ओहो, कसरी पारेको थियो मेरो सम्पूर्ण शरीरलाई आफ्नो अधिनमा!
गुरूको क्रुर अनि कुरूप चित्रले सपनामा पनि उषालाई लखेटिरहन्छ, बुवाआमाले ट्युसन राख्दिनु भएको आफ्नै फूपाजु नाता पर्ने एकजना शिक्षकबाट।
'मलाई ट्युसन जानु छैन, म आफै मेहनत गरेर पढ्छु।'
ऊ जिद्दी गर्छे तर बुवाको गालीको विरोध गर्न सक्ने सामर्थ्य छैन उसमा।
'म्याथ राम्रो छैन तेरो अनि कसरी बन्छेस् त तँ डाक्टर? डाक्टर सकिएन भने इन्जिनियर भए पनि पढ्नुपर्छ। २/४ महिना ट्युसन पढेर के बिग्रिन्छ त?'
उषालाई न त डाक्टर बन्नु थियो न त इन्जिनियर नै। भन्न त मन थियो उसलाई- 'डाक्टर वा इन्जिनियर बन्ने बेलासम्म छोरी पो रहन्छे कि रहन्न तपाईंहरूकी।' तर भन्न सकिन।
निरीह भई हरेक दिन म्याथ टिचरको शारीरिक अनि मानसिक शोषण सहिरहन्थी ऊ।
छोरीको इच्छा तथा रहर कसैलाई जान्नु थिएन। छोरीले ट्युसन पढ्न जान्न भनेर झगडा गर्दा के कारणले जान मन छैन भनेर सोध्न जरूरी ठानेनन् बुवाआमाले।
बुवाको सपना छोरीलाई डाक्टर बनाउने, नभए इन्जिनियर। अरू विषयमा राम्रो भए पनि हिसाबमा अलि कमजोर छे भनेर छोरीलाई ट्युसन हालिदिएका थिए।
उषा विगतमा फर्किइ आज, धेरै पहिले उसको आफ्नै जीवनमा घटेका घटनाहरू आँखामा झलझली नाँच्न थाले। त्यति नै बेला उसकी छोरी आई।
'किन टोलाउनु भएको आमा, के भयो हजुरलाई?'
ऊ झसङ्ग भई। पविता त्यहाँबाट गइसकेकी थिई तर लाग्दै थियो पविताले भोगेको पीडा त्यही कोठामा छरपष्ट छन्। उसलाई समेट्नु छ, जोगाउनु छ र न्याय दिलाउनु छ भनेर सोच्दै बसेकी उषालाई आफ्नो विगतले फेरि आज नराम्री चिमोटेको थियो।
शरीरलाई भूकम्पले हल्लाए झैँ अनुभूति गर्न लागी, उसले टेकेको जमिन भाँसिए झैं भएको थियो।
'केही भएको छैन' ऊसँग बोल्ने कुनै शब्द थिएनन् यतिबेला। छोरी फतिमासँग पनि बोल्न मन भएन।
'छोरी जाऊ, एकक्षण मलाई आराम गर्न देऊ।'
उसकी छोरी त्यहाँबाट गई, घरको एक फ्ल्याट नै अफिसको रूपमा प्रयोग गरिएको थियो।
***
फतिमा उसले जन्माएकी छोरी थिई, सालनालसहित कानुनी प्रकृया पुर्याएर गोद लिएकी थिई उसले कुनै गरिव मुसलमान दम्पत्तिसँग। त्यसैले उसलाई मुस्लिम नाम नै दिएकी थिई।
जबदेखि जीवन र जगतलाई उसले राम्रोसँग बुझी, उसलाई परेका विभिन्न घटनाहरूको अभिलेख राख्दाराख्दै यति विद्रोही भएर निस्किएकी थिई कि, उषाले अविवाहित आमा बन्ने निर्णयलाई फतिमालाई गोद लिएर पूरा गरेकी थिई।
आफ्नै पाठेघरमा कुनै पुरूषको वीर्य दान लिएर सन्तान जन्माउने सल्लाह नदिएका पनि हैनन् उसलाई कसै-कसैले तर पुरूषप्रतिको धारणा उसको कहिल्यै सुखद् नभएकाले नै गोद लिएकी थिई फतिमालाई।
***
'बुवाले आफ्नो नाङ्गो शरीरमा मालिस गर्न लगाउनु हुन्छ, कपडा खोलेर नाङ्गै बनाउनु हुन्छ, मैले प्रतिकार गर्दा यस्तै त हो नि माया गर्ने भनेको भनेर सधैँ मलाई नराम्रो कुरा गर्न लगाउनु हुन्छ' भनेर भन्दा कम्ता कामेका थिएनन् उसका ओठहरू।
शारीरिक, मानसिक प्रहार, अप्राकृतिक मैथुनजस्ता जधन्य अपराध गर्ने बाबुबाट यस्ता घटनाहरूसँग प्रायःजसो अभ्यस्त भइसकेकी थिई पविता अब।
'छि: यस्तो कुरा पनि माया गरेको हुन्छ त? अनि कसरी यो कुरा मैले आमालाई भन्न सक्छु त? आमा नभएको बेलामा, कहिलेकाहीँ बाबुछोरी घुम्न जान्छौँ भनेर मलाई मात्र लिएर जानुहुन्छ अनि यस्तो काम पटक-पटक गरिरहनु हुन्छ' भनेर रूँदै उषालाई भनेकी थिई पविताले।
कतिपय यस्ता घटना सम्बन्धी मुद्दामा उषाले धेरैलाई न्याय पनि दिलाइसकेकी थिई। तर आज उसले जुन घटना सुनेकी थिई नि त्यस घटनाले उसलाई नराम्ररी हल्लाइदियो। आफूलाई पवितासँग तुलना गर्न थाली।
त्यति बेलाकी उषा अनि आज भर्खर धेरै प्रयासपछि आफूलाई घटेको घटना सुनाउन तयार भएकी पवितामा कुनै अन्तर पाइन उषाले। एउटै अन्तर पविताले आफ्नो घटना सुनाउँदै थिई उसलाई तर त्यतिबेला उसले आफ्नो घटना कसैलाई सुनाउन सकेकी थिइन।
'म सानै हुँदादेखि नै किन-किन बुवाले मलाई छोएको, माया गरेको मनै पर्दैनथ्यो। त्यसैले पनि म बुवाको नजिक पर्दै पर्दिन थिएँ। सानो छँदा आमाले घरको सारा काम गरे पनि, मलाई नुहाइदिने काम बुवाले नै गर्नहुन्थ्यो। जबसम्म म आफै नुहाउन सक्ने भइनँ त्यतिबेलासम्म मलाई तपाईं नुहाइदिनुस् न आमा, बुवाले नुहाएको मन पर्दैन भन्दा मैले धेरै पटक आमाको गाली खाएकी छु,' पविता सुनाउँदै थिई।
'आमा बजार गएको बेलामा, कहिले मध्यरातमा बुवा मेरो कोठामा आउनुहुन्छ। आमाले राति ढोकामा बन्द गरेर नसुत्नू, केही गाह्रोसाह्रो पर्नसक्छ भन्ने गरेकाले नै ढोकामा चुकुल लगाउने गरेकी छैन।
बुवाले माया गरेको रे, अनि माया पनि त्यस्तो हुन्छ त? भन्न पनि शरम लाग्ने गरी नराम्रो काम गरेर जानुहुन्छ। मलाई त आफ्नो शरीरमा पनि बुवाको गन्ध आउन थालेको छ। कसैको नजिक पर्न, कुरा गर्न मन नै लाग्दैन। आमा देखे पनि रिस उठ्छ, बुवाको त सास नै गन्हाउँछ। आफू देखेर नै घृणा लाग्न थालिसक्यो,' यसो भनेकी थिई पविताले।
***
फुपू र मामाका छोरीहरू थिए उषा र पविताकी आमा निर्जला।
आफ्नै आमाको उमेरको भए पनि पविताको र उषाको खुब मिल्ती थियो। उसले आफ्ना कतिपय आफ्नै आमालाई भन्न नसकेका कुराहरू पनि उषालाई पोख्ने गरेकी थिई।
मनोपरामर्शविद, महिला तथा बालबालिकाका हक तथा अधिकार सम्बन्धी मुद्दा मामिलामा काम गर्दै आइरहेकी मानवअधिकारकर्मी र समाजमा स्थापित एक प्रभावशाली नारी थिई उषा भुषाल।
पविताले उषासँग आज जे भनेकी थिई नि, त्यो कसैले कल्पना गर्न सक्ने कुरा नै थिएन।
उसका बुवा शिक्षित तथा सामाजिक हैसियतमा पनि ठूलो स्थान बनाइसकेका मानिस थिए। परिवारमा पनि कहिल्यै त्यस्तो नराम्रो भएको सुनिएको थिएन। श्रीमतीले आफ्नो श्रीमानको बारेमा कहिल्यै नराम्रो कुरा गरेको याद थिएन। आदर्श पतिपत्नी जस्ता देखिन्थे।
'एक निर्दोष, अन्जान, अबोध केटीको जीवनमा यस्तो घटना घटेको थियो भनेर उसकी आमालाई कसरी भन्ने होला?' मनमनै भन्छे।
बाटुलो गोरो अनुहार, ठूला-ठूला चम्किला बदामे आँखा, सुलुत्त परेको नाक, सुन्तले रसिलो ओठ, अग्लो शरीर, छिनेको कम्मर, गुलाबी गाला, लामो रेशमी कालो कपाल अनि हाँस्दा गालाको मध्ये भागमा पर्ने खोपिल्टोले समाजले कोरेको सुन्दरताको परिभाषालाई आफूमा समाहित गरेकी थिई।
खिरिलो ज्यानमा बल्ल रगत मासु भरिँदै थियो। उसको रूप अनि सुन्दरता मानौँ शीरदेखि पाऊसम्मै झल्कने गरी शरीरका अंग-अंग फक्रँदै थिए। साक्षात देवीकै रूप पाएकी थिई उसले। पविता बालिकाबाट भर्खर-भर्खर तरुनी बन्ने क्रममा थिई। पविताकै उमेर पछ्याउँदै थिई उषाकी छोरी पनि।
आफ्नै छोरी उमेरकी र आफ्नै दिदीकी छोरीको मुखबाट यी कुराहरू सुनिरहँदा उसको अनुहारमा आक्रोश र घृणा झल्किरहेको सजिलै अनुमान लगाउन सकिन्थ्यो।
पविताले अहिले जुन कुरा भनिरहेकी थिई, त्यो सुन्न सकिने, कसैलाई भन्न सकिने कुरा नै थिएन। उसले पविताको ठाउँमा आफ्नी छोरी फतिमालाई राखेर सम्झिई। फतिमा उसको आफ्नै पतिको जैविक सन्तान नभएकोमा उसलाई त्यति ग्लानी भएन।
अस्तिभर्खर मात्र उषाले आफ्नै काकाबाट बलात्कृत भतिजीको मुद्दामा उसलाई सहयोग गरेर कानुन सम्मत न्याय दिलाइदिएकी थिई। अहिले यो समाजमा हरेक दिन जस्तो यस्ता प्रकृतिका घटनाहरू सुनिँदै, देखिँदै आएकाले पनि उषालाई पविताले सुनाइरहेको घटनामा दोषीलाई जसरी नि कारबाही गर्नुपर्छ भन्ने अठोट बनाइसकेकी थिई उसले।
अबको पहिलो प्राथमिकता पवितालाई सरंक्षण गर्नु थियो अनि उसको बाबुको दकसबाट मुक्ति।
आज उषा दार्शनिक भएकी छे। पुनर्व्याख्या गर्दै छे उसको विगतलाई। अब उसलाई लाग्दै थियो, हरेक छोरीहरू आफ्नो जीवनकालमा एक/दुई पटक यस्ता नराम्रा घटनाका शिकार भइरहेका हुन्छन् होला। कति आफ्नैबाट अनि कति नचिनेकाबाट पनि।
कसैले पनि आफूलाई नपर्दासम्म अरू कसैको पीडा महसुस गर्न सक्दैन। पीडा त्यस्तो भोगाइ हो, त्यस्तो दुखाई हो जसलाई महसुस गर्न स्वयम नै पीडित हुनुपर्दछ, किनकि पीडाको आयतन कसैले अहिलेसम्म पत्ता लगाउन सकेकै छैन न त पीडालाई कसैले एक्स रे मेसिनले निकाले झैँ कागजको फिल्ममा उतार्न सक्ने गरी खिच्न सक्ने कुनै यन्त्र अहिलेसम्म बनाउन सकेको छ। यो त केवल अनुभूति गर्न मात्र सकिने चिज हो।
यो समाजमा छोरी मान्छेका निम्ति संसारमा आउनुअघि नै बनाइएका हुन्छन् अग्ला-अग्ला पर्खालहरू, नाघ्न नसकिने ठूल्-ठूला संघारहरू अनि अनेकौँ समाज अनुकूल नियमहरू। सजिला नियम र कानुनहरू मानौँ टाठाबाठाहरूका पेवा हुन् कि भने झैँ लाग्दछन्।
छोरीहरूलाई भन्न त हामी उड्नु पर्छ भनी भन्छौँ तर अनेकौँ बहानामा उनीहरूका पखेटा काटिदिन्छौँ हामी नै। स्वच्छन्द उड्न भनी छोडिएका छोरीहरू फर्किएनन् भने कसरी माफ गर्ने होला? यदि बाटो बिराएछन् भने बिराएको बाटो सम्झाएर फर्काउँदा के स्वीकार्न सक्छ यो समाज?
यस्तै-यस्तै प्रश्नहरू तछाँड मछाड गरिरहे उसका मनभित्र। आफूलाई त्यतिबेला परेको घटनाबाट निस्कन कम्ता सङ्घर्ष गरेकी थिइन् उषाले। त्यतिबेला उसले त्यो साहस नगरेको भए उसको अस्तित्व माटोमा मिलिसक्थ्यो कि? यी सम्पूर्ण कुराहरू उसले आफ्नो नियमित डायरीमा उतारेको अंश थियो।
***
पविताकी आमा निर्जलाले एक महिना अघिको भेटमा उसलाई भनेको कुरा झलझली सम्झिन थाली उषा।
'हेर न उषा, दुई महिना जति भयो छोरीको बानी व्यवहारमा आकाश-जमिनको फरक पाएकी छु मैले त। आजकल पविता अर्कै भएकी छे। हुन त यी सबै कुराहरू हुर्कँदै गएका छोराछोरीमा देखिने असामान्य लाग्ने सामान्य कुरा नै हो। परिवर्तन स्वभाविक हो तर अस्वभाविक देखिँदै छ, मेरो मन किन-किन एकदम विचलित भइरहेको छ।'
'किन? के गरी र पविताले त्यस्तो?' उषाले सोधेकी थिई।
'खै के भनुँ, छोरी नै साटेर ल्याएको झैँ भएको छ। के भएको हो छोरीलाई, न केही बताउँछे न नजिक बसेर दुई कुरा गर्छे। खालि ढोका थुनेर कोठामै बस्छे। केही सोध्यो झर्कीफर्की गर्छे। बुवाको त नजिकै पर्नै मान्दिन, म त हैरान भएको छु। के सबैका छोरीले यस्तै व्यवहार गर्छन् कि मेरी छोरी मात्र त्यस्ति भई? केही बुझ्नै सकिनँ मैले त।
अहिले त दुब्लाएर टट्टु भएकी छे। डाक्टरलाई पनि जँचाउन लगेको केही समस्या छैन भन्छन्, सबै रिपोर्ट नर्मल देखाउँछ। तर दिनदिनै छोरी खिइँदै गएकी छे। सधैँ चिटिक्क पर्नुपर्ने, अनेक-अनेक नक्कल झक्कल पार्ने छोरी आजकल कपाल पनि नकोरी बसेकी हुन्छे। मलाई त छोरीको साह्रै चिन्ता लागेको छ,' निर्जलाले लामो सुस्केरा हालेर यति भनी।
'केटाकेटी उमेर पार गरिसकेपछि छोराछोरीको बानी व्यवहारमा विस्तारै परिवर्तन आउनु त सामान्य नै त हो नि। यस्तै हो, कसैमा अलि कम अनि कसैमा अलि बढी। शरीरमा उत्पादित विभिन्न रसायन तथा हर्मोनहरूका कारणले हुने परिवर्तन त सामान्य नै हो। तर पनि विचार चाहिँ गर्नुपर्छ, किनभने हुर्कँदै जाँदा कतिपय सन्तानहरू आफ्ना आमाबुवासँग त्यति धेरै खुल्न सक्दैनन् अनि आफूलाई परेको समस्याहरू राम्ररी बताउन सक्दैनन्,' उषाले सम्झाएकी थिई।
'तर आफ्नो अनुहार अनि शरीरको लत्तो नै छोड्ने गरी देखिएको परिवर्तन चाहिँ सामान्य नहुन सक्छ है,' सतर्क पनि गराएकी थिई उषाले।
पवितालाई आफूले भेटेर राम्ररी सम्झाउने कुरा गरेकी थिई।
'अब यो उमेर नै त्यस्तो हो नि, एकाहोरिने, एक्लै बस्न रूचाउने, बुवाआमाको सामीप्यताभन्दा साथी सङ्गती मन पराउने। विपरीत लिङ्गीप्रति आकर्षित हुने, कम बोल्ने हुन सक्छन्। बैँसालु उमेरमा छोराछोरी अलिअलि त परिवर्तन भइहाल्छन् नि। शारीरिक, मानसिक, संवेतगात्मक, भावनात्मक अनि सामाजिक परिवर्तन त प्राकृतिक नै हो नि हैन र?' यो भनेर आश्वासन पनि दिएकी हो निर्जलालाई उसले।
'त्यो त मैले नबुझेकै कहाँ हो र? हामीले पनि त त्यो उमेर पार गरेर आएको हैन र? तर पविताको व्यवहार आजकल मलाई सामान्य लागेकै छैन, किन-किन यो नियमित सामान्य प्रकृया नै हो भन्ने मान्न मेरो आमा मन तयार छैन। त्यस्ति चञ्चल छोरी मेरी, खै नुन नखाएर झोक्राएकी झैँ देखिँदै छे।'
'पहिलो पटक 'पर सर्दा' त कस्तो निर्धक्क भई मँसग आएर 'पर सरेँ' भनेकी छोरी, त्यति समझदार छोरीमा आएको यस्तो परिवर्तन सामान्य हुँदै लागेको छैन मलाई त। पविता आजकल मेरो नजिक आउनै मान्दिन, आफै नजिक जाँदा पनि सातो गए झैँ व्यवहार गर्छे। कुनै ठूलै अपराध नै गरेकी छु कि जस्तो गरेर तर्किन्छे। किन त्यसो गरेकी, के भयो छोरी? भनेर सोधेँ झर्की र फर्की गर्छे।
उसका बुवा अफिसको कामले बाहिर गएका छन्। कसलाई भनौँ, के गरौँ भयो, साह्रै रून मन लाग्छ छोरीको यस्तो चाला देखेर, के गरौँ, कसो गरौँ भयो अनि तलाईं भेटेर भन्छु भनेर पो आएकी म त। न कुनै गलत काम पो गरी कि वा कसैले गलत नै पो गरेको छ कि त्यसलाई, तँसँग अलिक खुलेर कुरा गर्छे कि एकचोटि बुझ् न के भएको छ त्यसलाई, न कुनै मानसिक समस्या पो हो कि,' भनेर पविताकी आमाले भनेको कुरा उषाले सम्झी।
'छोरी मान्छे हो, न लब सबको चक्कर हो, बुझौँला नि त म बोलाएर। उमेर हुँदै गएका छोरीमा हुँदै जाने शारीरिक परिवर्तन सँगसँगै हुने भावनात्मक तथा संवेगात्मक परिवर्तनलाई व्यवस्थापन गर्न नसक्दा कहिलेकाहीँ सही निर्णय गर्न नसकेर पनि यस्ता लक्षणहरू देखिन सक्छन्।'
'लब गरेकी छे कि छोरीले सोधिनस् तैँले?' भनेर प्रतिप्रश्न गरेकी थिई उषाले।
'कहाँ सोध्नु नि, नजिकै पर्दिन। तर्किन्छे, झर्किन्छे, साह्रै रून्ची भएकी छे आजकल, किन हो?'
छोरी मान्छेलाई जबसम्म समाजले केवल वस्तु मात्र सम्झिन्छ, तबसम्म छोरीहरू सुरक्षित छैनन् भन्ने उसले राम्रैसँग बुझेकी थिई। गर्भदेखि नै असुरक्षित छोरीका निम्ति समाजमा कोरिएका लक्ष्मण रेखाहरूले उनीहरूको अस्तित्वलाई जहिल्यै पनि अवमूल्यन तथा परनिर्भर बनाइरहेको छ।
छोरीहरू कहिल्यै स्वतन्त्र छैनन् र हुन सक्दैनन् भन्ने समाजको बुझाइलाई उषाले कतै कुनै यौनजन्य हिंसामा त परिन पविता भन्ने अनुमान गरी अनि यसैको असर पो हो कि भनेर सोचेकी उसले छिट्टै नै पवितालाई भेटेर सबै कुरा बुझ्ने विचार गरी।
धेरै दिनपछि आज पविताले उषालाई भेटेकी थिई।
'यस्तो पीडामा परेकी रेछे र त उसकी आमाले त्यत्रो गुनासो गरेकी रहेछे, धन्न आफूलाई सम्हालेकी रहेछ उसले' मनमनै भन्दै थिई।
धेरै पहिलेको आफ्नै घटना सम्झिन थाली ऊ, किनकि पविताको पीडा कस्तो थियो भनेर उसले आफै अनुभूत गरेकी थिई।
***
घरको पिँढीमा एक पटक टाइफाइडले थलिएर निस्लोट सुतेकी थिई उषा।
आमाले झारफुक र लगान हो कि भनेर हेर्न आफ्नै माइलो ससुरालाई बोलाएकी थिइन्।
'खरानी ले त कान्छी' भन्दै पिँढीमा बसेका हजुरबुवाले खुट्टादेखि टाउको, अनुहार, ओठ गरी शरीरका सम्पूर्ण अंगहरूलाई सुमसुमाउँदै गरेको घटना भान्सामा जाउलो पकाउँदै गरेकी आमाले चाल नै पाइनन्। खरानी ल्याइदिएर आफ्नै काम भ्याउन हिँडेकी आमाले ती हजुरबुवाले आफ्ना पापी हातले उसको शरीरको स्पर्शसँग आफ्नो कामबासना साटिरहँदा आफूलाई जोगाउने शक्ति र सामर्थ्य त्यतिबेला न ऊसँग थियो, न त कसैलाई भन्ने साहस।
पितृ भइसकेका ती हजुरबुवालाई उसको बाल मस्तिष्कले सधैँ खलपात्रको रूपमा स्थापित गरिदियो। तिनलाई उसले कहिल्यै माफ गर्न सकेकी छैन। तिघ्रा, जाँघ र कलिला पलाउँदै गरेका स्तनका मुन्टो निमोठिएको पीडा आजसम्म पनि बिर्सन सकेकी थिइन उसले। त्यो कलिलो शरीर र मुटुमा लागेको चोटले टाइफाइडले भन्दा पनि कमजोर बनाएको थियो।
चैतमा दिएको एसएलसी प्रथम श्रेणीमा पास गरेपछि विज्ञान विषयको पढाइ सुरू गरेकी उषा कलेजबाट फर्कँदा सेतो माइक्रो बसको अन्तिम सिटमा बसेको एउटा अधबैँसे पुरूषले भिडभाडको फाइदा लिँदै उसको शरीरभरि हात पुर्याउँदा पनि उसले प्रतिकार गर्न सकेकी थिइन।
त्यो सुकुलगुण्डा जस्तो देखिने पुरूषले त्यसरी नै कति जना छोरीहरूको शरीर स्पर्श गरेर यौन तृप्ति लिने गरेको थियो होला, तर विरोध, प्रतिकार गर्ने सामर्थ्य उषाजस्ता छोरीहरूमा किन कहिल्यै हुन सकेन? समाजले छोरीलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म यो कुरा हरेक छोरी मानिसले सहनु पर्ने नै हो कि।
यही कुरा सोच्दै थिई उषा, आफ्नै जीवनमा पटक-पटक घटेका यस्ता घटनाहरूले उसलाई क्रमश: अलि विद्रोही बनाउँदै थियो। अनि लोग्ने मानिसप्रति वितृष्णा।
***
अर्को एकपटक उसलाई मिनीबसमा घटेको घटनामा भने प्रतिकार गर्ने सामर्थ्य जुटाएकी थिई। मिनीबसमा यात्रु धेरै थिए, ऊ अनि उसकी एकजना साथी कलेजबाट फर्कँदै थिए। बस्ने खाली सिट थिएन, दुवैजना उठेका थिए बसको डण्डी समाएर। साथी झ्यालपट्टि फर्किएर बसेकी थिई। त्यत्तिकैमा एउटा त्यस्तै २४/२५ वर्षको जस्तो लाग्ने केटो उसको नजिक आएर टाँसिएर बस्यो।
सुरुमा त भिडले गर्दा होला भन्ठानी उसले। तर विस्तारै त्यो केटो सम्पूर्ण तरिकाले उषाको शरीरको पछाडिपट्टिको भागमा आफ्नो पुरूष अङ्ग चलाउन थाल्यो। उसले त्यस केटाको नियत बुझिसकेकी थिई, अनि उसलाई अब चुप लागेर बस्न ठिक छैन भन्ने लागिसकेको थियो।
बसमा धेरै मानिसहरू थिए। उसलाई शंका नलागेको त हैन तर अब ऊ चुप लागेर बस्न सक्ने स्थिति थिएन। रिसको पारो चढेकाले त्यस केटालाई प्रतिकार स्वरूप एक झापड लगाइदिएकी थिई।
'के हो पारा तेरो? घरमा दिदीबहिनी र आमा छैनन्? तेरी स्वास्नी नै सम्झिस् कि के हो?' एकै सासमा भन्न भ्याएकी थिई उषाले।
त्यो केटो रातो पिरो भयो, यसरी यो पटक उसले गतिलै हिम्मत देखाएकी थिई। लाज र शरमले रातोपिरो भएर गुड्दा गुड्दैको बसबाट यति छिटो झरेर एकैछिनमा गायब भएको थियो त्यो केटा। यस घटनामा उसलाई कति जनाले स्याबासी दिएको कुरा सम्झी अनि कति जनाले लाज र शरमले जिब्रो टोकेका पनि थिए। मानौँ उसले प्रतिकार गरेर गलत गरेकी थिई।
केटी मान्छेका लागि बनाइएका सीमा भित्रका मानसिक यातना, शोषण तथा दासप्रथा विरुद्धको क्रान्तिकारी ज्वाला विस्तारै ऊभित्र जलिरहेको थियो। अब यो ज्वालालाई उसले निभ्न नदिने निर्णय गरेकी थिई। समयले उसलाई धेरै कुरा सिकाउँदै थियो।
विद्यालयदेखि नै राम्रो पढाइ भएका कारणले साइन्स विषय पढ्दै गएकी उसलाई साइन्स विषयसँगको मोह कम हुँदै गइरहेको थियो। अब उसलाई साइन्स हैन, त्यस्तो विषय पढ्ने जसले गर्दा यस्ता नराम्रा कुराहरूको खुलेरै प्रतिकार गर्नको निम्ति मद्दत मिलोस् भन्ने लाग्न थालेको थियो।
त्यसैको परिणाम आज ऊ एउटा महिला तथा बालबालिकाको हक तथा अधिकारको निम्ति काम गर्ने एनजिओमा कार्यकारी पदमा रहेर काम गर्दै थिई। साथै महिला बालबालिका सुरक्षा सम्बन्धी मनोपरामर्षविधको रूपमा आफूलाई स्थापित गरेकी थिई उसले।
उसको यो रूपान्तरणको श्रेय ऊ आफैले पटक-पटक भोग्नु परेको शारीरिक, मानसिक र भावनात्मक शोषण र त्यसबाट उठ्न गरेको संघर्षलाई दिने गरेकी छे। आफूलाई परेका घटनाहरू सार्वजनिक रूपमा राखेर पनि उसले त्यस्ता समस्याहरूलाई अगाडि ल्याउन प्रेरित गर्ने गरेकी थिई।
मनोपरामर्शविद भएका कारणले पनि उषाले पविताको समस्या पहिल्याउन मद्दत गर्न सक्छे कि भनेर पविताकी आमाले ऊसँग सहयोग मागेकी थिइन्।
पवितालाई आफ्नै अफिसमा भेटेर कुरा गर्दै गर्दा उसले विगतमा घटेको आफ्नै घटना सुनाएकी थिई ताकि पविताले पनि आफ्नो कुरा राख्न सक्ने आँट मिलोस्, साथसाथै आफूलाई परेको घटनाको प्रतिरोध गर्न सकोस्।
आँखा चिम्लेर एकक्षण आफूलाई शान्त राख्ने कोसिस गर्दै थिई।
उसले त्यतिबेला डर, सङ्कोच, लाज, घृणा अनि आफैमा निहित अरू थुप्रै सम्बन्धलाई जोगाउन गरेको सम्झौता एक-एक गरेर सम्झिँदै थिई।
***
उषा आफ्नै कहानीको रिल रिवाइन्ड गरेझैँ सुनिरहेकी थिई, पविताले भोगेको त्रासदी। उसलाई पविताले भोगेको पीडाको आयतन अनुमान लगाउन गाह्रो भएन।
कठै! पविता, तिमीलाई घटेको जस्तै घटना ममाथि पनि घटेको थियो कुनै बेला। तिमीलाई परेको त्यो पीडा, छटपटीको आयतनलाई महसुस गर्न सक्छु म जसलाई धेरै वर्ष पहिले आफ्नैले मलाई पनि दिएको थियो। आफ्नैले आफ्नैलाई फेरि पनि त्यस्तै घृणित कार्य गरेको छ। लाज शरम, नाता, सम्बन्ध, पाप अनि धर्म, नैतिकतालाई कसरी तिलाञ्जली दिन पछि पर्दैनन् हँ यहाँ मानिसहरू?
कोही, किन अनि कसरी अभिभावकत्वको, इमान्दारीताको, नैतिकताको नकाब ओडेर आफ्नै रगतलाई, आफ्नै सृजनालाई चुडाउने र कलङ्कित गर्ने दुष्साहस गर्न कसरी सक्छ हँ?
***
आज पविताकी आमाले आफ्नो पतिसँगको छोडपत्रको मुद्दाको सुनुवाई उसैको पक्षमा भएको छ।
छोरी अबोध प्राणी झैं शान्त र स्थिर छे, आमा भित्रको आँधीबेहरी कसैले देख्न सकेको छैन।
कठै, छिः छिः जस्ता शब्दहरू अस्पष्ट हुने गरी कानमा गुन्जिरहेको छ।
अपराध एउटा पुरूषले गरेको थियो। पतिद्वारा आफ्नै छोरीमाथि घटाएको यस भयङ्कर ठूलो अपराधलाई परिवार अनि समाजले अपराधी करार त दिएको थियो।
आफ्नै बाबुले आफूमाथि पटक-पटक गर्ने गरेका घृणित शारीरिक तथा मानसिक शोषणलाई समाज, परिवार, नाता सम्बन्धका खातिर चुप रहोस् भनेर धेरैले नचाहेका हैनन्। तर आमाले छोरीलाई विश्वास गरेर साथ र सहयोग गरेकाले नै अपराधीले सजाय पाएको छ।
पहिला आफूमाथि घटेको घटनाको हिसाबकिताब गर्न नसकेकी उषाले धेरै यस्ता घटनाहरूलाई कानुनको कठघरामा उभ्याइसकेकी थिई। आज उसका अगाडि अर्को एउटा त्यस्तै अवसर आएको थियो। तर यस घटनामा उसले सोचेको जस्तो परिस्थिति भने त्यति सहज थिएन।
त्यसमा सबभन्दा ठूलो चुनौती पविताकी आमा निर्जला हुने पक्का थियो। यो घटनाको सम्पूर्ण विवरण उसलाई नभनी सुख थिएन उषालाई, भनेपछिको सम्भावित घटनाक्रमको अनुमान सायदै कसैले गर्न सक्दथ्यो।
पविताका बुवा घर, परिवार मात्र हैन समाजमा पनि एक सम्मानित व्यक्तित्वको छवि भएका मानिस थिए। यो घटनाको सार्वजनीकरण हुने बित्तिकै त्यसले उनी र उनीमा निहित धेरै कुराको जगलाई हल्लाइदिने पक्का नै थियो। यो भन्दैमा केही नगरी बसे अपराधीलाई अरू अपराधको निम्ति प्रोत्साहन मिल्ने मात्र नभई पविताको आफ्नै जीवनको पनि त सवाल थियो।
पवितामा आएको परिवर्तनको कारण त पत्ता लाग्यो। मानिसको आधारभूत आवश्यकताभित्र गाँस, बाँस, कपाससँगै यौन पनि पर्दछ। तर किन मानिस यी सामान्य आधारभूत आवश्यकताहरूलाई वशमा राख्न सक्दैनन्। किन धेरै मानिसहरू क्षणिक संसारिक आनन्दका खातिर आफूलाई पशुको दर्जामा राख्न उद्दत हुन्छ।
काम, क्रोध, लोभ अनि मोह नियन्त्रण गर्न नसकेर किन मानिसले आफ्नो स्वार्थको लागि कुनै अर्कोलाई नारकीय जीवन बिताउन बाध्य बनाउँछ होला है? के तिनीहरूलाई कहिल्यै कुनै आत्मग्लानीले पोल्दैन होला? मनमा यस्ता अनेकौँ तर्कना खेलाउँदा खेलाउँदै धेरै दिनदेखि राम्ररी निदाउन नसकेकी उषा कति बेला निदाइछ।
बिहान एक्कासी मोबाइलमा बजेको रिङटोनको आवाजले उसको निद्रा खलबलियो।
'आज मुद्दाको अन्तिम पेशी छ अदालतमा, छिट्टै आउनुस् है,' पविताले उषालाई फोनमा भन्दै थिई। यो उसको आफ्नै बाबु विरूद्दको मुद्दाको निर्णायक पेशी थियो।
निर्णय पविताको पक्षमा हुने पक्का थियो। सम्पूर्ण प्रमाणहरू उसका बाबु विरूद्ध नै थिए।
आज मुद्दाको सुनुवाई भएको छ, पविताले जितेकी छे आफ्नै बाबु विरुद्धको लडाइँ। तर सर्जक र सिर्जना बीचको सम्बन्धमा कालोमोसो पोतिएको थियो। यो लडाइँ उसले कहिल्यै चाहेकी थिइन। हाडनाता करणी प्रयास तथा यौन शोषण विरूद्ध छोरीले २० लाख क्षतिपूर्तिका साथै अपराधीले १५ वर्षको जेल सजाय पाएको छ। अंश मुद्दामा आमाले आधा सम्पत्ति लिइसकेकी थिइन्।
यस घटना पछिका ७ वर्षमा धेरै कुराहरू परिवर्तन भएका छन्।
पविताले अहिले 'क्रिमिनल ल' विषयमा स्नातकोत्तर उपादी लिइसकेकी छे। उषाको एनजिओमा लिगल एड्भाइजर भएर काम पनि गरिरहेकी छे।
झन्डै-झन्डै भत्किएको उसको जीवनमा नयाँ उत्साह र उमंग पलाइदिएकोमा उषाप्रति सधैँ नै नतमस्तक भई आफूलाई परेको जस्तै घटनामा परेकाहरूको उत्थानको निम्ति सधैँ समर्पित हुने प्रतिज्ञा गरेकी छे।
'सुन्दर मुखुन्डो भित्रका कुरूप अनुहारहरू' कथानकको रूपमा निक्लिएको छ।