मेरा आँखामा अनगिन्ती सपना
म ननिदाई देखिरहन्छु
जो मलाई एक पल चैनले रहन दिँदैनन्
ती सपना उड्दैछन् बतास बनी
कहिले दायाँ, कहिले बायाँ
मलाई पलपल महसुस गराइरहन्छन्
छुटेर जाँदैछन् सपना अनि
टुटेर जाँदैछन् आशा भनेर
धमिलो यो परिवेशमा धुवाँ बनेर
यो मुटुमा असंख्य चाहना
म अनवरत चाहिरहन्छु
जो मलाई हरपल ढकढक्याइ रहन्छ्न्
मरेर जाँदैछन् कल्पना अनि
हारेर जाँदैछन् जाँगर भनेर
मैलो यो नियतिमा धुलो बनेर
यो मस्तिष्कमा अनेकौँ भावना
म हरदम कल्पिरहन्छु
जो मलाई झकझक्याइ रहन्छन्
उडेर जाँदैछन् सुस्केरा अनि
झरेर जाँदैछन् मुस्कान भनेर
रंगिन यो दुनियाँमा फिक्का बनेर
अनि म हँस्याङफस्याङ गर्दै उठ्छु
हिँड्छु र संगालेर ल्याउँछु
सारा सपना, कल्पना अनि
आशा र भरोसाका चाङ
जो मेरा चाहना पूर्तिका निम्ति लागिपरिरहन्छन्।