एक घण्टा भैसक्यो ममा छट्पटी छाएको। मेरा रक्तनलीमा रगतको प्रवाहको गति बढेको समय नि निकै भइसक्यो। भित्रबाट केही खबर आउँदैन। म पर्खिरहेछु, कसैको जवाफ सुन्नलाई।
अश्वमेधीको मुखबाट मलाई जवाफ सुन्नुथियो। भलै मैले इसारा गरेको उनले बुझेकी होलिन् या नहोलिन्। कलेजभरिका साथीहरूले बुझिसकेका छन्, अश्वमेधीका लागि सुहाउँदो लकिर केटो मैँ हुँ।
कलेजमा दिनभरि उनलाई नियाल्नु, घर पुगेर फोनमा उनको तस्बिरलाई नियाल्नु। यी दुई मेरा लागि दैनिकी नै भइसकेका थिए। उनी कलेज आउने, नआउने म अघिल्लो दिन नै पत्तो लगाउँथेँ। उनलाई पनि केही न केही मेरो मनको चाल पत्तो हुनैपर्ने हो, आखिर उनका ल्याब फाइल र रिपोर्टहरू म बाइन्डिङ गरी मज्जाको बनाएर उनकै हातमा थमाइदिन्थेँ।
क्यान्टिनमा उनको पछिदेखि क्वारेन्टाइनमा उनको गोटीको पछि। क्या! रमाइलो समय थियो त्यो बेला, उनीसँग दिनभरि लुडोमा झुमिन्थ्यो। उनका गोटी नकाट्दा नि खुसी छुट्टै मिल्थ्यो। उनले जितेपछि देखाउने शानमा पनि अपरिचित आफ्नै नाम देख्थेँ।
क्यान्टिनका दाइले पनि चाल पाइसक्थ्या थिए, म के गर्दै थिएँ भनेर। बेलाबेला उनलाई एक्स्ट्रा खाजाको बन्दोबस्त गरिदिएको उनलाई जानकारी नि नहोला। तर जुनकिरीले अश्वमेधीलाई त्यो खाजा कसले स्पोन्सर गरेको थियो पक्का सुनाएकी होली।
यत्तिकैमा ब्याचलरको एक वर्ष अश्वमेधीलाई सँगै राखेर ब्याचलर पार्टी गराउने तुनाबुना बुन्दाबुन्दै गयो। प्रेमको बुट्यानलाई मैले मलजल गरिरहन्थेँ। आखिर लक्ष्य त एउटै थियो, कि उनको मनमा भित्रीने, कि त उनलाई आफ्नो घरमा भित्र्याउने।
समयसँगै मेरो एक्लौटी प्रेमले पनि बेलाबेला मोड लिन्थ्यो। उनको पछाडि रोजिनले मेरो नाम लेखेको कागज टाँसिदिएको बेला बहुत रिसाएकी थिइन् उनी। मलाई सम्बन्ध जोगाउन त्यतै नै परेको थियो। बल्ल-बल्ल फकाएँ, त्यो कुकर्ममा मेरो केही हात थिएन भनेर।
आखिर मनमा नाम लेखाउने चाहना बोकेको मान्छेले उनको पछिल्तिर आफ्नो नाम टाँग्दै किन हिँड्थ्यो होला र? टाँग्नै परे पनि उनीसँगको विवाहका तोरन र फ्लेक्स टाँगिन्थ्यो नि। त्यसपछि सम्बन्ध सुमधुर नै रह्यो। मसँग पनि खुब जिस्किन्थिन् उनी।
'अकबरी सुनलाई कसी लाउन पर्दैन' यही उखानलाई सेरोफेरोमा राखेर मैले उनलाई समय दिँदै सम्बन्धलाई खुला बग्न दिइरहेँ। आखिर हाम्रो सम्बन्ध पनि सुनको मोलभन्दा कम्ता कहाँ हो र? अझ सपनाको त झन कुनै मोल नै हुन्न। उनलाई आफ्नो बनाइछाड्ने सपनाको मोलको त कुरै आएन।
आज क्लासको एक पिरियड सक्किन लागिसक्यो, अश्वमेधी आउँदिनन्। उनी नआउँदा यो मनमा उत्साह आउँदैन। उनलाई थाहा छ अब मेरो इलाज र मेरो पागल पनको औषधि उनी नै हुन्। मन खिन्न भैसक्यो मेरो। मलिन छ अनुहार।
ग्रेनेसले सोध्यो, 'के हो दाइ, आज भाउजू बिदामा हुनुहुन्छ?'
म झसङ्ग भएँ, हिजो त उनले नआउनुपर्ने कारण केही बताएकी थिइनन् त। फेरि किन आज उनी कलेज योबेलासम्म नआएकी? मेरो शरीरबाट खलखली पसिना बगिरहेको थियो। सायद तनाव र बाहिर सूर्य जो तेज दुवैको प्रभाव उत्तिकै हुनुपर्छ।
आफूलाई मन परेको मान्छे आफ्नो नयनको परिधिभित्र नदेख्दा असह्य हुनेरहेछ। म हत्तपत्त कलेजको गेटतिर निस्किएँ। चोकसम्म चिहाएर हेरेँ, आधा किलोमिटर पर भिड जम्मा भएको देखेँ। म दगुर्दै त्यहाँ पुगेँ, मेरो होस् रहेन।
अघिको तेजिलो सूर्य अब ब्रह्माण्डमा खसेर विध्वंश गरिसकेको छ। त्यसको चोट कति गहिरो होला, म गहिराई कुनै यन्त्रले नाप्न सक्दिनँ। हत्तपत्त मेरो मुखबाट, 'मेरी अश्वमेधी के भयो तिमीलाई?' भन्ने शब्द फुत्किहालेछ।
'हेर, कलिली केटीलाई बाइकले छुसुक्क हानेर कुलेलाल ठोक्यो नि बाइकवाला,' त्यो भिडमा कसैले बोलिरहेथ्यो।
अश्वमेधीको अचेत अवस्था देखेर म आत्तिरहेको थिएँ। मस्तिष्कले केही काम गर्न सकिरहेको थिएन। यत्तिकैमा अस्ती अंकलले मलाई आफ्नो हस्पिटलको एम्बुलेन्स ड्राइभरको फोन नम्बर दिनुभएको थियो। हतारमा त्यो फोन नम्बर खोज्न नि निक्कै समय लागे झैँ भइरहेथ्यो मलाई। पाँच मिनेटमै एम्बुलेन्स आइपुग्यो र हस्पिटल लिएर गयौँ। उनलाई इमर्जेन्सी कक्षामा भित्र राखिएको छ।
एक घण्टा भैसक्यो ममा छटपटी छाएको। मेरा रक्तनलीमा रगतको प्रवाहको गति बढेको समय नि निकै भइसक्यो। भित्रबाट केही खबर आउँदैन। म पर्खिरहेछु, कसैको जवाफ सुन्नलाई। एक खुसीको खबर। बेहोसीमा रहेको मलाई होसको खबर। कुर्दा कुर्दा म भित्रभित्रै गलेको छु, सेकिएको छु, अनेकौँ तापले अनेकौँ रापले।
यो प्रेमको रापताप साह्रै असहनशील हुनेरहेछ। अश्वमेधीको त्यो हालतमा मेरो हालत बेहाल भएको छ। अब मैले फेरि अश्वमेधीलाई कलेजमा कहिले देख्न पाउने हो? उनी मुस्कुराएको मुहार हेरेर, मनमा उर्जा भर्ने कहिलेबाट हो? अनेकौँ प्रश्न छन्, तर जवाफ दिने इमर्जेन्सी कक्षबाट कोही निस्किएको छैन।
आशाको किरणको प्रतीक्षा गर्दागर्दै सूर्यास्त हुने समय हुन लागिसक्यो। उनको आमाबुबा पनि हस्पिटलमा आइपुगिसक्नु भएछ। मैले अश्वमेधीको मुस्कुराएको मुहार हेर्न पर्खिएको दुई घण्टा भएपछि भित्रबाट नर्स आउनु भयो।
'उहाँलाई होस् आएको छ, भित्र गएर भेट्न सक्नुहुनेछ।'
म सोझै जान सकिनँ। किनकि मैले त केही वर्षयता हो उनलाई प्रेम गरेको। उनको जन्मदेखि नै उनलाई प्रेम गर्ने बुबाआमाको झन् कस्तो हाल होला? मैले अकंलआन्टीलाई भित्र जान भनेँ।
केही बेरपछि उहाँहरू आउनु भयो। अनुहार मलिन, अनेकौँ बोझका रेखाहरू निधारमा स्पष्ट उत्रिएका थिए। म झट्टपट्ट भित्र पस्दा अश्वमेधीले बोलिन्, 'अभियांश!'
मेरो होस् अघि नै उडेको थियो, अब म पनि उडिरहेको छु। ती आवाजहरू मेरा कानमा पर्नासाथ मेरा सपनाहरू पानीको बाफहरूजस्तै उडेर माथि जाँदै सेलाउन थालेँ। म स्तब्ध थिएँ। रोकिएँ, मनलाई हडबडाउन नदिई बोलेँ, 'अश्वमेधी कस्तो छ अहिले तिमीलाई? अभियांश आउँदैछ है। तिमीलाई भेट्नका लागि कलेजका अरु साथीहरू नि आउँदैछन्।'
अभियांश मेरो घर नजिकैको साथी हो र कलेजको क्लासमेट पनि। म त्यहाँबाट बाहिर निस्किएँ। बाहिर निस्किएर आयो म भित्रको प्रेमको क्रोध पनि। कसैलाई प्रेम गरेर भन्न नसक्नुको पीडा, कसैलाई चोट पुर्याउनुभन्दा गहिरो हुने रहेछ। उनले पनि त कहिल्यै इसारा गरिन्। गरिनन् मैले उनलाई जिस्क्याउँदा कुनै प्रतिकार।
म अघिसम्म उनको शीघ्र अवस्थाको कुरुवा थिएँ। हस्पिटलमा केवल एक घाइते बिरामीको कुरुवा। यतिबेला सब पर्यो सत्यका वाणी मेरो कानमा, म फेरि कुरुवा बन्न पुगेको छु- अश्वमेधीलाई आफ्नो जीवनमा ल्याउन पछि परेको कुरुवा। अर्थात् अश्वमेधीको साथ कुरुवा।
अघिसम्म म खुसीको खबर कुरेर बसेँ, खासमा दुःखको महासागर मलाई कुरेर बसेको रहेछ। थाहा छैन कतिऔँ माइल पछिको यात्रामा उनी मेरो सहयात्री हुने मौका मैले पाउनेछु र यो पनि थाहा छैन कि उनले कहिले चाल पाउँछिन् चोकदेखि एम्बुलेन्स हुँदै म हस्पिटलमा उनका लागि कुरुवा बसेको र बसेको यत्तिका वर्ष उनको प्रेम कुरेर।
अनेकौँ भावनाहरू सहितको कुरुवा।