तिमी मेरो जीवनसाथी
जीवनको यात्राको सहयात्री
के होइनौ र हामी जीवन पथका समान सहभागी?
के होइनौ र हामी
एकअर्काका बराबरी?
जीवनको पथमा थाकेको बेला
हिँड्दाहिँड्दै लड्न लागेका बेला
मैले सहारा माग्ने तिमीसँगै
अनि तिमीले खोज्ने मेरै हात त होला
हाम्रो घरको आँगनीमा
फूल फूलाउनु पर्ने हामीले होइन र मिलिजुली?
मलाई दुख्दा, आँसु मेरो झर्दा
पुछिदिनु पर्ने होइन र तिमीले रुमाल झिकी?
तिमीलाई अप्ठ्यारो पर्दा
भन्नुपर्ने मैले नै होइन र म छु है भनि?
तिम्रो हाँसो मेरा लागि वसन्त
तिमी उदास हुँदा हुन्छ मेरो हर्षको अन्त्य
तिमी मेरो जीवनसाथी
के होइनौ र हामी एकअर्काका जिम्मेवारी?
तिम्रा आफन्तलाई मैले आफ्नो मान्दा
हर्षित हुन्छु मेरा आफ्नाहरुलाई तिमीले नि आफ्नो ठान्दा
संसार नै आफ्नो तिमीलाई मानेकी छु
जीवनको सार तिमीलाई नै ठानेकी छु।
मसँगै तिमीले आफ्ना मनका कुरा साटिदिँदा
सँगै हिँड्न भनि हात मेरो थामिदिँदा
इन्द्रेणी झैँ रंगिन बन्छ मेरो अस्तित्व
आत्मविश्वास अनि हर्षले चम्किन्छ मेरी व्यक्तित्व
तिमी मेरो जीवनसाथी
के होइन र तिम्रो खुसी मेरो हर्ष अनि मेरो हर्ष तिम्रो खुसी?