म अविरल बहन्छु
विचारका छहराहरूमा
म अविच्छिन्न छचल्किन्छु
ती वाचाल पहराहरूमा
मेरो वेगले अस्तित्वका चट्टानहरूमा
निरन्तर प्रसव पीडा दिइरहन्छन्
जहाँ चेतन-दृष्टिका बोधगम्य लहराहरू प्रस्फुटित भैरन्छन्
जहाँ युग जन्माउने चेष्टाहरू उद्भव भैरहन्छन्।
सपनाको उडान भर्दै
कल्पनालाई आकार दिन हिँडेको
म
तिम्रो विचार-यन्त्रमा
हरियाली परियोजना ल्याउने
ग्रान्ड डिजाइनमा मस्त रहको बेला
मेरा दुई किनारमा बसेर
मलाई बन्धक बनाउने तिम्रा प्रयासहरू
मेरो एक रौद्र झलकमा
निष्काम, निष्फल हुन्छन्।
मलाई बग्नबाट रोक्ने
तिम्रा तमाम प्रयासहरू
तिम्रो ढोंग
तिम्रो अहम्
तिम्रो आत्मरति
तिम्रो लाचारी
तिमी तिमी हुनुका सब गुणहरू
चिर्दै, भत्काउँदै र टुक्राउँदै
म अघि बढेपछि बढेँ, बढेँ
तिम्रो आलाप विलापले मलाई छुन्न।
म प्रश्न हुँ
म बगेपछि बगेँ बगेँ
निरन्तर, निरन्तर
आफ्नै तालमा, आफ्नै सुरमा
मेरो यात्राको त्यो अनन्त महासागर छुन।