तेरै लागि उसले मातृभूमि छोड्यो
तेरै लागि उसले सब नाता तोड्यो
तातो मरुभूमिमा अंग-अंग पग्लिँदै
कदमै पिच्छे फसेको उसको जीवनको
मूल्य चुका अब
रक्तबाहिनी नलीभित्र
कठ्याङ्ग्रिने शून्य डिग्रीमा
बगेको चिसो रगतको
ऋण पनि पाई, पाई फुका अब।
ए लालस!
तैँ होइनस्
उसलाई हरदिन मार्ने?
तैँ होइनस्
उसका हरेक रात जगाउने?
उसलाई हरेक पल
रुआउने नि तैँ होइनस्?
अरे ओ अभिलाषा!
छाडिदे तेरा आशाका महल
कल्पनाका महङ्गा गाडी
अनि
तिलस्मीका हिरा, जुवारत
ऊ त्यही सानो झोपडी भित्र
हाँस्न सक्छ
जूनको न्यानोपनमा लुट्पुटिँदै
आरामले फुसुक्क निदाउन सक्छ
सूर्यको किरणको लालीसँगै
रोमान्चित भई ब्युँझिन सक्छ
हरियाली वातावरणमा
निश्चिन्त श्वास फेर्न सक्छ।
भो महत्त्वाकाङ्क्षा!
धेरै उसलाई उचाल्न बन्द गरिदे
उसका गोडाहरू छोडिदे
सपनाको पोखरीमा नडुबा
तेरा स्वर्णिम जालमा पनि नफसा
उसलाई आफैमा रम्न दे
खेल्न दे'
स्वतन्त्रतमा उसलाई झुल्न दे
सजग जीवनको मिठासमा
उसलाई जिउन दे
हिजोआज कस्तो छौ तिमी सोध्दा
मुसुक्क हाँसेर, उसका हृदयले नै
'म खुसी छु' भन्न दे
अन्तर्मनबाटै उसका
हाँस फुट्न दे।