मलाई
अध्यक्ष हुन मन छ
किनकि
मैले भेटेका, देखेका अध्यक्षहरू
अध्यक्ष रहेनन्
तिनीहरू
कतै ठेकेदार
कतै बिचौलिया
कतै दलाल
र
कतै रखौटाजस्ता भए!
अत्यन्त
सस्ता भए
यो परिवर्तन हुनुपर्छ
हुन्छ।
मलाई
मेयर हुन मन छ
किनकि
मेयर नगरपिता हो
पिता यसै हुन पाइँदैन
ठेक्कापट्टा मिलाएर
आफ्नै भिडाएर
नभएको हो भनेर
भएको होइन भनेर
क्रसर चलाएर
डोजर कुदाएर
बा, दाइ र कमरेडलाई
हप्ता बुझाएर
नगरपिता पद पाइँदैन
पाउनु हुन्न
यो जरुरी परिवर्तन हो
हुन्छ।
मलाई
प्रदेश सांसद
प्रदेश मन्त्री
मुख्य मन्त्री जे भए पनि हुन मन छ
किनकि
अरुकै बल र त्यागमा
रजाइ गर्ने मन छैन
बरु मेरो प्रदेश
समृद्ध बनाउने योजना र कार्यक्रम
सहित अघि बढ्ने संकल्प छ।
के छैन
कोशी सगरमाथामा?
मधेस सुन फलाउँछ
बागमति राजधानी प्रदेश
गण्डकी लोकतन्त्रको आधारभूमि
लुम्बिनी विश्व चिन्छ, तिमी चिन्दैनौ!
कर्णाली बाँकी विश्वलाई औषधि हो
सुदूर टाढा छ तर गाढा छ
त्यसो भए
अबको ५ वर्षमा
समग्र हर्ष ल्याउने हो।
भैगो! यी ठूला पद नदेऊ
त्यसो भए
थोरै विचार गर
तिमीले हो भन्दा हो भन्ने
भो भन्दा भो भन्ने
आफ्नै विवेक लुकाएर
निरन्तर जागिर पड्काउने
बा, दाइ र कमरेडलाई
हप्ता बुझाउने
लुरे सांसद बनाइदेऊ।
त्यसैले
मलाई
संघीय सांसद हुन मन छ
मलाई शिक्षा मन्त्रालय भए नि हुन्छ
धेरै त सक्दिनँ
जान्दिनँ पनि
तर
अबोध बालबालिकाले
राम्रो शिक्षा पाउने छन्
गरिब रोगीहरूले उपचार पाउने छन्
विद्यालय साँच्चै विद्यालय हुनेछ
अस्पताल
कमिसन र सेटिङमा बिक्ने छैन
नागरिक सम्प्रभु हुनेछन्
साँच्चै लोकतन्त्र के हो?
बुझिने र आत्मसात हुने गरी प्रमाणित गर्नेछु।
मलाई गाली नगर
हो,
मैले गल्ती गरेँ, मान्छु
अदना नागरिकको भोको बच्चालाई
पढाएँ, सिकाएँ
बोल्ने बनाएँ
मैले हैसियत नभएको मास्टरी रोजेँ
तिमीलाई भेटी चढाउन सकिनँ
मेरो गल्ती हो र?
कति नै तलब दिएका छौ र?
त्यसैबाट तिमीलाई दिउँ?
ख्याल ख्याल नगर
अब पछि फर्कन मैले मिल्दैन
तिमीले अघि बढ्नु हुँदैन।
समय अघि गैसकेको छ
उज्यालो नआए पनि
उज्यालोको आभाष भैसकेको छ
तिम्रो समय सकिएको र
नयाँ समय आइसकेको छ।