हिँडिरहेको एउटा मान्छे
केही नजिक आयो
केही बोल्न खोजेजस्तो
केही सोध्न खोजेजस्तो
बोल्नु अगाडि थोरै मुस्कुराउन खोज्यो
तर...
तर ऊ फेरि हच्कियो
झट्ट केही सम्झिए झैँ
एकछिन त्यसै टोलायो
सायद उसलाई अदृश्य कसैले भन्यो
ए तँ किन बोल्छस्?
किन हाँस्छस्?
किन नजिकिन्छस्?
उमेर मिल्छ?
विचार मिल्छ?
जात मिल्छ?
हैसियत मिल्छ?
पार्टी मिल्छ?
सायद यस्तै-यस्तै अनगिन्ती सवाल
ऊ भित्रको अर्को कसैले सोध्यो उसलाई।
त्यसैले आफू मान्छे भएकै बिर्सियो उसले
आफू जोसँग हाँस्न, बोल्न खोजेको
ऊ पनि मान्छे नै हो भन्ने पनि बिर्सियो
आफूभित्र मन भएको कुरा पनि बिर्सियो
अर्कोसँग पनि मन हुन्छ भन्ने पनि बिर्सियो
ऊ त्यत्तिकै तर्कियो
नबोलेरै गयो
नहाँसेरै गयो
एउटा मानवीय आकृति
मनवताको ज्योति निभाएर गयो
हार्दिकताको फूल चुँडाएर गयो
हेर्दाहेर्दै त्यत्तिकै ओझेल भो
धमिलिएरै हरायो।