काठमाडौँको बसाइ हरेक दिन प्रतिकुल बन्दै थियो। हरक्षण सपनाका हुन्डरीले दिलभित्र बबण्डर मच्चाइरहन्थ्यो। प्लस-टु सकेर जसोतसो एउटा जागिर पाएको थिएँ। त्यही जागिरको भरमा आजसम्म गुजारा चलाएको छु।
मध्यम वर्गीय परिवारमा हुर्किएको हुनाले परिवारको व्यथा त एकातिर छँदै थियो, जिन्दगीले एउटा लय समाउन नसक्दाको छटपटीले अर्कोतिर पोल्थ्यो। आफूसँगै पढेका र हुर्किएका साथीहरू कोही विदेश पलायन भएर घरपरिवारमा खुसी छरिरहेछन् त कोही यतै व्यवसाय गरेर स्तर उकासिसकेका छन्।
मेरो परिवारमा न त लगानीको राम्रो वातावरण थियो न त उत्कृष्ट विचार। थियो त केबल सबैको चाहना माटोको घरलाई प्लास्टर लिप्ने।
जिन्दगीका अनेक मोडमा कयौँ पटक विदेश जाने इच्छा र रहर नभएका होइनन्। कति म्यानपावरलाई पासपोर्ट नबुझाएको पनि होइन। भाग्य उस्तो हो कि आफ्नो परिश्रम नपुगेको हो कुन्नी, कतैबाट सोचेजस्तो परिणाम आएन।
साँझपख घरको बार्दलीमा गई आकाश तिर घोरिएर एक्लै बस्छु। मेरा साथीहरूलाई उडाएको प्लेन दिनदिनै मेरै घर माथिको आकाशबाट उडेको देख्छु। त्यतिबेला मनमनै कल्पना गर्छु, आखिर कहिले आउला त मलाई लाने त्यो प्लेन?
आफूभित्र आफैलाई प्रश्न गर्थें र आफै अनुत्तरित भएर उदासीन मुख लिई कोठामा फर्कन्थेँ। त्यो बाहेक मसँग केही उपाय पनि त थिएन।
पचास हजार सहकारीबाट ॠण निकालेर बुवाले जोडिदिएको कोठाको सामान बाहेक अहिलेसम्म एउटा नयाँ चम्चा पनि फेर्न सकेको छैन मैले। माटोको घरलाई महल बनाउने सपना भने दिनको धेरै पटक देख्थेँ।
घरमा जाँदा 'तेरो फलानो साथीले यति कमायो, हाम्रो केही छैन। अब सिङ आउँदैन, जुरो पलाउँदैन' भन्ने बुवाको त्यो पेचिलो प्रहारले मुटु गाठो पर्थ्यो।
हुन पनि आफ्ना छोराछोरीको प्रगती हेर्ने रहर कुन बुवा-आमालाई हुँदैन र? धनमै मात्र प्रगती देख्नु पनि गलत हो भन्ने सोच्दथेँ मैले। बुवालाई सम्झाउने कोसिस गर्थें, 'पख्नु न बुवा कोसिस गर्दैछु, एकदिन अवश्य केही गर्छु, हाम्रो पनि दिन कसो नआउला।'
बुवालाई त भन्थेँ तर त्यो दिन आफ्नो जिन्दगीमा कहिले आउने हो, आफैलाई थाहा थिएन। यहीँ केही गर्ने विचार पनि आउँथ्यो तर सास फेर्दा पनि पैसा तिर्नुपर्ने काठमाडौँमा मसँग व्यवसायी बन्ने पैसा पो कहाँ थियो र?
चुनाब आएपिच्छे युवा रोजगार यही गर्छौं भन्नेहरू झण्डा हल्लाउँदै मेरो आँगनमा धेरै पटक आए। भोट नपाउन्जेल पाउ पर्नेहरू जितेको भोलिपल्टदेखि हामीलाई चिन्दैन थिए। बरू हाम्रो जिन्दगी बनाइदिने आश्वासन दिँदै भोट माग्न आउनेहरूले आफ्नो जिन्दगी पक्कै बनाए होलान्। मजस्ता भने जस्ताको त्यस्तै।
हामीजस्ता सावाँ अक्षर मात्रै चिनेका युवाको भविष्य कता? यो प्रश्नको उत्तर कसले दिन्छ? के सधैँ विदेशमा समाहित भएर पैसामा हामीले आफ्नो ज्यानको बाजी लगाउन पर्ने हो र? कतिन्जेल हाम्रो बली चढाएर नेतृत्वमा पुग्नेहरूले भोग खाने हो?
आखिर किन बुझ्दैन यो समाजले यतै भविष्य खोज्ने युवालाई? पैसा कमाउने छोरोछोरी चाहिँ मान्छे अनि पैसा नकमाउने चाहिँ कुनै इज्जत नभको मान्छे हो र? यी सबका उत्तर कसले दिन्छ?
जबसम्म प्राविधिक र उत्पादनमूलक व्यवहारिक शिक्षा लागु हुँदैन तबसम्म हामी युवा अन्धकारमै भविष्य खोजिरहनु पर्छ। यताउता भड्किरहनु पर्छ। केही गर्ने इच्छा हुँदाहुँदै पनि विदेशतिरकै बाटो समात्नु पर्छ। खोई कसले बुझिदिने हाम्रो समस्या?
घरमाथिबाट उड्ने प्लेनले झस्काउँछ बारम्बार। यसरी बार्दलीबाट मात्रै प्लेन उडेको हेरेर आफ्नो सपनाले त उडान भर्दैन। त्यसपछि सोच्न बाध्य हुन्थेँ- 'एक दिन त अवश्य गइन्छ इकोनमिक क्लासको त्यो झ्यालबाट कफी पिउँदै सगरमाथाको उचाइ अनि केचनाकवलको गहिराइ हेर्दै सररर...!'
सपना देख्दै छु, सायद अब त पूरा पनि होला कि।