तिमी पनि त्यहीँ थियौ, समय पनि त्यहीँ थियो। बदलियो त केवल तिम्रो मन अनि मलाई गर्ने माया। हाम्रो चिनजान भएको पनि लगभग ३ वर्ष भएछ। मर्निङ वाक जाँदा भएको हाम्रो भेट आज पनि याद गर्छु।
सुरुसुरुमा म तिमीलाई पटक्कै मन पराउँदैन थिएँ। साथीलाई भन्थेँ, 'तिनीहरूसँग नजाम न, मलाई तिनीहरू पट्टकै मन पर्दैन।'
साथीले भन्थी, 'तिमीलाई मन नपरे नबोल न यार, साथी हुन् हाम्रो।'
साथीको जबर्जस्तीले जान बाध्य हुन्थेँ म। बिहान बिहानै सधैँ उनीहरूलाई नै देख्दा कहिलेकाहीँ त दिक्क लाग्थ्यो। म रिसाउँथेँ मेरी साथीसँग, 'तँ आफै जा, म जाँदिनँ!'
साथी मलाई कति मायाले सम्झाउँथी, 'जाउँ न मेरो लागि, तिनीहरूलाई नहेरी हिँड्, नबोल्।'
एकदिन त्यही मर्निङ वाक जाने साथीमध्ये एकजना राहुल नाम गरेको साथीले मलाई फ्रेन्ड रिक्वेस्ट पठायो। मैले पनि चिनेको साथी भनेर एसेप्ट गरेँ। एसेप्ट गर्ने बित्तिकै राहुलको म्यासेज आयो।
'के छ? तिमी त कति राम्री, हामीसँग त बोल्न नि नबोल्ने। राम्री भएर होला, धेरै जनाले मन पराउँछन् होला, हामीजस्तो नराम्रो मान्छेसँग किन बोल्नु हुन्थ्यो होला र हौँ,' भनेर पठायो।
मैले म्यासेज हेरेर केही जवाफ दिइनँ। फेरि भोलिपल्ट पनि म्यासेज आयो।
'के छ? खाना खायौ?'
कहिले लुडो खेल्न आऊ भन्थ्यो। मलाई बोल्न मन नहुँदा नहुँदै पनि उसले गरेको म्यासेजको रिप्लाई दिन्न बाध्य हुन्थेँ। एकदिन उसको मेसेन्जरमा कल आयो। मैले पनि फोन उठाएँ। बेलुकाको समय थियो।
'हेलो!'
मैले पनि 'हतारमा किन कल गर्नु भएको? के काम छ' भनेर सोधेँ।
उसले नरम आवाजमा भन्यो, 'के काम परे मात्रै कल गर्ने पर्ने हो र मैले?'
उसले त्यस्तो भनेको सुनेर मलाई खै के भयो भयो, केही भन्न सकिनँ। झटपट मुखमा यही शब्द आयो 'हैन, कल गर्न सक्नुहुन्छ नि, सोधेको मात्रै हुँ काम थियो कि भनेर।'
उसले धेरै कुरा सोध्यो र भन्यो। म राहुलको कुरा सुनेर एकहोरो भएछु। म त राहुलको शब्दमा यति डुबेछु कि हिजो त्यही मन नपर्ने मान्छे आज उसको बोलीले एकहोरो हुन थालेछु।
'ल हुन्छ, म फोन राख्छु। कहिलेकाहीँ बोल्दै गर्नु ल,' भन्यो।
'अनि सुन न, तिम्रो नम्बर दिन मिल्छ' भन्यो।
मैले पनि 'मिल्छ नि' भनेर नम्बर दिएँ।
पहिला मर्निङ वाक जाने बेला मेरो साथीलाई कल गर्थ्यो ऊ तर मैले नम्बर दिएपछि मलाई नै कल गर्न थाल्यो। विस्तारै विस्तारै मलाई पनि राहुल असाध्यै मन पर्न थाल्यो।
पहिला उसैलाई देख्न नचाहने म अहिले त कहाँ देख्नु, बिहान कहिले होला भनेर पर्खाइमा हुन थालेँ। राहुलले कल गर्दिए नि हुन्थ्यो लाग्थ्यो। उसले कल गर्दा यति खुसी लाग्थ्यो कि म त्यो खुसी बयानै गर्न सक्दिनँ।
एक दिन, दुई दिन गर्दागर्दै हाम्रो माया साँच्चीकै धेरै अगाडिसम्म पुगिसकेका थियो। एकदिन उसले दिउँसो तिर फोन गरेर भन्यो, 'सानु, आज बेलुकी तिर यसो घुम्न जाउँ न।'
मलाई पनि राहुलसँग घुम्न जान मन थियो। भन्न मात्रै सकेको थिइनँ। हतार-हतार 'हस्, कतिबेला जाने? जाने बेलामा कल गर्नुस्, म तयार भएर बस्छु,' भनेँ।
उसले लगभग ४ बजेतिर फोन गर्यो। म तयार भएको नभएको सोध्यो। म तयार भइसकेकाले घर छेउमा लिन आउनु भनेँ।
ऊ एकैछिनमा मलाई लिन आयो अनि हामी निस्कियौँ। लगभग दुई घण्टाको बाटो राहुलले बाइकको पछाडि राखेर मलाई लिएर गयो। एउटा चौतारोमा लगेर बाइक रोक्यो र मलाई हेर्दै भन्यो, 'कस्ती राम्री तिमी!'
आफूले माया गरेको मान्छेले राम्री भन्दा त साँच्चीकै मलाई पनि आफू धेरै राम्री भएको आभास भयो। मुसुक्क हाँस्दै भनेँ, 'गफाडी! कति गफ दिन जान्नु भएको।'
केही समय मायाका मिठो कुरा भयो, भविष्यका योजना बनाउना थाल्यौँ। एकैछिनमा धेरै सपना देखायो अनि केही समयको बसाइपछि हामी फेरि आफ्नै घरमा फर्कियौँ।
घर आएपछि मलाई उसले गरेको मेरो वर्णन अनि मायालु आवाजमा भनेको एउटै शब्द याद आयो- 'मलाई कहिल्यै धोका नदेऊ ल, म तिमीबिना बाच्न सक्दिनँ।'
म किन धोका दिन्थेँ र? म त उसलाई धेरै मन पराउन थालेको थिएँ। माया गर्थें। दिनदिनै हाम्रो माया यसरी बड्यो कि म पनि ऊबिना बाच्न नसक्ने भएछु। ऊसँग नबोली बस्न नसक्ने भएछु।
भन्छन् नि, जहाँ माया हुन्छ त्यहाँ झगडा पनि धेरै हुन्छ भनेर त्यस्तै हाम्रो पनि कहिलेकाही झगडा हुन्थ्यो। म ऊ नबोली बस्दा धेरै रुन्थेँ, उसको फोटो हेर्दै ऊसँग एकहोरो कुरा गर्थें। तर ऊ दिनभरि काम गरेर थाकेर होला सुतिदिन्थ्यो।
म रुँदै बस्थेँ, मनभरि अनेकौँ कुरा खेलाउँदै बस्थेँ अनि कति बेला रुँदारुँदै निदाउँथेँ आफूलाई नै थाहा हुन्न थियो। भोलिपल्ट आफै कल गरेर 'तिम्रो रिस सकियो कि छ? कि एकछिन रिसाउँछौँ?' भन्दै हाँस्थ्यो।
म आँखाबाट आँसु झार्दै 'मसँग बोलेनी नबोलेनी हजुरलाई के फरक पर्छ र? माया गरेको भए पो हजुरले मलाई कल गर्नु हुन्थ्यो' यस्तै-यस्तै गुनासो पोख्थेँ, रुन्थेँ। ऊ मलाई धेरै सम्झाउँथ्यो।
'म पनि माया गर्छु, मेरो केही बाध्यता छ। म तिमीलाई तिमीले गरेको जसरी खुलेर माया गर्न सक्दिनँ। बिहे त गर्छु तर पाँच वर्षपछि,' ऊ यस्तै भन्थ्यो।
म केही जवाफ नै दिन्न थिएँ किनकि म ऊबिना साँच्चीकै बाच्न नसक्ने भएको थिएँ। यसरी नै कहिले झगडा कहिले माया चलिरहेको थियो हाम्रो सम्बन्ध। उसले जे भने नि म नाई भन्न सक्दिन थिएँ।
दिन, महिना बित्दै गयो। मेरो माया बढ्दै गयो अनि उसको मप्रतिको चाह घट्दै गयो। ऊ दिनदिनै बद्लिँदै थियो। राति १ बजेसम्म बोलेर पनि कुरा नसकिने हामी अचेल एक घण्टा पनि कुरा हुन्न छोड्यो। म एकछिन अनलाइन नहुँदा 'कहाँ गएको? छिटो आऊ न अनलाइन' भन्ने ऊ अचेल म दिनभरि अनलाइन नआए पनि मतलब गर्ने छोड्यो।
मैले कल गर्दा नि जहिल्यै 'बिजी छु, पछि कल गर्छु, कस्तो नबुझ्ने आवाज आको छ, भन्न थाल्यो।
हिजोको दिनमा घुम्न जाउँ न सानु भन्ने मान्छे अहिले म आफैले भन्दा नि 'मेरो काम छ, अरु खोजेर जाऊ' भनेर भन्न थाल्यो। म भिडिओ कलमा बोल्दाबोल्दै निदाउन पुगेँ भने पनि निदाएको मलाई हेरेर घन्टौँ मेरो फोटो खिच्दै बस्ने ऊ आज ८ नबज्दै निद्रा लाग्यो सुत' भन्न थाल्यो।
सायद मेरो माया उसलाई धेरै भएछ। म उसको खुसीको लागि भए पनि 'हस्, हजुर आरम गर्नुस्' भन्दै फोन काट्दिन्थेँ तर मलाई निद्रा लाग्दैन थियो। राहुलले मन फेरे पनि म कहाँ मन फेर्ना सक्थेँ र? रुँदै पहिलाका दिन सम्झिँदै उसको फोटोसँग कुरा गर्दै बस्थेँ।
एकदिन म धेरै बिरामी भएँ। उसलाई कल गरेर भनेँ, 'म आज धेरै बिरामी छु, अफिस पनि जान सकिनँ।'
राहुलले दबाई लिएर आउँछु भन्यो। उले एउटा ज्वरोको दबाई लिएर आएको थियो। मलाई त्यो दबाई दिएर राहुल त्यहाँबाट गयो। जान त गयो तर त्यो दिनदेखि यसरी बद्लियो कि बिहान 'गूड मर्निङ सानु, उठ्ने हैन तिमी? मिस यू' भन्दै आउने उसका म्यासेज अब आउना छोड्यो।
'सानु, समयमा खाना खाऊ है, आफ्नो ख्याल राख, पढाइमा ध्यान देऊ, तिमी ठूलो गायिका भएको हेर्ने लक्ष्य छ मेरो, मेरो सपना पूरा गर ल' भन्ने मान्छेले आज 'जे गरे नि गर् यार, म बिजी छु कति कल गरेर डिस्टब गरेको?' भन्न थाल्यो।
मलाई यसरी अनदेखा गर्ना थाल्यो कि म आफै चकित परेँ। मलाई पनि लाग्न थाल्यो, ऊ मसँग खुसी छैन। म उसको मायाको लायक छैन रहेछु जस्तो लागेर ऊबाट सधैँको लागि टाढा भएँ।
उसको र मेरो सम्बन्ध छुटेको पनि आज सात वर्ष भएछ। अहिले त उसको बिहे भएर नि छोरा छरे। धेरै खुसी छ रे। अझ धेरै खुसी भएको सुन्न पाउँ।