बाह्रै मास तप्प-तप्प चुहिने त्यो पराले छानो। छानोबाट पानीका तरंगित थोपाहरूले चुलोको आगो निभाइदिने। आमा रातभरि बाल्टिन थाप्दै खन्याउने। आफू सुत्न नपाए पनि छोरो उठ्ला भनी नसुती बिताएका ती तिम्रा अनगिन्ती रातहरू।
जब बुझ्ने हुँदै थिएँ तब तिमीले सुनाएका व्यथाहरूमा डुबेर गहभरि आँसु पार्थेँ। सम्झना आउँछ, त्यतिबेला माथि आकाश तिर हेरेर मैले गरेका ती अधुरा वाचाहरू।
'चुहिएको खरको छानो फालेर टिन टल्काउँछु आमा, तिमी पिर नमान्नू तिम्रो यो छोराले तिम्रो ओठमा मुस्कान ल्याउनेछ' भन्दै आँगनमा दिनैपिच्छे फन्को मारी मारी भनेका ती कुराहरू।
'तिम्रा लागि दसैँमा नयाँ फरिया र चौबन्दी लगाएर मामाघर जाने हो आमा,' तिनै वाचाहरू सम्झेर रुँदी हौली।
'पैसा कमाएपछि पहिलो कमाईले तिमीलाई पावरवाला चस्मा ल्याइदिन्छु, फाटेका लुगा सिलाउँदा आँखा नदेखेर छेडिएका औँलाका टुप्पाहरू लिएर कति बस्छ्यौ आमै?' भनेका वाणीहरू पनि बिर्सियौ होला।
अनि मेरो नाममा तिमीले अधियामा लिएको मालीगाई पनि बुढी भई होली। अब त दूध दिन नि छोडी होला। त्यही दूध बेचेर घरधन्दा चलाउथ्यौ। त्यही मालीगाई नै थिई हाम्रा लागी पैसा कमाउने अभिभावक, चाडबाडमा खुसी ल्याइदिने, स्कुलको पैसा तिरिदिने आमा पनि, बुवा पनि।
कसले किन्देला अब तिमीलाई फरिया र चौबन्दी? कसले हाल्देला टिनको छानो? अब त मेरो बाटो पनि हेर्नै छोड्यौ होला। कठै! मेरी आमा। न चिठी न कुनै खबर, आशै मार्यौ होला, मेरा लागि फेर्ने सासै मारेऊ होला।
फाटेको चोली बाह्र ठाउँ सिलाएर वर्षौं लगाउने मेरी आमा, मलाई हरेक दसैँमा दूध बेचेको पैसा बचाएर नयाँ सर्ट र पाइन्ट किनिदिन्थ्यौ। तिमीले त खुट्टामा एक जोर चप्पल पनि कहिल्यै लाउन पाइनौ।
बिहेमा बा-आमाले किन्देको गुन्यू जति फाटेनी लाउन छोड्दिनथ्यौ। माथिल्लो घरे ठूल्दाई कपडा सिलाउने काम गर्ने हुन्थ्यो, कपडा काटेर बचेका टुक्रा ल्याएर गुन्यू टाली टाली माइतीको चिनो भनेर लाउथ्यौ। आखिर गर्थ्यौ पनि के? नयाँ लाउने तिम्रो भाग्यै रैनछ त आमै।
'तँलाई पढाउन सके सुख पाइन्छ कि, नयाँ गुन्यू र एक जोर चप्पल किनिदिन्थिस् कि' भन्दै कामधन्दा सकेपछि टुकी बालेर म पढुन्जेल कहिले बाती काट्थ्य्यौ त कहिले जातोमा मकै पिसेर साथी बसिदिन्थ्यौँ। अनि कहिले गजेराको पिर्का बनाइदिन्थ्यौ
मेरा लागि कति दुःख गरेकी रैछेउ नि तिमीले! आफ्ना खुसी र चाहनाहरूलाई तुहाएकी रैछ्यौ आमै, तिमी त भगवानभन्दा पनि माथि छ्यौ मेरा लागि।
पल्ला घरे साहुकोमा मासु पकाएको दिन दैलोमा बसेर घुटुघुटु थुक निलेर बस्दा ठूला साहुले 'ए! के हेरेको दैलोबाट? भाग् गधा' भनि कराउँदा मलाई तानेर आलीको डिलमा बसी पछ्यौरीले मेरो आँसु पुछ्दै 'दसैँमा तँलाई पनि मासु पकाइदिउँला' भनेकी थियौ।
'धेरै पढेस् है बाबु, पढेपछि मात्र राम्रो काम पाइन्छ। त्यसपछि बल्ल सुख पाइन्छ तैँले कमाएपछि' भन्दै काँधमा टाउको राखेर मैले देखुँलाकी भनेर शीरमा बाँधेको पछ्यौरीको छेउले हतार-हतार आँसु पुछेकी थियौ।
न त तिमीले पूरा गर्न सक्यौ वाचा न त मैले पूरा गर्न सकेँ तिमीलाई दिएको वचन। अब त सक्दिनौ एक जोर नयाँ चप्पल र गुन्यू लाउने सपना पूरा गर्न। गरिब भएर सपना देख्नु नै पाप रैछ। सपना पूरा गर्दिने आशा देखाएर घात गर्नेहरू लाइन लागेर बसेका हुँदा रहेछन्।
गरिबलाई जे गरे नि बोल्दिने को हुन्छ र? साथ त तिनै पैसावालाहरूलाई नै दिन्छन् यहाँ। आखिर उनीहरू नै काम लाग्छन्। गरिबले त कसको मद्दत गर्न सक्छन् र? के नै हुन्छ र? एक छाक आँटो टार्न पनि मेलापात गरेर, दूध बेचेर गुजारा चल्छ।
मुखियाको छोराले लगाएको दौरा सुरूवाल र अस्टकोट मलाई पनि चाहिएर दुई दिनसम्म भात नखाँदा दसैँमा दूध बेचेको पैसाले किन्दिने वाचा गरेकी थियौ आमै। त्यो पनि पूरा हुनै नपाई डाँडा काट्नु पर्यो तिम्रो यो छोराले।
घर पछाडि बाले रोपेको आँपको बुटोमुनि बसेर आँसु झार्दै हौली छोरो सम्झेर। छोरो फर्काइदेऊ भन्दै देवीथानमा फूल चढाउँदी हौली।
म पनि तिमीलाई सम्झेर दिन बिताउँदै छु आमै। तिम्रा एक जोर नयाँ लुगा लाउने, चुहिएको छानो टिनले चम्काउने सपना पूरा गर्न त खै के गरुँला र? बस् तिम्रा काखमा बसेर तिम्रा हातले पकाएको सिस्नोको तरकारीसँगै मकैको ढिडो खान मन छ।
घर पछाडिको आँपको रूखमुनि बसेर मकै-चिया खाँदै बा यस्तो गर्थे, उस्तो गर्थे भन्थ्यौ। बाको अनुभव गरेर आँसु फेरि झारेर बेस्मारी रुन मन छ, तिम्रै काखमा निदाउन मन छ। तिम्रो साह्रै याद आउँछ आमा।
अब त यो खाडीको जेलबाट म उम्किन सक्दिनँ आमा। कसले गरिदेला मेरा लागि सहयोग? मेरो आश मारे है आमा। तिमी बलियो हुनू। तिम्रा आँसुहरू त रुँदारुँदा बगरजस्तै रुखा भएका होलान्।
ऋण तिर्न नसक्दा यो बुढेसकालमा पनि साहुको घरमै काम गरिरहेकी हौली। तिमी त अभागी रैछेउ आमा। श्रीमान गुमायौ कलिलै उमेरमा, त्यसपछि घर चलाउन अरुकै खेतबारीमा काम गरेर बितायौ सारा जिन्दगी एकदिन त खुसी कसो नआउँला भन्दै।
तिमीलाई खुसी दिने आशमा खाडी हिँडेको म यतै फसाइदिए बैगुनीहरूले। आमा, यो जेलबाट मात्र तिमीलाई सम्झेर रुन्छु। तिम्रो मायाले मुटु फुट्ला जस्तो हुन्छ, छाती चिरा पर्छ। मलाई अब तिम्रो काखमा बस्न पाए पुग्छ आमा, अरु केही चाहिँदैन। तिम्रो धेरै याद आउँछ आमा। मलाई तिम्रो धेरै याद आउँछ।