'लौ न, विनोद दाइ पनि झर्नु भएछ! सारा गाउँ नै रित्तियो अब।'
मोबाइल चलाउँदै गर्नु भएकी आमा एक्कासी ठूलो स्वरमा कराउँदै खाटबाट उठ्नु भयो।
'के भयो?' मैले उता कोठाबाट सोधेँ।
'गाउँ त सबै रित्तियो। सबै घर खाली भए अब, एक बिहानै मनै खल्लो भयो' भन्दै आमा माथि कोठातिर लाग्नुभयो।
म न त बिनोद दाइलाई चिन्थेँ न त आमाको भाव नै बुझ्न सकेँ। के कुरा गर्नु भएको होला? होला केही सोचेर चुप लागेँ।
आमा त्यो दिनभरि खासै बोल्नु भएन। आमा खासै चुप बस्ने खाले हैन। यत्तिकै त बोलिराख्नु हुन्थ्यो आफ्नै कोठामा बसे नि तर त्यो दिन केही नि बोल्नु भएन। यो देखेर मलाई अचम्म लाग्नु अस्वभाविक थिएन।
'केही भाको हो र आमा? सन्चो छैन?' आमा बसेको कोठामै गएर सोधेँ।
'मन खल्लो छ, बाँकी त केही हैन,' आमाले म तिर हेरेर भन्नुभयो।
एकनासले हातको फोन हेर्दै टोलाइ बस्नुभएकी हाम्री आमाको फोन घन्टी बज्नसाथ ध्यान भंग भयो। पल्लाघरे काकीको फोन रैछ।
'ओहो! बिनोद दाइ त झरेछन् नि, अब को नै हुने भो र गाठे? खण्डर नै हुने भयो विस्तारै गाउँघर,' उताबाट आवाज आयो।
कुरा जान्ने उत्सुकताले होला म ठाडो कान पारेर सुन्न थालेँ, आखिर के रैछ कुरा!
'बिनोद दाइ थिए र लाग्थ्यो गाउँ भरिएको छ। अब त तिनी पनि झरे। राधे काका पनि चितवन तिर झर्ने रे, गाउँ नबस्ने रे। तल मनोजको घर पनि अस्ति मात्रै खाली भाको,' आन्टीले फेरि भन्नुभयो, 'त्यही त नि, अब त कोही रहेनन् है? बेसी त सबै खाली छ। अब त हाम्रो घर मात्र बाँकी रह्यो,' आमा झ्यालबाट बाहिर हेर्दै सुस्केरा हाल्दै हुनुहुन्थ्यो।
'तँलाई याद छ, सानो हुँदा पालैपालो सबैको बारीमा सुन्तला टिप्न जाँदा हामी कति जना हुन्थ्यौँ? खेताला जाने बेला होस् वा सानोतिनो काम पर्दा नै किन नहोस्, पूरै गाउँ एक भेला हुन्थे, अब त घर, बारी सबै खाली भयो। तेरो घरमा आमा र मेरो घरमा आमा-बुवाबाहेक कोही रहेनन्,' आन्टीले थप्दै जानुभयो।
'अस्ति बुवा बित्दा पनि बिनोद दाइले नै सबै कुरामा सहयोग गर्नु भयो र सजिलो भएको थियो। भाइलाई सहारा नै उहाँ हुनु हुन्थ्यो। केही पर्दा नि बिनोद दाइ छन् नि भन्ने थियो मनमा। अब को छ र खै?,' आमा मलिन स्वरमा यही भन्दै हुनुहुन्थ्यो।
अब मलाई याद आयो बिनोद दाइ को रैछन्।
हजुरबुवा बित्नु भएको लगभग एक वर्ष हुन लाग्यो। कोभिडको बेला गाउँमा कोही थिएनन्, मात्र बिनोद दाइ। हजुरआमा सधैँ बिरामी, केही गर्न नसक्ने। दाइले नै हेर्नुभयो सबै। मामाहरू विदेश। घरमा हुँदैन अब अस्पताल नै लग्नुपर्छ भनेर पनि बिनोद दाइले नै भन्नु भएको थियो। लग्दालग्दै बाटोमै ज्यान गयो हजुरबुवाको। घाटदेखि घरसम्मको सबै कुरामा एउटै सहारा थियो, बिनोद दाइ।
हाम्रोभन्दा तल अर्को घरमा पनि बुढा आमा-बुवा बस्नुहुन्छ। दुई जना छोराछोरी छन् तर सहरमा। कहिलेकाहीँ आउने नि समय छैन रे, उता कारोबारबाट बिदा नै हुन्न रे भन्छन्। केही महिनाअघि यसो घाँस काट्दा बुवाको खुट्टा चिप्लिए छ, लडिहाले। धन्न धेरै केही भएन। बुवालाई बोकेर माथि अस्पतालदेखि घरसम्म बिनोद दाइले पुर्याउनु भयो।
अब बल्ल सबै कुरा बुझ्न थालेँ मैले। बिनोद दाइ बस् एकजना थिए गाउँमा जसले सबै घर हेर्थे। सबै घरमा बुढा आमाबुवा मात्र छन्। छोराछोरी कोही सहरमा छन् त कोही विदेशमा। बिनोद दाइ चाहिँ गाउँमै छन्। कसैलाई केही चाहियो भने सबैको एक स्वर हुन्छ, बिनोद। कसैलाई केही दुःख परे नि साथ दिने बिनोद छ नि भन्छन्।
आमा अहिले त्यही सोच्दै हुनुहुन्छ। हजुरआमासँग छन् त त्यही मामाका दुई छोराछोरी जो ५/६ मा पढ्छन्। अरु कोही छैनन्। बारीदेखि पारिसम्म हरेक कामको लागि सबैलाई बिनोद नभई नहुने नाम। अब उप्रान्त कसलाई गुहार्ने? के गर्ने होला?
कुरा यहाँ बिनोद दाइमा सीमित थिएन। बिनोद दाइ त पात्र मात्र हुन्, कुरा त खासमा रित्तो गाउँको छ। त्यो मामाघर हामीलाई धेरै प्यारो थियो सानो हुँदा। हामी सानैदेखि सहरमा हुर्केको, दुई दिन बिदा हुँदा गाउँ जाने भन्दै तम्सिन्थ्यौँ।
घरको ठ्याक्कै माथि नदी छ। मलाई पानी खेल्न खुब रमाइलो, अझै पनि लाग्छ। खै किन? पानी देख्नसाथ मभित्र एक किसिमको तरंग बग्छ। अनि तलपट्टि ठूलो सुन्तलाको बारी, ती सुन्तलाको स्वाद भाटभटेनीको सुन्तलाले के मेट्थ्यो होला र!
त्योबेला मान्छेको कमी नै थिएन। आफ्नै मामाघरमा हजुरबुवा, आमा, मामाहरू सबै हुनु हुन्थ्यो। विस्तारै घर रित्तियो, घर गर्दा-गर्दै गाउँनै रित्तियो। ठूलो मामा विदेश लाग्नुभयो। परिवार ठूलो भयो गाउँको कमाईले घर धान्नै धौँ-धौँ पर्यो, केही सीप लागेन अनि जानुभयो।
त्यसैगरी कसैका काका, ठूलोबुबा, श्रीमान्, दाइ, भाइ, दिदी, भाउजू, आमा सबै लागे कि त सहर कि त विदेश। याद उहाँहरूलाई पनि आउँछ रे गाउँको, हरेक पटक फोन गर्दा सबैले यही भन्छन्। तर आखिर के नै छ र फर्किनलाई? अब नयाँ घर यही सहरमा बनाउनु पर्छ, फेरि बिरामी हुँदा जाने राम्रो अस्पताल नै छैन भनेर, न त पढ्नलाई गतिलो स्कुल।
सानो मामाले पनि गाउँ छोड्ने कारण यही थियो कि नानीबाबुलाई राम्रो स्कुलमा पढाउनु छ। सायद सबैले भनेजस्तै एउटा अस्पताल भएको भए आज हजुरबुबा पनि गाउँमा जीवितै हुनुहुन्थ्यो होला।
गाउँ छोड्ने सबैका आ-आफ्ना कारण थिए, कसैलाई परिवार धान्न गाह्रो थियो, कसैलाई औषधि उपचारको खाँचो, कसैलाई राम्रो पठनपाठनको खाँचो। जिम्मेवारी र बाध्यताले सपनाका ढोका खुल्दै थिए तर घरका ढोकामा भोटे ताल्चा लाग्दै थिए।
गाउँको बाटो पनि राम्रो छैन हाम्रोतिर, बर्खा बेलामा त गाडी नै चल्दैन। तल्ल घरे साईली भाउजूलाई व्यथाले च्याप्दा भोलिपल्ट बिहान मात्र आइपुग्यो एम्बुलेन्स। भगवानको कृपा नै मान्नु पर्छ, बच्चा र आमा दुवैलाई केही भएन। फेरि यस्तै हुन्छ कि भन्ने डरले गर्दा होला दाइले परिवार काठमाडौँ तिर लगे। उनी सेनामा जागिरे थिए। कुरा नराम्रो हैन, बाटोको समस्या अझै पनि सुध्रेको छैन। यहाँ कसैलाई कसैले बांगो आँखाले हेर्नु हुन्न।
'दिदी, आमाबुवालाई अब म नि यही ल्याउनु पर्ला,' उताबाट आन्टीको आवाज आयो अनि मेरो ध्यान फेरि फोनतिर गयो।
'बुवाआमा एक्लै छन्। कोही छैन हेर्ने। हेर्ने जति सबै गए। अब यही ल्याउँछु। दमका बिरामी छन् फेरि कति बेला के हुन्छ, गाह्रो भयो भने के गर्ने?'
मेरी आमा न पूर्ण सहमत हुन सक्नुभयो न नकार्न नै। बस टाउको मात्र हल्लाउनु भयो।
'ल त नि, अब त्यही बाँझा खेत र खण्डर भए नि हेर्न जानु पर्ला। माया लाग्छ आफू हुर्केको गाउँ-ठाउँ। ल राखेँ मैले, जति कुरा गर्यो त्यति न्याश्रो लाग्छ,' यो भन्दै फोन काटिन् आमाले।
यो सबै सुनेर मलाई त नराम्रो लाग्यो, आमालाई के भैराको होला सोचेर अलि नजिक गएँ अनि सोधेँ, 'गाउँ जाने हो त आमा? न्याश्रो लाग्दै छ हो?'
आमाले फोन छेउ राख्दै भन्नुभयो, 'के गर्नु त? नराम्रो त लागिहाल्छ नि। बिहे भयो, माइती छुट्यो। आफू जन्मेर हुर्केको त्यो गाउँ छुट्यो। तर पनि कहिलेकाहीँ जाँदा रमाइलो लाग्थ्यो। अब त केही छैन। सबैजना सहर आए हामीजस्तै। न आउनु पनि त कसरी, गाउँमा केही छैन। सुबिधाको नाममा वृद्धभत्ता बाहेक केही छैन। अब सायदै कोही फर्केलान् त्यो गाउँमा।'
म केही नबोली सुनिराखेँ।
'अब सबै घर खाली हुने भएपछि बुढी आमालाई नि यतै बोलाउनु पर्यो, एक्लै भएर आत्तिएरै मर्छिन्। भोलि भाइलाई फोन गरेर आमालाई सहर ल्याउने कुरा गर्नुपर्यो। औषधि पुर्याइदिने नि कोही हुन्न। यतै ठिक हुन्छ उहाँलाई, नानीबाबुहरूलाई नै यहीँ भर्ना गर्नुपर्छ, राम्रो स्कुल त पाउँछन्।
अब रित्तिएको गाउँघरमा एक्लै बस्नुभन्दा यो कोलाहल सहरमा आउनु नै राम्रो छ। सायद अब दसैँ वा कूल पूजा नै कुर्नपर्ला ती बाँझा खेत र खण्डरमा मानवी छाया पर्न। सुत् अब। भोलि पढ्न जानु छैन तँलाई? ढिला भैसक्यो। जाने बेलामा बत्ती निभाइदे है,' आमाले सिरक ओढेर भन्नुभयो।
बत्ती निभ्यो अनि त्यो बत्तीजस्तै निभ्दै गएका छन् गाउँघरमा फर्किने गाउँलेका आशहरू।