बा
हजुरको त्यो अलिकति पीडा मैले सापटी लिन मिल्दैन र
मलाई याद छ म सानो छँदा मेरा सारा दु:ख अनि पीडा
हजुरले सुटुक्कै चोरेर लगिदिनुहुन्थ्यो
अनि आज मैले हजुरको थोरै पीडा सापटी माग्न पनि नपाउनु?
मैले आफ्नो भागको अंश मागिरहनु पर्छ र!
कुनै बाले आफ्नै छोरा प्रति यस्तो अन्याय गर्छ र?
बा
हजुरको सट्टा एकछिन म रोइदिन मिल्दैन र?
जिन्दगीभरि मेरा आँखाबाट आँसु चोरेर आफ्नो आँखा बाट बग्न दिने हजुरले
आज दुई थोपा आँसु मलाई दिन्नँ भन्न मिल्छ र?
आँसु लुकाएर मात्रै दु:ख पीडा टर्छ र!
कुनै बाले आफ्नै छोरा प्रति यस्तो अन्याय गर्छ र?
बा
हजुर किन ऐंया भन्नुहुन्न?
मलाई चोट लाग्दा सधैं हजुरलाई धेरै दुख्थ्यो
तर आज आफ्नै यत्रो पीडा लुकाएर किन मौन बसिरहनु हुन्छ
'मलाई यहाँ दुख्यो' भन्नुस् न बा, म मलम पट्टि गरिदिउँला
तर मुहारमा पीडा लुकाएर ओठमा हाँसो देखाउन मिल्छ र?
कुनै बाले आफ्नै छोरा प्रति यस्तो अन्याय गर्छ र?
बा
हजुर आजकल मलाई किन गाली गर्नु हुन्न?
यो गर त्यो गर, यस्तो गरिनस्, उस्तो गरिनस किन भन्नुहुन्न?
सधैं मलाई बाटो देखाइदिने हजुर
आज म बीच बाटोमा अलपत्र हुँदा पनि किन केही बोल्नुहुन्न
आफ्नो हातले समातेर किन मलाई जिन्दगीको गोरेटोमा डोर्याउनु हुन्न
के बासँग मैले यो सब सहयोग मागिरहनु पर्छ र!!
कुनै बाले आफ्नै छोरा प्रति यस्तो अन्याय गर्छ र?
बा
भलै हजुर आज 'पूरा' हामीसँग हुनुहुन्न
तर यो 'आधा' बा पनि त हाम्रो लागि सबथोक हो
बा पनि 'पूरा' र 'आधा' हुन्छ र?
बा त जस्तो भए पनि सन्तानको लागि सिंगो ब्रह्माण्ड हुन्छ
भलै हजुर बोलेर हाम्लाई जिन्दगीको अर्थ अर्थ्याउन सक्नुहुन्न
भलै उठेर हाम्लाई जिन्दगीको बाटोमा डोर्याउन सक्नुहुन्न
तर सधैं हामीसँगै डटेर बसिरहने अठोट त गर्न सक्नुहुन्छ
कहिल्यै हार नखाने कसम त खान सक्नुहुन्छ
के बाले आफ्नो सन्तानको यत्ति बिन्ती पनि नकार्छ र!!
कुनै बाले आफ्नै छोरा प्रति यस्तो अन्याय गर्छ र?