खुसीका सिरेटाहरू पीडाका पहाडहरूमा
किन ठोकिँदैनन्?
म माथिको आकाशमा किन
आरामका बादलहरू तैरिँदैनन्?
के यति समथल होला र जीवन
जहाँ उराठकै भए पनि पतझड पुग्दैनन्?
हो सुनेँ मैले
अँध्यारो पछिको उज्यालो अरे
चिम्लनु पछिको बिउँझनु अरे
दुखाइ पछिको ओखती अरे
अनि
जीवन पछिको मोक्ष
मेरो प्रश्न त्यो अँध्यारोलाई
जसका सुस्केराहरूमा उज्यालो किन छ?
मेरो प्रश्न ती चिम्लनेहरूलाई
जसका परेलीहरूमा बिउँझने आश किन छ?
मेरो प्रश्न ती दुखाइहरूलाई
जसका आरामहरूमा ओखती किन छ?
अनि प्रश्न जीवनलाई
मोक्ष नै लक्ष्य हो भने
बाँच्नुमा किन यति मोह छ?
खै त यी सबैको अस्तित्व
कहाँ छ?