सम्पूर्ण राजनैतिक व्यवस्थाको
परिवर्तन र प्रयोगपछि
पहाडै पहाडको देशमा
भ्युटावरको निर्माण बढ्दो छ ।
शिक्षा, स्वास्थ्य
जनताले
योग्यता अनुसारको काम
काम अनुसारको दाम
कहिले पाउँछन्
त्यो
नेपाली समाजवादमा पर्दैन।
तीन तहको जनसरकार
युवालाई सीमापार पठाई
स्मार्ट मोबाइललाई काम दिने
योजनामा व्यस्त छ।
जन्मेदेखि देखेको दृश्यले
गाँस, बाँस, कपासको
व्यवस्था नगरे पनि
भ्युटावर उद्घाटनमा
आएको बोलीले भन्यो-
अब विकासको मात्रै होइन
पर्यटनको बाढी आउनेछ
पहाडको चुलीमा।
भ्युटावरले
राजश्व सकाउन मात्र सहयोग गरेको छैन
उत्तिकै सहयोग गरिरहेको छ
विज्ञान प्रविधिको युगमा
लाइक र कमेन्टका लागि।
प्राकृतिक चुलीबाट देखिने दृश्य
विकासे भ्युटावरबाट देखिने चारकिल्ला
फरक छुट्टाउन
लोकसेवामा प्रश्न दिए
सबै प्रशिक्षार्थी अनुत्तीर्ण हुन्छन्
तर पास हुन्छन्
फेसबुकका लागि सेल्फी खिच्नेहरू
उत्तीर्ण हुन्छन्
प्रतिशतमा विकासे योजना पास गर्नेहरू।