ए बलबहादुर सुन
तिमी सधैँ भन्छौ कि
हाम्रो दुःख कसैले देखेन भनेर
त्यस्तो होइन साथी,
तिमीले टेकेको बालुवाले पोलेर
तिम्रो पैतालामा उठेको
पानीका फोका हेर्न मिल्ने
भ्युटावर बनिसक्यो
तिम्रो गाउँको डाँडामा
अब झट्टै पठाउनु
केही थान रियालका बिटोहरू
मात्र अब दूरबीन किन्न बाँकी छ।
ए प्रेमप्रसाद दाजै, तिमी पनि सुन
कति गुनासो गर्छौ हँ
देशले माया गरेन भनेर
त्यस्तो होइन दाजै
भाउजूको पेटमा
तिमीले छोडेर गएको तिम्रो नासो
जन्मेर हुर्केको पनि बाह्र वर्ष भइसक्यो
यतिका वर्षपछि भ्युटावर चढेर
हल्लाउने छिन्
तिमी तिर मायाका हातहरू
अब झट्टै पठाऊ
केही थान रिंगेटका बिटोहरू
अब मात्र भ्युटावरको टिकट काट्न बाँकी छ।
ए आशामाया दिदी पनि सुन
कति गुनासो गर्छौ
माइतीले सम्झेन भनेर
त्यस्तो होइन दिदी
परार साल
तिमीले लगाइदिएको
मखमलीको माला
आजसम्म पनि हो ओइलिएको छैन
धरोधर्म दिदी डाँडाको टुप्पोमा बनेको भ्युटावरबाट
देखाउने छु मखमलीको माला
झट्टै पठाऊ
केही थान दिरामका बिटोहरू
अब मात्र वैशाखी किन्न बाँकी छ।
यसरी सबैका
दुःखका दिन गए साथी हो
कञ्चनजङ्घा, मनास्लु,
धौलागिरी, अपि, सैपाल इत्यादि हुँदै
एकदिन बनाउनेछन्
हाम्रा मालिकहरूले सगरमाथाको टुप्पोमा भ्युटावर
अनि सबैका दुःख पनि पीर पनि
व्यथा पनि चोट पनि एकैचोटि
साटौँला
अब मात्र एकचोटि फेरि
यिनै नालायकहरूलाई जिताउन बाँकी छ।