कविता
विद्रोह गर्न मन लाग्यो
मलाई ती समस्त,परम्परा,
रिति,कुरिती र व्यवस्था सँग,
जसले नारीलाई सधैं दबाएर राख्छ।
सम्मान गर्न मन लाग्यो,
मलाई त्यो शरीरको, त्यो आत्माको
जो सधैं मेरो छाया बनेर,
मेरो सुख दु:खमा मलाई साथ दिन्छ।
आदर गर्न मन लाग्यो,
मलाई त्यो ज्यानको,
जसले मेरो भावी पुस्तालाई,
अगाडि बढाउन,
मेरो सन्तानलाई
जन्म दिइन्,
हो त्यसैले आज,
मैले श्रीमतीको गोडा ढोगेँ।
उनी बिहान उठ्छिन्,
चराहरूको चिरबिर सँगै,
घरको दैलो पोत्छिन्,
सरसफाइ गर्छिन्,
अनि चिया बनाएर दिनको मिठास सुरूआत गराउँछिन्,
उनको यस्तै नि:स्वार्थ माया र त्यागको सम्मान गर्न मन लाग्यो,
उनले मेरो खुट्टा धेरै ढोगिन्,
तर आज मैले उनको खुट्टा ढोगेँ।
यो मेरो तर्फ बाट उसलाई आदर र माया थियो,
र अब देखि म उसलाई खुट्टा ढोगाउने गर्दिनँ,
यही नै मेरो विद्रोह हो,
यही नै मेरो ऊ प्रति सम्मान हो उच्च,
हुन त म उसको हमकदम हो,
ऊ मेरो जीवन हो,
त्यसैले माया बराबरी गर्न,
परम्पराको विद्रोह गर्न,
मैले आज श्रीमतीको खुट्टा ढोगेँ।