चुनाव एक दिन आउँछ
नेता भनाउँदा धेरै दिनदेखि धाउँछ
विकासको 'व' जान्दैन
तर ठूलोठूलो गफ लगाउँछ।
एउटा घाम बनेर उदाउँछ
अर्को छहारी बनेर छाउँछ
कसैले किसानी हलो
कसैले मजदुरी हथौडा, Fहसिया के-के देखाउँछ
त्यही नै उसको प्रतिबद्धता भए झैँ गरी
भोक, विभेद र वञ्चितिसँग लड्ने
गुलिया सपना बाँड्छ!
८० वर्षकी मेरी आमा र कैयौँ आमाहरू
जसको बालापन विद्यालय नभएको देशमा बित्यो
जिन्दगी मेलापात र चुलोचम्कोमा बित्यो
वृद्धावस्था विश्वकै गरिब मुलुकमा
त्यसमा पनि कतिको त
वृद्धाश्रममा बितिरहेको छ
दशकौँदेखि तिनैलाई अझै सपना बाँड्छ
नेता भनाउँदो
निर्लज्ज, निष्फिक्री
तिनै आमा, बाहरूलाई सपना बाँड्छ।
योजनाविहीन शिक्षाले सिर्जेको
आम बेरोजगारीमा खेल्छ
अभावले पिल्सिएर विदेशिने युवाको
रहरमा खेल्छ, बाध्यतामा खेल्छ।
गाउँ होस् या सहर
जीवनस्तर उकास्ने कुनै योजना हुँदैन
शिक्षा, स्वास्थ्य, रोजगारीका कार्यक्रम हुँदैन
पूर्वाधार, सुरक्षा, संस्कृति र कलाको
श्रृवृद्धिका लागि प्रतिबद्धता हुँदैन।
हारेपछि भन्छ-
जिताएको भए पो हुन्छ
जितेपछि भन्छ-
राज्यको नियमानुसार पो हुन्छ
उसले भनेर कहाँ हुन्छ!
उस्तै परे भनिदिनेछ-
उसले ठेक्का लिएको छ?
यसअघिका कसले देश बनाएको छ?
तर जे भए पनि, अहिले ऊ आउँछ
झिसमिसेमै आउँछ
साँझ अबेर पनि आउँछ
कहिले उही आउँछ
कहिले उस्तै अर्को आउँछ
परैदेखि दस औँली जोडेर नाता लगाउँछ
मानौँ घरका हरेकसँग उसको भावना र सम्मान छ
त्यति मात्रै कहाँ हो र!
घाँसको भारी, मेलाको हलोमा समेत
साथ दिई टोपल्न भ्याउँछ
फोटो, भिडिओ खिच्छ
सञ्जाल र मिडियामा चढाउँछ।
देश बनाउने होइन
आफू 'बन्ने' ध्याउन्नमा हिँडेको छ ऊ
त्यसरी जति हिँड्यो आजसम्म
त्यही नै उसको योग्यता भएको छ।
झ्यालबाहिर हेर्नुस् त
खादा, अबिरले सजिएर
हुलका हुल अविकास र पछौटेपनको नेतृत्व गर्दै
फेरि यसपालि
घर-घरमा, टोल-टोलमा दौडाहा छ
किनकि
यसपालि पनि उसलाई भोट चाहिएको छ।