चेतना एकदिन जीवनबोधको विषयलाई लिएर गम्भीर चिन्तनमा थिइन्। हराइरहेको मानवताले निकै पीडा दिइरहेको थियो। कहिले कोभिड जस्तो महामारी त कहिले युद्धको पीडा।
विश्वले खेपिरहेको संक्रमण भयावह थियो। कहाँ रोकिनु र दु:खका आँसु? समाचार पनि कति डर लाग्दा आउँछन्। दूधे नानीदेखि हजुरआमासम्मका बलात्कारका घटनाले उनलाई मात्र दुखेको हैन पूरा मानवतामै प्रश्न उठेको थियो।
उनलाई मानिसको दु:खद अवस्थाबारे बढी नै चिन्ता भइरहेको थियो।
खट्पटाएर बस्नुभन्दा केही कतै यस विषयमा छलफल गरेर निकास निकाल्न मन थियो चेतनालाई। कहाँबाट सुरू गरौं? अन्योलमै एकदिन उनी एकान्तको सिलसिला मिलाएर जीवन दर्शनबोधका लागि पशुपतितिर लागिन्।
उनी घुम्दै घम्दै कैयन् लासहरूसम्म पुगिन्। उनले भटेका कति जिउँदा लास थिए, कति मृत। बाटाभरि भेटिएका जिउँदा लासहरूले सहयोगको आशामा आँखाबाट ध्वनिरहित बुलन्द आवाज दिइरहेका थिए, 'मलाई दु:ख नदेऊ, बाँच्न मन छ मलाई, बचाऊ! बचाऊ! अर्तनाद मनका मौन चित्कार आँखाबाट हृदयसम्म पुगे चेतनाका।
सभ्य भनिएको समाज तर यहाँ मानिस हातमा मोबाइल बोकेर बाटोमा पसारा परेका दु:खी शरीरका तस्बिर लिइरहेका थिए। दु:खी मन बोकेर यात्रालाई निरन्तर अघि बढाउँदै जाँदा चेतनाको यात्राले पशुपति आर्यघाटलाई केन्द्र बनायो।
लासहरू चितामा सजाइएका थिए। सबै चिताहरू एकैपटक उत्सव मनाए झैं झिलिमिली थिए। बाहिर किनारामा दागबत्ती दिने तयारीमा आफन्तहरू पीडासँगै अन्त्येष्टि गर्न हतार गर्दै थिए। कतिपय आफन्तहरू लासको तस्बिर लिइरहेका थिए। बागमती किनार कोलाहल थियो रूवाई र वेदना विलाप पोखिएर। उनलाई थोरै अन्योल भयो। के गरौं? यसरी घाटमा मानिसको अन्तिम बिदाइको तयारी हुँदैछ। जीवनबोध त मृत्युबाट हैन बाचुन्जेलको हरेक क्षणको चिन्तनले पो दिन्छ।
सायद, उनलाई आफू गलत ठाउँमा आइपुगेको अनुभूति भयो।
चेतनाले आफूलाई अघि आएको बाटो फर्काउन बिस्तारै लासहरूतर्फ एक नजर लगाइन्। अचम्म लाग्यो लासहरू मुस्कुराइरहेका थिए।
उनलाई लासको भाषा बुझेको आभाष भयो। एक अधवैंसे लास निकै हँसिलो र आकर्षक ढंगले मुस्कुराएको देखेर चेतनाले मनबाट संकेत गर्दै सुटुक्क सोधिन् , 'ए नानी! तिमी किन यति धेरै खुसी भएकी? चेतनाको जिज्ञासालाई सामना गर्न ती महिला लासले लासकै भाषामा अझ आकर्षण हाँसोमा भनिन्,'मलाई अब धेरै सुख मिल्ने छ। म अब पटक/पटक नांगिनु पर्ने छैन भरतवंशको सभामा कुलबधु पाञ्चाली नांगिए झैं।'
तत्काल अर्को चिताबाट उनलाई अर्को लासले सङ्केत गर्यो, कानैमा कराए झैं रन्कियो एउटा पुरूष आवाज।
आवाज चिरपरिचित थियो तर उनले अनुहार ठम्याउन सकिनन्।
'चेतना नानी तपाईंले मेरो मृत्युको खबर पनि सुन्नुभयो?' लासले फेरि भन्यो 'कसरी चिन्नु हुन्छ र मलाई तपाईंले ? नानी तपाईंले म जीवित रहुन्जेल म हाँसेको पनि त देख्नु भएन।'
लासको यो प्रश्न र भनाइले चेतनाको मनमा हलचल भयो।
अरू सबै लासले उनीसँग केही कुरा राख्न खोजिरहेका थिए। कतै दूधे नानीका पीडादायी चित्कार थिए। सहन नसक्ने भक्कानो फुटिरहेथ्यो उनीभित्र। उनलाई त्यो बाल लास उठाएर काखमा लिन मन थियो तर यो कदापि सम्भव थिएन।
उनी केही बोल्न नसकी नानीको लासमा दुई थोपा आँसुले श्रद्धा व्यक्त गरिन्। उनको मौन संवादले मुस्कुराइरहेका लासहरूलाई मौन सम्बोधन गर्यो, 'तपाईंहरू किन यति धेरै खुसी देखिनुभएको? मलाई त मृत्यु मन पर्दैन।'
सबै अट्टाहास गरेर एकै स्वरमा हाँसे। घाट गुञ्जियो लासको हाँसोले मौन मौन चेतनाको मस्तिष्कभरि। उनीहरू एकै स्वरमा चेतनालाई बताइरहे, 'जिउँदो लास बनाएर पलपल जलाउने मेरा पृथ्वीका सबै प्रियजनहरू आज निकै उत्साहित भएर मेरो गुणगानसहित हार्दिक श्रद्धाञ्जली लेख्न हतारिँदै छन्। उनीहरूले मलाई जिउँदो लास बनाएर जिउन कठिन गरिदिए तर बाचुन्जेल एकपटक जीवन जिउन कहाँनिर अप्ठ्यारो छ? मेरो केही सहयोग चाहिन्छ ? भनेर सोध्ने हिम्मत गरेनन्।
कहिल्यै जीवनलाई बोध गर्न नसक्ने समाजमा हाँसेर बाँच्न कहाँ सकिनेछ रहेछ र चेतना नानी? आज मेरो मृत्युपश्चात गोहीका आँसुमा अक्षर पोतेर हतार छ 'हार्दिक श्रद्धाञ्जली' लेख्न उनैलाई। हेर्नुस् न, कोही तस्बिर लिँदैछन्।कोही खोज्दैछन् ग्यालरीको कुनामा कतै मसँग टाँसिएर उभिएको फोटो।'