बिहानी किरणसँगै फक्रिएको फूल यस्तै सोच्दो हो
सँगै हुर्केको काँडा र मबीच कत्ति फरक
मायादेखि प्रीतिसम्म
जन्मदेखि मृत्युसम्म
दसैँदेखि लोसारसम्म
मस्जिददेखि बिहारसम्म
फूल यस्तै सोच्दो हो
कहिले स्वागतका निम्ति चुँडिएँ
कहिले बिदाइका निम्ति चुँडिएँ
कहिले प्रेममा चुँडिएँ
कहिले बिछोडमा कुल्चिएँ
तर आजसम्म म मेरा लागि कहिले चुँड्न पाएको छैन।
प्रेमको प्रतीक मानिएको फूलसँग प्रेम गर्न
कहिले नजानेको मनुष्य फूलको कोपिला
पत्थरअगाडि चढाई पुण्य कमाउँदै छ
तिम्रो लोकमा त फूल पुण्य र पापमा जोखिने रैछु।
वर्षेनी फूललाई बचाउन खोज्दा खोज्दै थाकेको काँडाबारे
फूल यस्तो पनि सोच्दो हो
मेरो जीवनमा काँडा नभएको भए मेरो के अर्थ?
मलाई निमोठ्न खोज्दा
काँडाले घोचिदिन्छ
र पो म बाँचेको छु
काँडा नहुने फूलको के अर्थ?
फूल नहुने काँडाको के अर्थ?
काँडा र फूलबीच प्रेम छ, फूल फक्रिएको छ
फूल काँडा बन्न कहिले खोजेन र काँडा फूल बन्न
त्यसैले त यो संसार फूलजस्तै सुन्दर छ।