बा अत्याधिक रक्सी पिउनु हुन्थ्यो। त्यसपछि बाले भन्दा धेरै रक्सीले बा'लाई पिउन थाल्यो।
हजुरबुबा भन्नुहुन्थ्यो- 'तेरो बाउले ११ वर्षको उमेरबाटै रक्सी पिउन थालेको हो। मलगायत परिवारले धेरै सम्झाउने कोसिस गरियो, सकिएन।'
बालाई सम्झाउनु भनेको कुकुरको पुच्छर सोझो बनाउन खोज्नुजस्तै मूर्खता थियो। बा'को यही पिउने बानीले दिदी माइती आउन मान्दिन थिइन्, ठूलो दाइ र बा राम्ररी नबोलेको धेरै वर्ष भएको थियो।
बा र बाको रक्सीले घरमा कहिल्यै सुख शान्ति दिएन। आमाको के कुरा, हामीलाई पनि कहिल्यै माया ममता दिनुभएन। चाडपर्व, पूजा, नयाँ साल, घरमा पर-पाहुना यहाँसम्म कि हजुरबुबा/हजुरआमाको पुण्य तिथिसम्म राम्ररी मनाउन/मान्न पाइँदैन थियो।
एकाबिहानैबाट साँझसम्म रक्सी कसरी पिउने, कहाँ र कोसँग पिउने ध्याउन्न मात्र हुन्थ्यो उनको दैनिकीमा। रक्सी पिएपछि जथाभावी बोल्ने, झगडा, मारपिट गर्ने उनको बानी थियो। यहाँ सम्म उनलाई पत्तो हुँदैन थियो कि घरमा कति जना परिवार छन्? कसले के-कति पढ्छन्? कसले के-कस्ता काम गर्छन्? छोराहरू कता छन्? कति कमाउँछन्? घरव्यवहार कस्तो चलेको छ?
म प्रदेशबाट छुट्टीमा घर जाँदा, छुट्टी सकेर फर्कँदासम्म उनलाई केही पत्तो हुँदैन थियो। कहिले आयो, कति दिनको लागि आयो, कति कमाएर आयो/रित्तै आयो? केही नाई। प्रदेशबाट पनि कहिल्यै कुरा हुँदैन थियो, कुरा भइहाले पनि कहिले होसमा भेटिँदैन थिए।
एक्कासी बा'ले रक्सी पिउन छाडे।
आजभोलि बा भट्टीमा होइन, खेतबारीमा भेटिन्छन्। बा हुन त प्रायः घर छाडेर हिँड्नु हुन्न। यदि काम परेर हिँडिहाले पनि समयमै घर आउनुहुन्छ। यदि बाटोमा पुराना पिउने साथीभाइहरू भेटिए पनि उनका झुण्डबाट विस्तारै छक्काएर सुटुक्कै समयमा घर फर्कनुहुन्छ।
बा आएको थाहा पाएपछि घरका दुई नातिनी तोतेबोली बोल्दै लिन पुग्छन् गेटसम्मै, वर्षौंपछि मात्र भेटेजस्तो स्नेहका हजारौँ बुढा दाह्री बिझाएर बेस्सरी गालामा चुम्दै काँधमा बोकेर भित्र आउनुहुन्छ। सम्झेर ल्याइदिएका केही चकलेटहरू बाँडिदिनु हुन्छ, स-परिवार सँगसँगै खाना खानु हुन्छ।
बेलुका समयमा सुत्ने बिहान छिट्टै उठ्नु गर्नुहुन्छ। यत्रो वर्ष छरपस्ट उनका कामहरू मेसैसँग गर्नुहुन्छ। आफै नुहाउने, कपडा धुने, दाह्री/नङ काट्ने मतलब सरसफाइमा अति नै ध्यान दिनु हुन्छ।
जानि-नजानी नातिनीहरूलाई होमवर्क सिकाउनुहुन्छ। बिहान स्कुल लाने, बेलुकी लिना जाने गर्नुहुन्छ। गाईभैँसी, बाख्रा, कुखुराका गोठ सफा गर्नुहुन्छ। दानापानीदेखि घाँस पराल आफै हाल्नु हुन्छ। आजकल गाईभैँसी, बाख्राका भकारा, दाम्ला, किला, टाट्नाहरू बलिया छन्।
आमालाई भान्सादेखि करेसाबारीसम्म सघाउनु हुन्छ। साँझ परेपछि फोनमा मसँग सधैँ बोल्नुहुन्छ। कुटुम्ब घर गइसकेका छोरी-चेली, दिदीबहिनीहरूलाई फोन गरेर सन्चो-बिसन्चो बुझ्नुहुन्छ। एक्कासी यत्तिका वर्ष आफू कुलतमा लागेर परिवारलाई दुःख दिएको भन्दै भावुक हुँदै आँखाभरि आँसु बनाउनुहुन्छ।
हजुरबाले रोप्नु भएको घरछेउको बुढो सिमलको रुख र बाँस निकैबेर हेरिरहनु हुन्छ। धरैपछि खहरे तिरको बाँस झ्याङमा बास बस्ने रुपीहरूको आवाज साँझसम्म सुनिरहनुहुन्छ। माथिल्लो बारीमा मकै गोड्न गएकी आमालाई लिन बारीमै पुग्नुहुन्छ।
साँच्चीकै भन्नुपर्दा बाले रक्सी पिउन छाडेपछि घरमा गाई-भैँसीले दूध बढाएका छन्। नातिनिहरूको मार्कशीटमा नम्बर बढेका छन्, खेतीपाती बाली राम्रो भएको छ। घरमा पाहुना, छोरीचेली खुसीसाथ आउने/जाने छ, घरमा र मनमा सुख छ, शान्ति छ।
साँच्चीकै बाले रक्सी छाडेपछि मात्र मैले भिडिओ कलमै भए पनि उनका थरथर काप्दै गरेका हात हेरेँ। विस्तारै चाउरिँदै गएका अनुहार, बेस्सरी फुलेका दाह्री-कपाल, रुग्ण शरीर राम्ररी नियालेँ। धेरै बुढो हुनुभएछ बा।
बाले कुलतमा लागेर हामीलाई बिर्से पनि हामीले बिर्सन नहुँदो रहेछ। बाको त्यो गलत बानीले बालाई नै गलत सम्झियौँ। वास्तवमा गलत बानी/व्यहोरा हुन्छ, नाता गलत कहिल्यै हुँदैन रहेछ। यस्ता अनेक किसिमका कुरा मनमा खेल्न थाल्छन् अनि भित्रभित्रै बेस्सरी रून मन लाग्छ।
ढिलै भए पनि बाले गर्नुभएका यस्तो महान् कामको लागि मलगायत मेरो परिवार अत्यन्तै खुसी छौँ।