जति नै भिड भए पनि मनमा छुट्टै किसिमको शान्ति मिल्छ भन्दै सदाजसो पशुपति जाने ऊ आज केही फरक देखिएकी छे। अनुहारमा पोखिन नसकेको दुःख, आँखामा बग्न नसकेका आँसु, मुखमा गाउन नसकेका बेदना प्रस्ट देख्न सकिन्छ।
पशुपति घुमेर सँगै घर फर्किने उसको सहयात्री आज घर फर्किँदैन, ऊ सदाका लागि आज बिदा गर्न आएकी छे।
'परिवारको इच्छा त्यही मात्र हो भने म विवाह गर्न तयार छु' भनी विवाह भएको पनि आज करिब छ महिना पुग्न लाग्यो। छोरी २५ कटेपछि घरमा राख्न हाम्रो समाजले दिँदैन, समाजको डरले नै भए पनि छोरी पठाउनु पर्ने बाध्यता हुन्छ।
लोकसेवा लडेर सरकारी जागिर खाने सपना पन्छाउँदै म विवाह गर्न तयार भएँ। मलाई हेर्न आउने दिन पनि तय भइसकेको थियो। देखाएको फोटो हेर्दै नहेरी दराजमाथि थन्काएकी म कुरा ल्याउने मान्छेले गरेको तारिफको आधारमा कल्पना गर्न सक्थेँ उसको बनावट। कल्पनालाई म अन्तिम रुप भने दिन चाहान्न थिएँ।
कति बेला नाक ठूलो बनाउँथेँ त कति बेला दारी। म उसलाई मेरो सोचाइअनुसार राम्रो बनाउन सक्थेँ, आफ्नै सोचाइअनुसार केही खोट लगाउन सक्थेँ। अक्सर केटाहरूलाई मनमस्तिष्क दुवैबाट नाई भन्ने म, तर अहिले अन्तरद्वन्द्व चलिरहेको छ, मनले नाई भन्छ त मस्तिष्कले हुन्छ। त्यसैले होला म उसलाई सोचाइमा दौडाउन सक्थेँ तर प्रेम गर्न सकिनँ।
केही पारिवारिक गफपछि हामीलाई एकान्तमा गफ गर्न पठाइयो। दुवै चुप थियौँ, सायद दुवैलाई कुरा कहाँबाट सुरु गर्ने भन्ने बारे ज्ञान थिएन। केहीछिनको मौनता तोड्दै उसले पहिलो वाक्यमै प्रस्ताव राख्यो, 'पाँच मिनेटको कुराले हामी हाम्रो बारे जान्न सक्दैनौँ, चाहन्छौ भने केही समय लिग।'
'उसले मलाई खुसी राख्छ कि राख्दैन? कस्तो छ? के छ? सबै जानेर बिहे गर्न म चाहदिनँ, केही आफ्ना सपना म पाखा लगाउँछु त केही जोखिम उठाउन तयार रहनू' मनबाट निस्किएका यी शब्दहरू मुखबाट बाहिर निस्कन सकेनन्।
फेरि केहीछिन मौनता छायो, मौनता थियो त केबल बाहिरी रुपमा।
'तिमीले जिन्दगीमा प्रेम गरिनौ?' मौनता फेरि उसैले तोड्यो।
'नाई, अनि तपाईंले?'
मेरो प्रश्नलाई छेउ लगाउँदै उसले फेरि सोध्यो, 'प्रेमदेखि डर लाग्छ हो?'
'म आफैलाई प्रेम गर्न नसकेकी मान्छे हुँ, अपूरो प्रेम कसैलाई गर्न चाहिनँ।'
जवाफ सुनी ऊ केही बेर फेरि मौन रह्यो। मैले आफ्नो प्रश्न दोहोर्याएँ, 'तपाईंले प्रेम गर्नु भएन?'
जवाफमा उसले प्रेम गरेको सुनायो।
मैले फेरि सोधेँ, 'पहिलो प्रेमलाई के गर्नु भयो त नि?'
'समयले हामीलाई साथ दिएन, केही विचार फरक परे त केही सपना, मैले उसलाई बुझाउन सकिनँ, उसले मलाई बुझ्न सकिनँ यत्तिकैमा सकियो प्रेम।'
जवाफसँगै उसले फेरि प्रश्न राख्यो, 'आजभन्दा अगाडि केटा माग्न आएनन्?'
'आए।'
'विवाह किन गरिनौ?'
'मनले मानेन, माग्न नआउँदै म नाई भन्ने गर्थें।'
'अनि अहिले?' उसले फेरि सोध्यो।
'मस्तिष्कले जित्यो अहिले।'
'विवाह गर्न चाह छैन?'
'म सपनाको चिहान बनाउन सक्दिनँ।'
'तिम्रो सपना मेरो पनि सपना होलान् नि बिहेपछि।'
सोचेँ, स्वतन्त्र रहने सपना कहिले पनि हाम्रा हुँदैनन्। भनेँ, 'एकल सपनामा कहिले पनि सर्वनाम जोडिँदैन।'
'म तिम्रा सपनाको सम्मान गर्छु।'
'गर्ने भए हामी आज यहाँ हुने थिएनौँ।'
'म तिम्रो जवाफलाई कुर्नेछु, तिमी आफै सोचेर विवाहको जवाफ दिनू।'
'दुनियाँ हतारको छ, जवाफ कुरेर बस्दाबस्दै लतारिनु भयो भने?'
ऊ जवाफविहीन थियो, मैले नै भनेँ, 'त्यो दोष म लिन सक्दिनँ, हजुर आफै सोचेर जवाफ दिनू।'
बाहिर निस्किएर परिवारको सामुन्ने म मुस्कुराएँ मात्र।
उताबाट जवाफ केही आएको थिएन, घर सबै अन्योलमै हुनुहुन्थ्यो दुई दिनपछि म कामले काठमाडौँ हिँडेँ। एक साँझ आरती हेर्न भनी बेलुकी तिर पशुपति पुगेकी थिएँ। मोबाइलले म्यासेजको घण्टी बजायो,
'धेरै सोचेँ मैले, दुवै परिवारको खुसी मलाई निकै महत्वपूर्ण लाग्यो, मैले हुन्छ भनिदिएँ। सायद तिम्रो परिवारलाई पनि यो कुरा थाहा भइसक्यो होला, तर म तिमीले सोचेभन्दा केही फरक हुनेछु।'
मेरा आशाभन्दा केही परको जवाफ पाएँ मैले, परिवारको सामु हारिसकेकी म आज उसले पनि हराइदियो। आरतीतिर भन्दा पनि घाट तिर जलिरहेको त्यो लासलाई हेर्दै मेरो स्वतन्त्रता प्रेमी मन डराउँदै थियो। त्यतिकैमा मोबाइलले घण्टी बजायो,
'अर्को महिनाको एक गते नै बिहेको लगन जुर्यो, त्यता के-के काम हो तेरो? सबै सक्काएर छिटो आइज।'
अक्सर घर बाहिर पढ्ने छोराछोरीलाई घरबाट आउने फोनकल प्यारो हुनेगर्छ, तर आज त्यसो भएन। साथीलाई सुनाएँ, उसले दिन गन्न थाली, 'सत्र दिन मात्र बाँकी रहेछ अब मिसबाट म्याडम हुन।' ठट्टा गरी उसले।
बिहे जति रहर लाग्दो हुन्छ त्यति नै डर लाग्दो पनि, एकल यात्री यसलाई भयानक भन्दिन्छन् त प्रेमी सौभाग्य। जीवनमा प्रेमको टुँसा पलाएर पनि म प्रेमिका हुन सकिनँ। त्यही पलाएका टुँसाहरूलाई निमोठ्दै थिएँ, पण्डितका मन्त्रहरूले।
हरेक कुरामा वादी र प्रतिवादी हुने मन मस्तिष्कलाई एकै ठाउँ ल्याउँदै थिएँ। मण्डपमा गरिएका सम्पूर्ण कार्यहरूले। अमिलो खानेभन्दा देख्नेले अनुमान लगाउँछ, यो कत्तिको अमिलो होला। मेरो छेउमा बसेको मान्छेभन्दा ऊसँग आएका मान्छेहरूले तौल गर्दै थिए मेरो सौन्दर्यताको, उसलाई म अहिलेसम्म आफ्नो श्रीमान भन्न सकिनँ, सिन्दुर नलाउँदासम्म केटा र केटीलाई श्रीमानश्रीमती भन्न हाम्रो समाजले मान्दैन पनि।
मेरो खाली सिउँदो सजायो उसले, मलाई श्रीमती बनायो। मेरो स्वतन्त्रतालाई अपहरण गर्यो। अपहरणको प्रत्यक्षदर्शी भइरहेका मानिसहरू ताली बजाउँदै थिए। साँच्चै 'यी मेरा आफ्नै मान्छे हुन् त?' मनले प्रश्न गर्यो आफैसँग, यदि हुन् भने सिन्दुर हाल्दाहाल्दै रोक्ने थिए उसलाई, अपहरित बन्न दिने थिएनन्, बहस गर्ने थिए मेरा स्वतन्त्रताको पक्षमा।
आशीर्वाद लिने बेला भयो, तर म मण्डप बसेबाट नै आशीर्वाद लिँदै थिएँ। चार तिर गाडिएका ती केराले आफ्नो जीवन त्यागेर मलाई आशीर्वाद दिँदै थिए। सायद भन्दै थिए, 'नानी, तिमी अडिक हुनु, मलाई जस्तै ढाल्न सक्छन्, काट्न सक्छन् र प्रयोग गर्न सक्छन् अरु कुनै प्रयोजनमा, त्यस्ता मान्छेको कमि हुने छैन।'
ती साना दाउराले पनि आफू जलेर मलाई आशीर्वाद दिँदै थिएँ, सायद हीनता बोध गर्दै थिए। बिदाइ गर्ने बेला भयो, जुत्ताको मोलमा दिदी बेच्न चाहेनन् बहिनीहरूले। भिनाजुको जुत्ता लुकाएबापत मेरा बहिनीहरूले एक रुपैयाँ पनि नलिने सुनाए। दिदी बिदा गर्न लागेर होला हिजोसम्म सबै मैले सिकाउनु पर्नेले आज यत्रो निर्णय लिगे। अब त घर उनीहरूले नै सम्हाल्नु पर्ने छ तर कहिलेसम्म?
कसैले छेउबाट बोलाएर भन्यो, 'सम्हाल आफूले आफूलाई।' अगाडि आगो खुसी हुँदै दन्किँदै थियो, तर ती जल्ने दाउरा खुसी थिएनन्, निराश देखिन्थे। कसैको खुसी जल्दा खुसी हुने भनेका त मानिस मात्र रहेछन्, दुखी त यहाँ निर्जीव वस्तु पनि हुने रहेछन्।
मस्तिष्कले गरेको निर्णयलाई मेरो मनले पनि सम्मान गर्नुपर्ने छ, प्रेम गर्नु पर्ने छ अर्थात् मैले अब मेरो श्रीमानलाई प्रेम गर्नु पर्नेछ। दिउँसो त्यो भिडमा कोहीको कमि भएको महसुस मैले गरिरहेकी थिएँ। सुहागरात के-के भयो यो शरीर मात्र जान्दछ, मन मस्तिष्कले त्यही कमि मात्र सोचिरह्यो।
त्यहाँ कोही उपस्थित भएर पनि अनुपस्थित थियो। जसको उपस्थिति म त्यहाँ चाहान्थेँ त्यो त्यहाँ थिएन। मेरो प्रिय साथी, मिल्ने साथी जसलाई म अलिकति भए पनि प्रेम गर्थें, त्यो प्रेमभन्दा माथिको भएको महसुस गरी प्रेमलाई पालुवामै सीमित राखेँ, जसलाई प्रेमको बारे जनाउन चाहिनँ।
केटा र केटी मिल्ने साथी भएको समाजले अझै पनि स्वीकार्दैन त्यो साथीत्वलाई, अन्तरजातीय प्रेम बनाउन सकिनँ। साथीत्व पनि सकिने डरले बोलेर पनि नबोलेकी म आज आभास गरेँ, हाम्रो साथीत्व मेरो विवाहसँगै सकियो।
दोस्रो दिन श्रीमानले मसँग मुस्कुराउँदै भनेका थिए 'तिमी तिम्रो सपनालाई पाखा नलगाउनू, म तिमीलाई त्यही दिनबाट प्रेम गर्न थालेको थिएँ जुन दिन तिम्रो तस्बिर पहिलो पटक देखेँ। म तिमीलाई गुमाउन चाहिनँ।'
मेरो श्रीमानले मलाई प्रेम गर्थे, मेरो मस्तिष्कले मेरो श्रीमानलाई चाहन्थ्यो। मैले अब त्यस्तो व्यक्तिलाई प्रेम गर्नुपर्छ जसले मेरो सौन्दर्यतालाई प्रेम गरेको थियो। म उसलाई सोध्न चाहान्थेँ, 'तपाईंले मेरो सौन्दर्यतालाई मात्र प्रेम गर्नु भयो कि मलाई पनि?'
विवाह जीवनको एउटा त्यस्तो मोड हो जहाँबाट हामी पुरानो बाटोमा फर्किन सक्दैनौँ। जीवनमा एउटा मात्र सपना हुँदैन, जीवन एउटा मात्र सपनाको लागि होइन पनि। म उसलाई प्रेम गर्न थालेँ त्यही क्षणबाट।
स्वतन्त्रताका सपनालाई अपहरण गरी ल्याएको बदलामा उसले केही संयुक्त सपना देखायो। नारीलाई उसको श्रीमानले मात्र प्रेम गर्यो भने पनि परिवारले केही गर्न सक्दैन। तर परिवारले मलाई बुहारी नै हुन दिएनन्, म छोरी नै रहेँ। विवाहलाई लिएर मनमा अड्किएका सोचहरू पराजय भएका थिए।
एकदिन बेलुकी पाँच बजे तिर फोन बज्यो, 'साधना, आज पशुपति आरती हेर्न जाने, तयार भएर बस म आउँदै छु।'
विवाह पछि यो पहिलो त्यस्तो क्षण थियो जहाँ हामी परिवारभन्दा केही पर थियौँ।
पशुपति पुगेर हिँड्दै गर्दा उसले मलाई सोध्यो, 'खुसी छौ तिमी?'
मुस्कुराउँदै जवाफ दिएँ, 'आफै सोच्नुहोस्।'
ऊ मुस्कुरायो मात्र, सायद बुझ्न सकेन म के भन्न चाहिरहेकी थिएँ।
'तपाईं मलाई प्रेम गर्नुहुन्छ?' मैले पश्न गरेँ।
'शंका छ?'
'छैन, तर म जवाफ सुन्न चाहान्छु।'
'तिमीलाई कसैले प्रेम नगरी बस्न सक्दैन।'
'त्यो त सौन्दर्यता तर्फको आकर्षण मात्र हो।'
'आकर्षणलाई प्रेम भन्न सकिँदैन नि।'
मैले मेरो प्रश्नहरूको जवाफ त पाइनँ तर मन भने सोचले भरियो।
यहाँ हामी श्रीमान-श्रीमतीभन्दा पनि एकअर्काका आत्मीय साथी थियौँ। उसको सामु म खुला किताब थिएँ, केही फरक हुनेछु भनेको ऊ खुला आकाश बन्न खोज्दै थियो।
'साधना' उसको आवाजमा मलाई यो शब्द निकै प्यारो लाग्यो।
'हजुर।'
'तिम्रो जिन्दगीमा मिल्ने साथी थिएनन्?'
'थिए केही, समयले टाढा गरायो, किन?'
उसले सायद मेरो 'किन' सुनेन, मैले ऊतर्फ हेरेँ। उसका आँखा भरिएका थिए।
'के भयो तपाईंलाई?' मैले पुनः प्रश्न गरेँ।
'हैन, केही भएको छैन,' उसले झुट बोल्यो।
घाट अगाडिको केही सिँढी उक्लेर हामी एक ठाउँमा बस्यौँ। मेरा काँधले उसको शीरको आभास गर्यो। उसका आखाबाट आँसु बगेको महसुस मैले गरेँ। म चाहान्थेँ ऊ आफैले भनोस्, म के सोचिरहेको छु।
उसका आँखाका आँसु पुछिदिएँ मैले। मेरो गालामा चुम्बन गर्दै उसले भन्न थाल्यो, 'साधना, मेरो जीवनको पहिलो प्रेम पशुपतिबाट नै सुरु भयो र पशुपतिमै सकियो पनि। त्यसपछि र त्यसअघि मैले जीवनमा आत्मीय कोही भएनन्। प्रेम पनि आत्मीयता नभएर नै छुट्यो, सायद! घर परिवारमा बिहे गरिदिने कुरा चल्यो, थुप्रै केटीका कुरा पनि आए, तस्बिरहरू देखाइए तर म जे चाहान्थेँ त्यो तस्बिरमा नै भेट्दिन थिएँ। त्यसैले सबैलाई नाई नै भनेँ।
तर तिम्रो तस्बिर हेर्दा नै मेरो मनमा आशा पलायो। त्यही दिनदेखि म तिमीलाई प्रेम गर्न थालेँ। तिम्रो त्यो दिनको जवाफहरूले मलाई केही समय अन्योलमा राख्यो। सोचेँ जिन्दगीमा तिमीजस्तो पाउन लेखेको छैन। अन्तिममा तिमीले आफै सोच्नु भन्यौ, जीवनको सबैभन्दा प्यारो क्षण त्यही थियो मलाई।
साधना, मलाई लाग्छ मैले श्रीमती मात्र पाएको छैन, आत्मीय मित्र पनि पाएको छु। मान्छे सफलताको सिँढी चढिरहँदा असफलतामा फर्किने बाटो बिर्संदै जान्छ। जीवनमा एउटा त्यस्तो क्षण थियो जहाँ म मृत्युप्रति मात्र मोहित थिएँ। तिमी आएदेखि म जीवनसँग प्रेम गर्न थालेको छु। तिम्रो आगमनले मेरो जीवनलाई सार्थकता दिएको छ।
सायद यो मेरो मात्र कुरा होइन, एक्लोपनको शिकार भएकाहरूलाई तिमीजस्तै कोहीको आगमनले जिउने आधार दिएको हुन्छ। लक्ष्य नदेखिनु लक्ष्य नहुनु होइन, तिमी आएपछि नदेखिएका ती लक्ष्यहरूलाई मैले देख्न थालेको छु। तिम्रो आगमनको म जिन्दगी भर आभारी हुनेछु। कसैको फगत एउटा उपस्थितिले जीवनलाई कति मूल्यवान बनाइदिन्छ भन्ने कुरा आज मैले बुझेको छु।'
त्यसपछिका दिनहरूमा पशुपति जानु हाम्रो दैनिकी नै बनेको थियो। उसले हिजो मात्र भनेको थियो, 'जीवनमा तिमीलाई पाउनु नै म कतिसम्म भाग्यमानी छु भन्ने कुराको प्रमाण हो।'
दुवैले भविष्यका योजनाहरू बनाएका थियौँ। म छोरी भएँ, बुहारी भएँ, प्रेमिका भएँ, श्रीमती भएँ तर आमा हुने सपनालाई केही पछि सारेका थियौँ। छोराछोरी बिनाको श्रीमान-श्रीमतीको सम्बन्धलाई समाजमा अपूर्ण भन्ने चलन पनि छ तर समाज बुझ्दैन कि जीवनको पूर्णता भनेको मृत्यु मात्र हो।
दिउँसो करिब एक बजे तिर मोबाइलमा घण्टी बज्यो। सेभ नगरेको भए पनि परिचित नम्बरबाट नै फोन आएको थाहा पाएँ। अक्सर श्रीमानको फोनमा आइरहने त्यो फोन आज मेरोमा आएको थियो।
'भाउजू!' उठाउने बित्तिकै उताबाट आत्तिएको आवाज आयो। म बोल्न नपाउँदै ऊ नै बोल्यो, 'विकास दुर्घटनामा परेर हस्पिटल लगेका छौँ, तपाईं तुरुन्त आउनु पर्यो।'
त्यसपछि मेरो मोबाइल कति पटक बज्यो त्यो मोबाइल नै जान्दछ। हस्पिटलको गेटमै मैले थुप्रै परिचित अनुहारहरू देखेँ। आकस्मिक कक्षसम्म पुग्दा मेरो मनले के-के सोच्यो त्यो ईश्वर नै जान्दछ, यत्ति थाहा छ अन्तिम सोच थियो 'केही अनर्थ हुँदैछ'। मृत्युसँग लडिरहेको विकासले अन्तिम वाक्य बोल्यो- 'साधना, मलाई माफ गरिदिनू।'
'साधना!' केही परिचित आवाजले मलाई बोलायो। मैले आँखा खोल्दा त्यहाँ त्यस्तो आकृति थियो जसलाई म बिहेपछि पहिलो पटक देख्दै थिएँ। मेरो बाल्यकालदेखिको साथी, जो नैतिकताले मात्र मेरो विवाहमा आएको थियो। ऊसँग अंगालो बाँधेर रुन मन लाग्यो, भन्न मन लाग्यो 'तेरो साथीका सपना र खुसीहरू बारम्बार पशुपतिमै पोलिए।'
तर चुरा र पोतेले नारीलाई निकै ठूलो बन्धक बनाएको हुने रैछ। आज फोरिएका चुराले पनि मलाई मेरो जीवनको पहिलो प्रेम, मेरो साथीत्वसँग रुन दिएको छैन।
ऊ केही भन्न चाहान्थ्यो तर सकिरहेको थिएन। अन्तिम पटक देख्दा श्रृङ्गारमा सजिएकी साधनालाई आज त्यस्तो अवस्थामा देख्दा उचित शब्द नभेटेपछि ऊ मौन नै बस्यो। पछाडि खाली ठाउँमा गएर बसी ऊ केही सोच्दै थियो। यत्तिकैमा कसैले सोध्यो, 'सर, तपाईंको नाम?'
'किन होला?'
'उपस्थित सम्पूर्णको नाम टिप्दै छौँ, त्यसैले।'
'नाम विदिप।'
'अनि फोन नम्बर?'
'म साधनाको दाइ हुँ, नाम मात्र भए पुग्ला।'
उनीहरू केही नबोली अर्को व्यक्तितर्फ लागे तर उसको मनमा भने दौडिरह्यो, 'म साधनाको दाइ हुँ!'
क्रमशः