गाउँमा अनौठो सर आउनु भयो। उहाँको नाम रघु केसी। मान्छे दुब्लो-पातलो, चस्मा लगाउने, दाह्री चट्ट काट्ने। नयाँ सर भनेपछि सबैको नजर उहाँमा थियो। उहाँ माविको शिक्षक हुनुहुन्थ्यो तर पनि कक्षा १ देखि १० जहाँ खाली कक्षा छ त्यहाँ छिरेर पढाउने, मनोरञ्जन गराउने, कहीँ केही ज्ञान दिने, सिकाउने गर्नु हुन्थ्यो।
सुरुमा उहाँको आनीबानीले हेडसर रिसाउनु भयो। 'आफ्नो काम गर्नुस्, अनावश्यक हस्तक्षेप नगर्नू' भन्दै धेरै पटक विवाद भयो तर पनि नयाँ सर टसमस हुनु भएन। उहाँ नौ बजे स्कुल जानुहुन्थ्यो। १० बज्नुभन्दा पहिला आउने कमजोर र पढ्न चाहने सबै कक्षाका विद्यार्थीलाई सिकाउने गर्न थाल्नुभयो।
उहाँको विद्यार्थीमा धेरै सुधार आउन थाल्यो। उहाँको देखासिकी गर्दै अरु शिक्षक/शिक्षिकाहरू पनि बेलैमा आएर आफ्नो विषयमा सिकाउन थाले। साँझसम्म पढाउनु हुन्थ्यो। उहाँको पढाउने शैली निकै फरक थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म र मृत्य याद गर्न सिकाउनु पर्दा, यसरी सिकाउनु हुन्थ्यो-
जन्म १९६६, लक्ष्मी पूजाको दिन आमाले छोरीलाई माला उन्नु छ भन्नु भएको रैछ हतारमा। तर दिदीले ६ वटा सयपत्री ६ वटा मखामली उनिछिन्। त्यही भएर उन्नु छ भनेको बाट १९ सम्झिने ६, ६ वटा मखमली र सयपत्रीबाट ६६ गर्दा १९६६ सम्झिनू।
बितेको २०१६, यसको मतलब देवकोटा मर्ने बेला दई हजार पैसा थियो रे। उनका मलामीले सबै धन सम्पत्ति सोहोरेर आखिर हातको मयल हो भनेर जलाइदिनु भयो रे। दई हजारबाट साल र सोर्नुबाट सोह्र। यसरी २०१६ सम्झिने।
इंग्लिशमा महिना सम्झिँदा जनावरी- माघ, माघमा जनावर नकाटी तरुल फलफूल खाएर माघे सङ्क्राति मनाउने भएर जनावरी भएको ,फागुनको फबाट र फेब्रुअरीमा सुरु हुन्छ, मार्चको च मतलब चैत हो।
यसरी कयौँ सुत्रबाट सिकाउने गर्नुहुन्थ्यो। स्कुलका हरेक ठाउँमा, बोर्ड, भित्तामा विद्वानको हौसला दिने कुराहरू, नीति नियमका बोर्ड, विद्यार्थीलाई आफ्नै तरिकाले बनाउन लगाउनु भयो। कसैले काठमा काठकै अक्षरले, कसैले भित्तामा गिलो माटोले लिपेर ढुङ्गा टाँसेर बनाए। प्रत्येक कक्षामा फोहोरको टोकरी, झाडुको व्यवस्था, ट्वाइलेट सफा गर्ने, गाउँघरको टिम्मुर फोकेका गेडा सिउडीले सफा गर्न सिकाउनु भयो।
प्रत्येक शुक्रबार सांस्कृतिक र प्रयोगात्मक कार्यक्रम चलाउनु हुन्थ्यो। चाट्याङ, भूकम्प, बाढीपहिरो, पानीमा डुब्दा, आगोले पोल्दा कसरी सुरक्षित हुने? फर्स्ट-एड बक्सको कसरी प्रयोग गर्ने? यी यावत कुराहरू सरले हामीलाई सिकाउनु हुन्थ्यो र घरमा पनि सबैलाई सिकाउनु लगाउनु हुन्थ्यो।
घर, स्कुल, बगैँचामा कुन डिजाइनको, कस्तो बिरुवा रोप्ने, गोड्ने फलफूलका बोट हुर्काउने, बाटोको डिजाइन गराउने भनि सबैलाई सिकाउनु हुन्थ्यो। खोलामा पौडी खेल्न सिकाउने, सदरमुकामबाट साइकल मगाएर सबैलाई चलाउन सिकाउने, आर्मीमा जान चाहनेलाई त्यही अनुसारको एक्सरसाइजका नियमको बोर्ड बनाएर झुन्डाउनु हुन्थ्यो।
विद्यार्थीको आफ्नो रुचि अनुसारको ज्ञान दिने, बाटो देखाउने अनि प्रत्येक शनिबार सबै अभिभावकलाई बोलाउनु भयो। धेरैले विरोध गरे, स्कुलमा पनि हिरो बन्न खोज्यो भने। सर कहिल्यै निराश हुनु भएन। अरु शिक्षकलाई पनि प्रेरणा दिनुहुन्थ्यो।
सुरु-सुरुमा सरको कक्षा नै बहिष्कार गरे, सरले सबैलाई वास्तविकता बुझाउँदै लानुभयो। शनिबार सबैका अभिभावकलाई बोलाएर मिटिङ गर्नुहुन्थ्यो। मिटिङमा बालबालिकाले घरमा कति पढ्ने, कति खेल्ने, कसरी हौसला दिने, कसरी कडाई गर्ने? यी कुरा सिकाउनु भयो। नगदेबाली लगाउन हौसाउनु भयो।
डोको, ढालो, नाङ्लो बनाएर बेच्न हौसला दिनुहुन्थ्यो। उहाँले कतिलाई सिकाएर अरुलाई सिकाउन लगाउनु भयो, मानिसलाई बाँच्न कला सिकाउने उहाँको ध्यये थियो।
सरस्वती पूजाको दिन सबै अभिभावकलाई बोलाइएको थियो। सबै विद्यार्थीले भरिएको थियो। विद्यार्थी स्वयमसेवक बनेर अभिभावकलाई स्वागत गरिरहेका थिए। बगैँचा हरभरा थियो, मानिसहरू चमात्कारी सर रैछन् भन्न थाले।
पहिले र अहिले विद्यार्थीको अनुशासन, व्यवहार, स्कुलको वातावरण देखेर अभिभावक नै छक्क परे। सहरका ठूला, लाखौँ फी लिने स्कुलभन्दा कम थिएन, स्थानीय स्रोतसाधनले पनि। मानिसले चाहे के हुँदैन भन्ने ज्वलन्त उदाहरण थियो।
सरले स्टेजबाट कार्यक्रमको सुरुआत गर्दै भन्नुभयो, 'हामीले सधैँ विद्यार्थीको पीडा, गाली, कहानी सुन्यौँ तर अभिभावकको कहिले सुनेनौँ। सुन्न जरुरी नि ठानेनौँ। आज यस मन्चमा आफ्नो मनको बह लिएर आउनु भएको सम्पूर्ण अभिभावकलाई स्वागत छ।'
फरर ताली बज्यो। नाटक सुरु भयो-
एकजना आमाले मुखियाकोमा काम गरेर तनखा लिने बेलामा 'मलाई तपाईंको पुरानो कोट दिनुस् न' भनिन्। मुखियाले हाँस्दै 'यिनको इच्छा पूरा गर्देऊ' भने। ती आमाले त्यो कोट घटाएर छोरालाई लगाइदिइन्। रातो कलम भिराएर मेरो छोरा हाकिम हुनुपर्छ भन्दै सिकाउथिन्।
गाउँघरमा मेजर बनाउँछु भन्दै आर्मी अफिसरको घरमा भेटाउन लान्थिन्। एकदिन छोरो आधा रातमै गाउँका साथीसँगै सहर पसेछ। गाउँभरि हल्ला चल्यो। आमाको सपना चकनाचुर भयो। त्यसमाथि गाउँघरमा कुरा चल्न थाल्यो।
'पिउनको छोरा कहाँ ठूलो मान्छे बन्न सक्थ्यो? ज्यामी काम गर्न गएछ, छोरालाई हाकिम बनाउँछु भन्थ्यौ आज छराले नाक काट्यो। तिमीले हाम्रो छेउमा ठूलो कुरा अब नगर्नू। तिमी भाडा माझ्नू, लुगा धुनू, भारी बोक्ने ज्याला मजदुरी गर। तिमीहरूको हैसियतअनुसार गर। पिउनको छोरा पिउन नै हुन्छ.
चौतारीमा धेरै मान्छे थिए। त्यसमा नि धेर जति त आफन्त थिए। ती आमाको खिल्ली उडाएपछि आमा घर गएर छोरालाई पत्र लेखिन्। सबै कहानी सुनाइन् र 'यदि म तँलाई नभेटी मरेँ भने तँ अफिसर नबनेसम्म मेरो लास नछुनू, मेरो क्रिया नि नगर्नू' भनिन्।
दिनहरू बित्दै गए। एकदिन गाउँमा जिल्लाबाट सिडिओको भ्रमण हुने भयो। सबै गए, बाजागाजासहित। स्वागत गर्दा त सिडिओ त्यही बुढी आमाको छोरा हरेछन्। त्यही चिठीमा लेखेको इखले दिनरात दुःख गरेर पढेर जिल्लाको हामीक बनेर घर फर्केको थियो।
परर ताली बज्यो। पर्दा खस्यो, नाटक सकियो।
उदघोषकले रघु सरलाई स्टेजमा बोलाए। सम्मानित गर्दै दुई शब्द बोल्न लगाए। रघु सर सबैलाई सम्बोधन गर्दै बोल्नुभयो, 'आज मेरो यो स्कुलमा अन्तिम दिन हो।'
विद्यार्थी र अभिभावकको रुवाबासी चल्यो। सर आफै भावुक हुनुभयो।
फेरि सम्झाउँदै बोल्नुभयो, 'मैले तिमीहरूलाई बाटो खन्दिएँ भने यसको श्रेय मलाई जान्छ, त्यसैले म तिमीहरूलाई बाटो खनेर दिने हैन, खन्न सिकाउने हो। अरुले खनेको बाटोमा अरु नै गन्तव्यमा पुग्छन्। आफ्नो गन्तव्य पुग्न आफै बाटो खन्नु पर्छ। म माँझी हुँ मैले खोला मात्रै तार्दिन सक्छु तर विशाल अग्ला पहाड तिमीहरू आफै चढेर आउनु पर्छ। तिमीहरू वनको काँडा हो, आफै तिखारिनु पर्छ।
हाम्रा बा-आमासँग होम ट्युसन पढाउने पैसा छैन, बोर्डिङ पढाउने क्षमता छैन तर उहाँका सपना हामी हौँ। हामीले यो स्कुल जसरी हरभरा बनायौँ आफ्नो जीवन पनि यसरी नै बनाउनु पर्छ। हामी नसकेर हैन, नगरेर पछाडि परेका हौँ। मैले सिकाएको बाटो सधैँ हिँडनुस्, म अर्को साल यही दिन आउनेछु तपाईंहरूको प्रगति हेर्न।'
सबैले आँसु पुछ्दै बिदाई गरे। एउटा नारा घन्कियो- 'स्कुल ड्रेस तनमा छन, रघु सर मनमा छन्। रघु सर हाइ-हाई, नभुल्नुस् हामीलाई।'