तँ कस्तो साथी होस् यार!
न त तेरो 'गूड मर्निङ' बाट नै मेरो दिन सुरु हुन्छ
न त तेरो गूड नाइट' विशले नै म निदाउँछु
तर बिहान बहिनी सहेलीहरूसँगै
स्कुल गएको देख्दा तँलाई सम्झिन्छु
अनि बेलुका भाइका साथीहरू झगडा गर्दै
घर फर्केको देख्दा तँलाई सम्झिन्छु।
तँ कस्तो साथी होस् यार
न त तैँले मेरो कहिल्यै तारिफ नै गरिस्
न त मैले कहिल्यै प्रशंसा नै गरेँ
तर कतै मह-जोडीको तस्बिर देख्दा पहिला तँलाई सम्झिन्छु।
तँ कस्तो साथी होस् यार
न त तँसँग छिनछिनमे च्याट हुन्छ
न त दिनदिनै कल नै
तर कहिलेकाहीँ तेरो नामको फोन आउँदा रिङटोन नै बेग्लै मिठो सुन्छु
जति लामो समयपछि हाम्रो बोली मिसिए पनि
तैँले कहिल्यै भन्दैनस् कि मलाई त बिर्सिस् भनेर
किनकि तँलाई थाहा छ
मैले कहिल्यै तँलाई सम्झिन भुलेकी हुन्न
अन्तिम परीक्षाको अन्तिम दिनको त्यो अन्तिम घडीमा
सर्टभरि लेखिएको अनगिन्ती विशहरूको करिब-करिब अन्त्यतिर
जब तेरो नाम देख्छु
थाहा छैन किन हो यी ओठ आफै मुस्कुराउँछन्
थाहा छैन तँ कुन दर्जाको साथी होस्
तर
कसैको 'बेस्ट फ्रेन्ड फरेभर' क्याप्सन देख्दा तँलाई सम्झिन्छु
थाहा छैन तँलाई कुन उपनामले बोलाउँ
तर
तैँले राख्दिएको उपनामले मलाई
अरु कसैले नबोलाए हुन्थ्यो जस्तो लाग्छ
मेरा यी अक्षरहरू तेरो आँखासम्म पुग्दा थाहा छैन
तँलाई बिझाउँछन् या भिजाउँछन्
थाहा छैन मेरा यी शब्दहरूले तेरो शान्त मनभित्र
छाएको सन्नाटामा के परिवर्तन ल्याउँछ
तर यार
तँ मेरो साथीभन्दा माथिको साथी होस्
तँ मेरो दिन अनि रातिको साथी होस्
तँ मेरो अंगालो अनि लात्तीको साथी होस्
तँ मेरो छाया अनि छातीको साथी होस्
तँ मेरो अँध्यारो अनि बत्तीको साथी होस्
यार, तँ मेरो साथीभन्दा माथिको साथी होस्।