सुदूरपश्चिमको दुर्गम गाउँमा बिर्खे घाँस दाउरा बटुल्दै गर्दाको अवस्थामा भेटिन्छ। सूर्यास्त भइसकेर झमक्कै साँझ परिसकेको थियो तर अझै पनि बिर्खे घाँस दाउराकै जोहो गर्दै थियो।
घरदेखि ल्याएको दुई मुठी मकै र अलिकति भट्ट पनि दिउँसै सकिसकेको थियो। भोक र थकानले गलेको बिर्खे एक भारी दाउरा र दाउरामाथि एक मुठा घाँस बोकेर अन्धकारमा मेसो नपाउँदा नपाउँदै पनि घरसम्म पुग्न सफल भयो।
उता छोरा घर आइपुग्न ढिला भएर चिन्तित बसेकी बिर्खेकी आमा बिर्खेलाई देख्नासाथ मलिन रहिरहेको अनुहारमा थोरै चमक थपेर 'कता थिस्, किन ढिलो गरिस्, बाटोमा केही भयो र?' जस्ता ५-६ वटा प्रश्न एकैपटक गर्छिन्।
केहीबेर आमा र छोराको भलाकुसारीपश्चात छोरा निकै भोकाएको थाहा पाउँछिन् अनि भान्छादेखि १ गिलास मोही र मकै ल्याएर छोरोलाई दिन्छिन्।
अब सुरू हुन्छन्, सामान्य शिक्षा हासिल गर्न समेत बिर्खेले गर्नुपरेका संघर्षका कथा।
बिर्खेको घरबाट गाउँ नजिक भनिएको विद्यालय पनि ३ घण्टाको दूरीमा पर्थ्यो।
ठ्याक्कै ३ घण्टाको यात्रा गरेपछि बिर्खे गाउँबाट नजिक भनिएको सरकारी विद्यालय पुग्थ्यो।
बिर्खेसँग विद्यालय पुग्नका लागि मात्र गरेका संघर्षका थुप्रै कथा छन्। खाली खुट्टा विद्यालय पुग्न संघर्ष गरिरहेका बिर्खेका पैतालाले कति वटा काँडाको सामना गर्नुपर्यो हिसाब रहेन!
कहिले पसिनाले निथ्रुक्क भिजेर विद्यालय पुग्थ्यो त कहिले झरी र हुरीको सामना गर्दै।
बिर्खे एकदमै पढ्न रूचाउने, लगनशील अनि परिश्रमी विद्यार्थी थियो।
भविष्यमा के बन्छु, के बन्नुपर्छ उसलाई थाहा थिएन तर यति ज्ञान थियो कि निरन्तर लगनशील भएर पढियो भने उसले भोगिरहेका दुःखका दिनहरू ऊदेखि टाढा-टाढा जानेछन्, उसकी आमाले एक सरो नयाँ लुगा, पैतालामा चप्पल र मीठो खान पाउनेछिन्।
दुःख, सुख, गाह्रो साँगुरोसँग खेल्दै हुर्किएको बिर्खेले आफ्नै गाउँको सरकारी विद्यालयबाट एसएलसी उत्तीर्ण गर्यो। हर्ष र उमंगको कुनै सीमा नै थिएन। गाउँमा उच्च शिक्षाको व्यवस्था नभएकोले नचाहँदा नचाहँदै पनि सहर हानिनुपर्यो।
बिर्खेको घरको पिँढीदेखि पारि गाउँको सुन्दर डाँडा सर्लक्कै देखिन्थ्यो। बिर्खेकी आमा र बिर्खे सँगै पिँढी छेउमा बसेर पारिको सुन्दर डाँडा हेर्दै भलाकुसारी गर्दै थिए। त्यत्तिकैमा बिर्खेकी आमा रसाएको आँखा लिँदै बिर्खेको कपाल सुम्सुमाउँदै बिर्खेलाई 'अब त, तँ पनि सहर छिर्ने भइस्। धेरै भन्न, सिकाउन, अराउन त जानेकी छैन तर पनि छोरा नराम्रो संगत नगर्नू, आफू जे कामको लागि भनेर गाको हो त्योबाहेक अन्त ध्यान नदिनू' भन्दै छोरोको हौसला बढाउन खोज्छिन्।
सुदूरपश्चिमको कुना कन्दरा गाउँबाट सहरसम्म आइपुग्न त्यति सजिलो पनि त थिएन।
दुइटा पुराना अनि कतै कतै टालेका झोलामा बिर्खेले आफूसँग भएका २-४ जोर लुगा, बाटामा खानका लागि आमाले तयार पारिदिएकी खाजा पोको पारेर तयार हुन्छ।
बिर्खेका झोलाहरू हलुका थिए, थोरै थिए तर बिर्खेले आफ्ना लागि, परिवारका लागि र सम्पूर्ण गाउँवासीका लागि देखेका सपना भने निकै गह्रुंगो, ठूला अनि ताराजस्तै चम्किएका थिए। आमाको आशीर्वाद लिएर, टीका लगाएर आँखाभरि सपना सजाएर आँखा रसाउँदै आमासँग बिदा भएर बिर्खे सहरतर्फ प्रस्थान हुन्छ।
देशभरिका जिल्लाबाट आफ्नो सपना साकार पार्ने हेतुले हजारौंको सङ्ख्यामा युवाहरू नेपालको राजधानी नेपालको एक महत्वपूर्ण सहर काठमाडौं भित्रिने गर्छन्। तिनै हजारौंको भिडमा एक पात्र बिर्खे पनि हो।
सुरूका दिनहरूमा बिर्खेलाई सहरमा संघर्ष गर्न साह्रै नै कठिन भयो। उसलाई आफ्नो प्यारो गाउँको सम्झना निकै धेरै आउने गर्थ्यो। वनपाखामा, डाँडाकाँडामा रमाउँदै हिँडेका दिनहरू बिर्खेको आँखा अगाडि झल्झल्ती आउने गर्थे। ढोकाको छेउमा उभिएर टोलाउँदै ऊ विमल दाङ्गीको गीत गुन्गुनाउँथ्यो।
फापरको पीठो पठाइदेऊ आमा यहाँको चामल साह्रै नै महंगो...
आपतै परे सहयोग गर्ने आफन्त कोही छैन
तिर्खा नै लागे प्यास मेटाउने मकै र मोही छैन...
गीत गाउँदा गाउँदै कति खेर उसका आँखाबाट आँसुका धारा बररर खस्थे उसले मेसै पाउँदैनथ्यो।
गाउँघरमा पनि खेती किसानी गर्दै हुर्किएको बिर्खेले आफ्नो भविष्य पनि कृषि पढाइमार्फत् नै उज्ज्वल बनाउने अठोट गर्यो। बिर्खे विद्यालय आउने जाने गर्न थाल्यो। उसले नयाँ/नयाँ कुरा पढ्ने र सिक्ने गर्न थाल्यो। तर केही समयपछि उसका साथीहरूले पश्चिमबाट आएको बिर्खेको भाषा, लवज, लुगा, खानपान आदि इत्यादि माथि टीकाटिप्पणी गर्न थाले। बिर्खेलाई साह्रै नै नमज्जा लाग्यो।
बाहिर आफ्नाबारे जेजस्ता टीका टिप्पणी भएता पनि बिर्खेले आफ्नो पढाइप्रति मेहनत गर्न र लगनशील हुन छोडेको थिएन।
विस्तारै अब बिर्खेको पहिलो संक्रान्तको परीक्षा आउने बेला पनि त भयो। बिर्खेले परीक्षा दियो। केही दिनमा नतिजा पनि निस्कियो तर अपसोच दूरदराजमा रहेको सरकारी विद्यालयमा संघर्ष गर्दै, लड्दै, उठ्दै, उक्लँदै गरेको बिर्खेले पहिलो पल्ट अंग्रेजी माध्यमबाट दिएको परीक्षा उत्तीर्ण गर्न सकेन। बिचरा बिर्खे निकै निरास भयो।
त्यसपछि त उसका साथीहरूले उसलाई झन् बढी खिस्याउन थाले।
'ओई ओई!! बिर्खेलाई त अंग्रेजी लेख्न पनि नआउने रैछ....बोल्न त झन् कत्ति पनि नआउने रैछ। यसलाई त मःम, पिज्जा भनेको पनि थाहा रैनछ। चप्पल त यही आएर लगाएको रे' भन्दै बिर्खेलाई जिस्काउँथे अनि बिर्खेलाई मानसिक रूपमा झन् बढी कमजोर बनाउँथे।
घाँस दाउरा, भेडा बाख्रा, वन पाखासँग खेलेर भिजेर आएको बिर्खेले, घाँस दाउराकैबारे अंग्रेजीमा सोधिएको प्रश्न हल गर्न सकेन अनि ऊ अनुत्तीर्ण भयो।
यसो हुँदा के बिर्खे वास्तवमै अनुत्तीर्ण भएको हो त?
अनि कहिल्यै घाँस दाउरा नदेखेका, वास्तवमा कृषि के हो भन्ने नबुझेका उनका साथीहरू चाहिँ साँच्चिनै उत्तीर्ण भएका हुन्?
बिर्खे र साथीहरूबीच रहेको असमान प्रणालीको फाइदा उठाउँदै बिर्खेलाई खिस्याउनु, हतोत्साहित गर्नु, खिस्सी गर्नु कत्तिको उपयुक्त हो?
उसका साथीहरू वास्तवमै एक असल सामाजिक प्राणी बन्न सके त? सहरमा सुख सुविधामा हुर्किएका उसका साथीहरूले बिर्खेको त्यो दूरदराजमा रहेको गाउँमा बिजुली बत्ती, बाटो घाटो समेत नपुगेको गाउँमा बिर्खेले जस्तै हाँसी हाँसी संघर्ष गर्न सक्लान् त?
पक्कै पनि सक्दैनन्! अनि कसले दियो तिनीहरूलाई बिर्खेलाई खिस्याउने अधिकार, बिर्खेलाई हतोत्साहित गर्ने, बिर्खेलाई कमजोर महसुस गराउने अधिकार?
सुन्नुहोस् न! सतहमा नभई डुबुल्की मारेर जिन्दगीको अनुभव गरेको, जिन्दगीबारे बुझेको बिर्खेले यति चाँडै हार मान्यो होला र ? अहँ! पक्कै पनि छैन।
बिर्खे त आफ्नो आमाको अनुहारमा चमक ल्याउन, उज्यालो छर्न सहर छिरेको मान्छे पो त! आफ्ना साथीले जिस्काउँदैमा, हतोत्साहित गराउँदैमा कहाँ सजिलै हार मान्छ र?
समय बित्दै गयो, समयसँगै बिर्खेले झन् धेरै संघर्ष गर्दै गयो। आँखामा सपना सजाएर, त्यो सपना जसरी पनि पूरा गर्ने अठोट गर्यो।
अहिले बिर्खे सहर पसेको पनि करिब करिब १० वर्ष पुग्न लागिसक्यो।
हजुरहरूलाई थाहा छ ? अचेल बिर्खे के गर्दैछ?
ऊ त अहिले वरिष्ठ कृषि प्रशिक्षक भएको छ नि। कृषि क्षेत्रमा आबद्ध व्यक्तित्वहरूले बिर्खेलाई नचिन्ने सायद कम नै होलान्। महिनामा १ पटक पश्चिम पुगेर आफ्ना गाउँका मान्छेहरूलाई पनि प्रशिक्षण दिने गर्छ। गाउँले पनि निकै मुहार फेरिसक्यो। बिर्खेकी आमालाई गाउँमा सबैले सम्मान गर्छन्।
बिर्खेकी आमा कहिले गाउँ बस्छिन् त कहिले छोरासँगै सहरमा बस्छिन्।
अनि नि.. बिर्खे काठमाडौंमा नै रहेको प्रचलित इन्स्टिच्युटमा अंग्रेजी भाषा पनि पढाउँछ। उसका विद्यार्थीहरू अरू शिक्षकले पढाएको भन्दा बिर्खेले पढाएको मज्जाले बुझ्छन्।
कहिलेकाहीँ काठमाडौंको त्यो भीडभाडले भरिएको गल्लीमा बिर्खेलाई कलेज पढ्दा खिस्याउने उसका साथीहरू ठोकिन्छन्।
उनीहरू बिर्खे जी नमस्कार, आराम हुनुहुन्छ जस्ता प्रश्नहरू गर्छन्।
प्रश्न सोध्दै गर्दा पश्चातापको चित्र उनीहरूको मुहारमा छर्लंग देखिन्छ। सायद, दशकौंपछि भेट हुँदा पनि कलेज पढ्दा बिर्खेलाई खिस्याएको, जिस्काएको स्मरण ताजे रैछ क्यारे!
अहिले बिर्खे आफ्ना विद्यार्थी, सही साथी र सम्पूर्णका लागि निकै नै ठूलो प्रेरणाको पात्र बनेको छ। हामीले देखेको सपना कुनै पनि ठूलो अथवा कुनै पनि सानो कारणले मर्न दिनुहुँदैन भन्ने पाठ सिकाउँदै हिँड्छ। कुनै पनि भाषाले जिन्दगी बुझाउँदैन, जिन्दगी त भोगाइले बुझाउँछ भन्ने कुरामा बिर्खे पूर्ण विश्वास गर्छ।