धेरै दिनपछि आज मैले म सँगै पढेको साथी रमालाई भेटें। सँगै तातेताते गरेको, क, ख, ग सँगै सिकेको, सँगै स्कुलमा खाजा खाएकोदेखि लिएर कक्षा १० सम्म हामीले सँगै पढेका थियौं।
खुसी हुँदै भनें - ओहो! संयोगले हाम्रो भेट भयो है रमा?
‘उम्, करिब पाँच वर्षपछि पो भेट भएछ है अनु,’ उसले भनी।
हामी एकदमै खुसी भयौं।
मैले भनें - कतै नजिकै कफीसपमा गएर कफी खाँदै कुरा गरम् न है रमा, तिम्लाई हतार छैन भने। हुन्छ भनी उसले। अनि गयौं हामी कफीसपमा। कफी खाँदै विगतका दिनहरूलाई सम्झन थाल्यौं। यसबीचमा रमाले भनी - तेरो त्यो अमरको केछ खबर?
मलाई केही बोल्नै आएन। ‘अमरको ठिकै होला,’ अलि भावुक हुँदै भनें।
‘निराश किन? तँ सँग कुरा हुन्न र अचेल,?’ रमाले भनी।
मैले भनें - धेरै भयो बोलचाल नभएको। सायद उसको बिहे भइसक्यो भन्ने सुनेकी छु।
यसैबीचमा रमाको कल आयो। उसले ‘एकछिन है’ भनी।
ऊ कलमा बोल्न व्यस्त भई। मलाई भने विगतमा अमरले देखाएको म प्रतिको माया अनि बिताएका पलहरू झलझली आउन थाल्यो।
अमर कक्षा ८ देखि म सँगै पढेको नजिकको साथी थियो। ऊ पढाइमा खासै मिहेनती थिएन। तर ऊ गीत गाउन र नाच्न माहिर थियो। उसको घर र मेरो घर वारिपारि थियो। कक्षामा म अलि छुच्ची थिएँ। ऊ भने अलि सोझो थियो।
म कक्षाको ग्रुप लिडर पनि थिएँ। हामीले विभिन्न सांस्कृतिक कार्यक्रमहरू टिफिनको समयमा राख्ने गर्थ्यौं। अनि छमछम आफैं गीत गाउँदै नाच्थ्यो अमर। मलाई ऊ साह्रै मन पर्थ्यो। उसको बोली, उसको जिउडाल, गेटअप, कपालको स्टाइल सबै मन पर्थ्यो। म खुलेरै ताखिफ गर्थें उसलाई।
‘तिमी त कति राम्रो नाच्छौ है आफैं गीत गाएर कति जानेको?,’ म भन्थें। ऊ हल्का लजाउँदै, हल्का मुस्कुराउँदै ‘है … है’ मात्रै भन्थ्यJ।
यसैगरी हाम्रो दिनह/” बितिरहेको थियो। समय बित्दै जाँदा हाम्रो कक्षा ९ को फाइनल परीक्षा आयो। परीक्षामा हामी सँगै भयौं। उसलाई मैले परीक्षामा धेरै सहयोग गरें। ऊ अनि म हामी दुबै जना उत्तीर्ण भयौं। त्यसपछि हामी कक्षा १० मा पुग्यौं। अब भने अलि मेहेनत गर्नु पर्ने थियो। किनकि, फलामे ढोका खोल्न त्यति सजिलो छैन भन्नु हुन्थ्यो सधैं सर-म्यामले।
आफ्नो पढाइलाई अगाडि बढाइरहेकी थिएँ। एक दिन अमरले मलाई खाजा सँगै खान बोलायो। मैले उसको प्रस्ताव सहजै स्वीकारें। हामी स्कुल अगाडिको चौरमा पलेंटी मारेर उसले ल्याएको खाजा अर्थात् मकै भटमास खान थाल्यौं। उसले धेरै कुरा मलाई सुनायो अनि भन्यो- तिमी धेरै राम्री छ्यौ, अनि ज्ञानी र मिहेनती पनि।
उसको कुरा सुनेर भित्रभित्रै खुसीले मुस्कुराएँ। तर, बाहिर अलि लजाएर गफाडी भनेर हासेर टारें।
अनि एउटा कुरा भनूँ भन्दै अमरले मलाई प्रश्न गर्यो - म तिमीलाई धेरै माया गर्छु। नाई नभन ल।
मन त मलाई पनि धेरै परेको थियो भन्न मात्रै नसकेको। तर, पनि लजाएजस्तो गरे मैले भनें - ह्या नजिस्केउन।
अमरले भन्यो - मैले साँचिक्कै भनेको क्या।
यतिकैमा घन्टी बज्यो। हामी कक्षाकोठामा गयौं। त्यो दिन म धेरै खुसी भएँ। स्कुल छुट्टी भएपछि पनि हामी घन्टौंसम्म कुरा गरेर बस्यौं।
त्यसपछिका दिनहरू खुसीका साथ बितिरहे। मलाई स्कुल आउँदा पनि राम्री भएर आउन मन लाग्थ्यो। कालो टिका, हल्का गाजल, हल्का लिपिस्टिक लगाएर आउँथे। अनि ऊ भन्थ्यो - आज त तिमीलाई साह्रै राम्री देखिएको छ। म लाजले भुतुक्कै हुन्थें।
यसैगरी दिनहरू बितिरहे। साँच्चै एसइई नजिकिएको त पत्तै भएन। कति छिटो समय बितेजस्तो भयो। हामी एसइई दिनको लागि म्याथ सरको घरमा बस्यौं, म, अमर अनि अरू दुई जना।
परीक्षा सकेर हामी आफ्नो आफ्नो घर फर्कियौं। मलाई भने अमरसित छुटेर जानै मन थिएन। छुट्ने बेला एकदमै गाह्रो भइरहेको थियो। मन भक्कानिरहेको थियो। के गरौं कता जाउँ, अनि के भनौं-भनौं भइरहेको थियो।
‘चिन्ता नगर, हामी छिट्टै नै भेट्नुपर्छ’ भनी आश्वासन देखाएर ऊ मलिन अनुहार बनाउदै गयो। म पनि आफ्नो मनलाई बलियो बनाउदै घर फर्किएँ।
त्यसपछिका दिनमा भने हाम्रो फोनमा कुरा हुन थाल्यो। केही दिनमै ऊ काठमाडौं लाग्यो डान्सर बन्ने सपना बोकेर। म भने गाउँमै थिएँ। एसइईको नतिजा कस्तो आउँछ, अनि मात्रै के गर्ने, कसो गर्ने भन्ने सोचमा थिएँ। डान्सर बन्ने सपना बोकेर काठमाडौं छिरेको केही समय राम्रो कुराकानी भइरहेको थियो। भन्थ्यो - डान्स सिकिरहेको छु। भविष्यमा ठूलो डान्सर बन्छु। अनि तिमी र म बिहे गर्नुपर्छ। मत खुसी हुन्थें।
तर, त्यो मात्रै केही समयको लागि रै’छ। समय बित्दै गयो। ऊ सँग कुराकानी पातलिँदै गयो। म धेरै कल गरिरहेकी हुन्थें। ऊ भने कहिले म बिजी छु, कहिले डान्स सिक्दै छु, कहिले साथीहरूसँग छु भनेर म सँग बोल्नै खोज्दैनथ्यो। किन म सँग बोल्न मन लाग्दैन? भन्दा ‘ह्या दिमाग नतताउन क्या म बिजी भएर हो, बोलिरहेको छु’ भनी विभिन्न कुरा गरी टार्थ्यो उसले।
एकदिन बेलुकाको त्यस्तै ९ बजेको थियो होला। खाना खाएर मत सुतिसकेकी रहेछु। मेरो मोबाइलमा धेरैचोटि कल आएछ। पछि कलब्याक गरें। उसले सिधै ‘तँलाई म सँग बोल्न मन छैन हो, तँ को सँग बिजी छस् कल उठाउन सक्दिनस्’ भनी धेरै थर्काउन थाल्यो। धेरै सम्झाएँ। तर ऊ रिसाइरहेको थियो। उसले मुखमा आउने सबै बोल्यो अनि अन्तिममा ‘तेरो र मेरो सम्बन्ध सकियो अबदेखि मलाइ कल म्यासेज केही नगर’ भनेर कल काट्यो।
त्यो रात सुत्नै सकिनँ म। धेरै रोएँ, सायद त्यतिधेरै त म जिन्दगीमा कहिल्यै रोएकी थिइनँ। मुटु फुटेकोजस्तो भयो। जिन्दगी सकिएको जस्तो भयो। रोएँ, कराएँ, चिच्याएँ तर पनि यो मन भतभती पोल्न छोडेन।
रुँदारुँदै रात केटेको थाहै भएन। झिनो आशा लिएर मैले बिहानै उसलाई कल गरें। तर उताबाट केटीको आवाज पो आयो।
‘तिमी को हौ मेरो बुढालाई बिहान बिहानै कल गर्ने हँ?’ भनेर पो आयो आवाज। म त झन् छाँगाबाट खसेको जस्तै भएँ। ‘अबदेखि कहिल्यै कल नगर नत्र राम्रो हुँदैन। हाम्रो बिहे भइसक्यो’ भनेर कल काटियो।
पछि कल गर्न खोजेको मेरो नम्बर ‘ब्लक लिष्ट’मा पो राखिएको रहेछ। त्यस दिनदेखि ऊ सँग मेरो कहिल्यै कुराकानी भएको छैन। भेट हुने त कुरै भएन। सम्झिएँ चोखो माया गर्नु मेरो गल्ती रहेछ। उसलाई आफ्नो सोच्नु नै भुल थियो।
‘अनु … अनु, के भयो? किन रोइरहेकी?’ भन्दै रमाले बोलाउन थालेकी रहिछ।
मत झसंगै भएँ। कतिबेला आँखाबाट आँशु झरेछन् पत्तै पाइनँ।
‘अनु नरो न यार के भयो भन्दै’ सम्झाउन थाली रमाले।
‘केही नाई, विगतले यो मन पोल्न थाल्यो रमा’ भनें।
‘आफूलाई सम्हाल्ने कोसिस गर अनु। जिन्दगीको गोरेटोमा धेरे थरीका मान्छेहरू भेटिन्छन्। जानेहरूलाई जान देऊ आउनेलाई आउन देऊ,’ उसले भनी।
आफ्नो मनलाई सम्हाल्ने कोसिस गरें। मेरो घरबाट कल आयो। हामी त्यहाँबाट निस्कियौं।
हुन त पहिलो प्रेमी हौ तिमी भुल्न कहाँ सक्छु र अमर। आउँछ नि उसको याद तर पनि उसले गरेको घातले अब कसैलाई विश्वास गर्न मन लाग्दैन। माया भन्ने शब्द सुन्दा पनि साह्रै घृणा लागेर आउँछ। माया त गर्नू तर बीचैमा छोड्ने माया कदापि नगर्नू।