यो सहरमा
प्रत्येक चुनावमा सहरको रूप फेर्ने कुरा गरिन्छ
लहडहरू आइरहन्छन् चुनाव सँग-सँगै
ती मान्छेहरु प्रत्येक चुनावमा अब ब्युँझन खोजेको नाटक गर्छन्
र फेरि भन्छन्, यो सहरको रूप फेर्नु छ।
मैले साँच्चीकै उनीहरूलाई पत्याएको मलाई सम्झना छैन
कयौँ पटक पत्याएको छुइन
यो पटक पनि पत्याउने कुरै छैन
उनीहरूले हजारौँ पटकभन्दा
मैले दसौँ पटक पनि पत्याएको छैन।
खासमा म यो सहरको बासिन्दा बनिरहँदा
उनीहरूको रूप फेर्ने कुरा हरेक चुनावमा सुनेको हुँ
म नै सहर हुँ भन्ने उनीहरूको दम्भलाई
उनीहरूको जितपछि कयौँ पटक पढेको र देखेको हुँ
खै! उनीहरू के सोच्थे कुन्नी?
लाज भने मलाई बढी लाग्थ्यो
आखिर तीन दशक नै बितेछ मेरा
यो सानो सहरको रूप फेर्ने कुरा सुनेर।
यसपालि पनि उनीहरू फेरि भन्न आउँदैछन् रे
यो सहरको रूप फेर्नु छ
उक्लँदो यो बुढेसकालमा म के कति पत्यायौ अब?
बरू, समस्या त मलाई यो मानेमा पर्दैछ कि
भर्खर हाइस्कुल पढ्दै गरेका मेरा छोरा र छोरीले यदि सोधिहाले भने
उनीहरूलाई म निराश बनाउँ कि झुट बोलौँ?
अथवा
म मौन रहौँ।