अघिदेखि बकबक गरिरहेको छ। हामीले समय देख्ने कुरो होइन, तर अपत्यारिलो सत्य चाहिँ हो। त्यो बुझ्न हामीले कि क्यालेन्डर कि त घडी या मोबाइलमा हेर्नुपर्ने हुन्छ। त्यहाँ पनि कुदेको त छैन मात्र मिति, गते फरक हुँदै गएको हुन्छ।
हातमा लगाएको, भित्तामा झुन्डिएको या टेबुलमा राखेको टेबल घडीको टिकटिक आवाजले दिनको व्यस्तता चिर्न नसके पनि रातको सन्नाटालाई भने एकनास टिक, टिक, टिक गर्दै मधुर सङ्गीत दिइरहेको हुन्छ। प्रसङ्ग नछोडौँ कि म तस्बिरको कुरा गरिरहेको छु।
हजुर, मैले आफ्नो तस्बिरलाई कहिले मन पराइनँ। खै किन हो! मलाई नै थाहा छैन। थाहा छ मलाई म सुकरातभन्दा तस्बिरमा तल छु, नेल्सन मन्डेलाभन्दा ज्यादा अश्वेत छु तर म उनीहरूको व्यवहार, सरलता र सत्यप्रतिको अटल विश्वासभन्दा एकदम फिका छु, रङ्ग उत्रेको पेन्टिङ जत्तिकै।
भिन्ची, माइकल ज्याक्सन, बब मार्लीहरू अवचेतन जरा गाडेर बसेका छन् मेरो मनमा। मैले नढाँटीकन यो बताउनु पर्छ कि म कहिले निजी भइनँ। म भिन्चीको रङ्ग चोरेर कवितामा बिम्ब बनाउँछु, माइकल ज्याक्सनको हातखुट्टा भाँचे झैँ गर्ने नृत्यमा देशको माटो खेलाउँछु। म बब मार्लीको सङ्गीतमा मानवता र प्रेमको गीत गाउँछु।
त्यति मात्र होइन, मेरा रफ्तारहरू अयोग्य भएर फालिएकी मिरा राई भएर विश्व म्याराथनमा दौडिरहेछन्। म नमन गर्छु उनीहरूलाई जसले मभित्र सकारात्मक सोचको धुनी जगाइरहनु भएको छ। सन्दर्भ तस्बिर र रचनाको जो छ, म पूरै तस्बिर सहितको सिर्जना हालेर आफ्नो रचनालाई कम्बो बनाउँदिनँ।
मानिसहरू स्वतन्त्र हुन्छन्, आफ्नो स्वभावअनुसार चल्छन्। तँलाई किन चासो? भनेर मेरो मनले आफैलाई कति पटक सोच्यो होला! हो, प्रेम त कुनै मानिसले पूरा नभएको आफ्नो रहरलाई पनि गर्छ जसरी मैले मनमनै लेखी नसकेका मेरा उपन्यासहरूलाई गरिरहेछु, गायन र सङ्गीत बेगर पानी बिनाको माछाजस्तै छट्पटिएका मेरा अभागी गीतहरूलाई गरिरहेको छु अनि बिम्ब बनेर मेरो नयनमा आउने सयौँ प्रीय मनहरूलाई मैले हजुरहरूलाई बित्थामा दुःख दिएँ है भनेर माफी माग्न पनि सम्झिरहेको छु।
कहिलेकाहीँ त लाग्दो होला, कुनै मानिसको तस्बिर हेरौँ कि रचना पढौँ? मलाई सोध्नु हुन्छ भने म त तत्काल भन्छु- रचना पढ्छु। तस्बिरसँग सरोकारको लागि त प्रोफाइल पिक्चर नै काफी छ, होइन र? यो पनि ठान्नु होला रचनाको साथमा ठूलो फोटो राखेपछि लाइक, कमेन्ट पनि ह्वात्तै बढ्छ अरे नि त।
त्यो पनि आ-आफ्नो सोचाइ न हो, तर म रचनाको परिस्कारमा लेखकहरूको परिस्कृत रुप देख्छु। म नमन गर्छु ती यावत सर्जकहरूलाई जो आफैभित्र देवकोटा, भूपि, पारिजात, बानिराहरू उठाइ रहेछन्, माटोको सुगन्धमा आफैभित्र मेचीकालीले सिँच्दै स्वभिमानको सगरमाथा ठड्याइ रहेछन्।
जिन्दगीको रुखमा खुसीहरूले गुँड लाओस्, घाम-जूनजस्ता अभिभावकहरूको मुहारमा प्रगतीको उज्यालो व्याप्त होस्, बाँसका तामाजस्ता नानीहरूको ओठमा गुलाब फक्रियोस्, कर्मको पसिना धाराले देखासिकी बगोस्। हिमाल, पहाड र मधेसमा एकता र सद्भाव उठोस्। म यस्तै सोच्छु।
मेरो एकोहोरो प्रलापले दिक्क लाग्यो होला है? साँच्ची भनिदिनुस् न, मानिसलाई आफ्नो रचना प्यारो लाग्छ कि आफ्नो तस्बिर?