स्वतन्त्रता
समानता
समावेशीता
र सामाजिक न्यायलाई हतियार बनाई
पहिचान, पहुँच र प्रतिनिधित्व सहितको परिवर्तन
संस्थागत गर्न सेवकको रुपमा निस्किएको एक योद्धा।
दिन्छ
कृषकलाई
सहुलियत ऋण, अनुदान र कृषि क्रान्तिको आश्वासन।
देखाउँछ
गरिबलाई
आय, रोजगारी र प्राणतत्वको आशा/भरोसा।
बाँड्छ
समाजलाई
हिज्जे नमिलेकै भए पनि
व्यञ्जन जडित
नीति, योजना र कार्यक्रम सहितको
समाजवाद र समृद्धिको अक्षररुपी स्वर्णिम सपना।
अब ऊ
सक्षम छ
कृषक गरिब र समाजको
ऊ प्रतिको अविश्वासलाई
शिशिर झैँ सिताङ्गो बनाउन
वसन्त झैँ पाउल्याउन।
ऊ खेल्छ
बेजोडसँग
समाजिक मूल्य, मान्यता र जनभावनामाथि
हत्याउँछ, जनमत
हुन्छ, अनुमोदित।
र
हिँड्छ
ऊ आफ्नै रवाफमा
इन्कार छ, आश्वासन
लत्याउँछ, सपना
मार्दिन्छ, आशा/भरोसा
अब चढ्छ
ऊ
पहाडको उचाइमा
बनाउँछ
समाजवाद र समृद्धिले तय गरेको दूरी नाप्ने
एउटा कंक्रिटको थुप्रो।
भाइ-भारदार भेला गरी
नियाल्छ
त्यही थुप्रोबाट
जनताको
उध्रिएको छाना, नाना र बाँझिएको बारी।
अन्ततः
आज
ऊ एउटा असल सेवकबाट
शासक भएको छ
त्यही टुप्पोबाट
भाइ-भारदार सम्मुख उसले चित्कार्दै उद्घोष गर्छ
आज हाम्रो समाजवाद र समृद्धिको यात्रा तय भएको छ।
गडगडिन्छ
ताली
गुञ्जन्छ
भाव
नातावाद, कृपावाद
जिन्दावाद! जिन्दावाद! जिन्दावाद!!