'म साधनाको दाइ हुँ!'
त्यही वाक्यले त मलाई आफ्नो विगतमा पुर्यायो जहाँ आवश्यकताअनुसार हामीहरू कहिले एकअर्कालाई दाजुबहिनीको बन्धनमा राख्थ्यौँ त कहिले प्रेमिल जोडी। तर थियो त केवल आत्मीयता।
दलित बस्ती र बाहुन बस्ती भनी बस्तीले मात्र छुट्टाएको हामीलाई हाम्रो स्कुलले नजिक बनायो। पढाइमा दुवै जना राम्रै भएर होला हामी त्यसैको बहानामा नजिक हुँदै गयौँ. स्कुल परिसरमा मात्र हामी नजिक हुन्थ्यौँ।
जातीय विभेदले गर्दा समाजमा हामी नजिक हुन सकेनौँ वा भनौँ समाजले हामीलाई नजिक हुन दिएन। पढेका कुरा हामीले समाजलाई सिकाउन सकेनौँ। व्यवहारमा उतार्न सकिएन भने त्यस्तो ज्ञानको के काम? जात भन्ने कुरा हुँदैन भन्ने कुरा समाजमा सिकाउन नसक्नु सायद हाम्रो कमजोरी हो।
कक्षामा पहिलो, दोस्रो हुँदै हामीले एसएलसी पनि त्यसरी नै सकायौँ। स्कुलका उत्कृष्ट दुईलाई काठमाडौँको कुनै कलेजले फ्रीमा पढाउने कुरा थियो। घर छड्दा मन दुखी त थियो तर पनि हामी थोरै भए पनि खुसी थियौँ, उच्च शिक्षा पनि सँगै हुने सोचले।
उच्च शिक्षामा भने हामी त्यति राम्रो हुन सकेनौँ, दुवैलाई परिवारको यादले सताइरहने। जति-जति परिवारको याद आउथ्यो त्यति त्यति हामी नजिक हुन्थ्यौँ। खुसीमा सँगै हाँस्थ्यौँ त दुःखमा सँगै रुन्थ्यौँ पनि।
एकदिन रुँदारुँदै उसले भनी, 'बाल्यकाल पनि सँगसँगै बित्यो, घर छाड्दा पनि तँ छस् भनी म त्यति दुखी भइनँ। दुवै यो बिरानो सहरमा नौलो भए पनि सहरले गरेको व्यवहारसँग बहस नगरी कसरी अगाडि बढ्नु पर्छ भन्ने तैँले नै सिकाउँछस्। तँ मेरो लागि कति आत्मीय छस् भन्ने कुरा आत्मा मात्र जान्दछ, म तलाई प्रेम गर्छु तर प्रेमको जसरी परिचय दिइन्छ त्योभन्दा केही बढी नै लाग्छ हाम्रो सम्बन्ध।
त्यसैले त मेरो आत्मीय साथी होस्। सबैभन्दा मिल्ने साथी होस्। सायद तँभन्दा आत्मीय जीवनमा अरु कोही हुँदैन होला। आजबाट हामी त्यस्तो साथी बनौँ जो एकअर्काका परिपूरक हुन्छन्, अन्य कुनै सम्बन्धले छुटाउन नसकोस् हाम्रो सम्बन्ध।'
त्यस क्षणबाट नै हाम्रो आत्मीयताले औपचारिकता पाएको थियो। देख्नेहरूले हामीलाई प्रेमीप्रेमिका भनिदिन्थे। हामी थियौँ पनि त्यस्तै। कसैले 'जोडी हो?' भन्दा पनि हामी होइन कहिले भनेनौँ तर हामीलाई थाहा थियो हाम्रो सम्बन्ध।
हामी यति नजिक थियौँ, मनले कहिले साथी मात्र हो भन्ने सोच्थ्यो त कहिलेकाहीँ कतै माया पलाएको जस्तो लाग्थ्यो। बढ्दो उमेरको प्रभाव होला सायद तर मित्रता पनि छुट्ने डरले त्यो प्रेमको पालुवालाई बढ्न नदिने कोसिस भने जारी नै रह्यो।
समय बित्दै गयो, हामी स्नातक पढ्न थाल्यौँ। उम्रिएको पालुवा जति नै बाधा आए पनि हुर्किन कोसिस गरिरहन्छ। त्यही नै भयो मनमा, उसको लागि प्रेम झन प्रगाढ हुँदै गयो। एकदिन गफिँदै गर्दा मैले सोधेँ, 'तँलाई प्रेम के लाग्छ?'
'जीवनमा देखिएका सपना पूरा गर्नुछ, म त्यही सपनालाई नै प्रेम ठान्छु।'
कति शालीन उत्तर थियो उसको। मैले जिस्किँदै भने, 'जीवनमा प्रेम जोसँग गरे पनि विवाह भनेको साथीसँग नै गर्नुपर्छ।'
ऊ मुस्कुराइ मात्र, पछि कुनै दिन उसले भनेकी थिई, 'हामीलाई विवाह गर्न समाजले दिँदैन।'
लाग्थ्यो हामी दुवै जना एकअर्काको अघोषित प्रेममा छौँ। मेरो मनले उसको मनलाई सिन्दुर हालेको त थियो तर उसको सिउँदो रङ्गाउन भने समाजले दिँदैन भन्ने ज्ञान थियो। साहित्यमा रुचि भएको म साधना शीर्षक राखी केही कविता र कथामा समेत हाम्रो आत्मीयतालाई लेख्ने प्रयास गरेँ।
समय बढ्दै गयो, थुप्रै अपरिचितसँग परिचय हुँदै गयो। जवानीले गर्दा पनि होला केहीसँग त प्रेमिल गफ पनि भए तर प्रेम कसैसँग भएन। प्रत्यक्ष अप्रत्यक्ष रुपमा हाम्रो मित्रतालाई नै कारण देखाउँदै केटीहरू मसँग प्रेम गर्न नचाहेको सुनाउँथे तर पनि मेरो जीवनमा उसको महत्वको खुलेर बयान गर्थें जुन कहिले पनि पूर्ण हुन सकेनन्।
एकपटक त कतिसम्म भयो भने एउटीले प्रेम प्रस्ताव राख्दै भनी, 'जीवनमा प्रेमिका र साथी कहिले पनि सँगै हुन सक्दैन, तिम्रो साथीत्वले मतर्फको प्रेमलाई अपूरो बनाउँछ, म तिमीलाई प्रेम त गर्छु तर तिमीले साधना र ममध्ये एक रोज्नु पर्छ।'
जीवनको त्यो एउटा त्यस्तो क्षण थियो जहाँ म मौन थिएँ। मेरो मौनता सायद उसैले बुझी, त्यसपछि उसले प्रेम भन्ने शब्द कहिले प्रयोग गरिन।
स्नातक सकेपछि उसको घरबाट बिहेको दबाब आउन लाग्यो। ऊ प्रायः भनिरहन्थी, 'म स्वतन्त्र बाच्न चाहन्छु, बिहे गर्ने इच्छा छैन मेरो तर पुरुष प्रधान समाजले नारीलाई स्वतन्त्र रुपमा बाच्न नदिने रहेछ।'
म भन्न चाहान्थेँ, 'यो पुरुषको गल्ती होइन, यो त त्यस्तो समाज हो जहाँ नारीको खुसी किन्न कयौँ युवाहरू खाडीमा आफ्नो रगत बेचिरहेका छन्। गल्ती त केवल समाजको हो।'
तर म उसको विरोधी हुन चाहिनँ। एकदिन उसले आँसु खसाल्दै भनी, 'विदिप, अब त लाग्छ घर-परिवारको अन्तिम इच्छा नै मेरो बिहे गरिदिने हो। म जति-जति नाई भन्छु लाग्छ परिवारबाट म त्यती टाढा हुँदै छु। म यो दूरी सहन सक्दिनँ, त्यसैले म विवाह गर्न तयार छु भन्छु घरमा।'
त्यो क्षण त्यस्तो थियो जहाँ म न त उसको निर्णयको समर्थन गर्न सक्थे न त आफ्नो मनमा रहेको प्रेमको बारे उसलाई सम्झाउन।
विवाह तय भएको पनि उसले पशुपति आरती हेर्ने बेला नै सुनाएकी थिई। विवाह लागि ऊ केही दिन पहिला नै घरतिर लागी। प्रेम भनेको पाउनु मात्र होइन, नपाए पनि निरन्तर प्रेम गरिरहनु नै प्रेम हो तर अब म विवाहित नारीलाई प्रेम गर्न सक्दिनँ, मेरो नैतिकताले पनि दिँदैन।
पशुपति जाने दैनिकीलाई अब म परिवर्तन गर्न चाहान्थेँ। पशुपतिमा सायदै त्यता ठाउँहरू होलान् जहाँ उसका र मेरा याद नहोलान्। नैतिकताले मात्र म उसको बिहेमा समेल भएँ। जसलाई आफ्नो जीवनमा सजाउने सपना देखिरहन्थेँ उसको सिउदो अरु कसैको सिन्दुरले सजिएको म हेर्न सक्दिन थिएँ, त्यसैले होला उसको बिहेपछि हाम्रो भेट भएन।
आज यतिका महिनापछि भेट हुँदा उसको सिउदो त पुछिएको थियो, ऊ विधुवा भएकी थिई। कुरा काट्नेहरूले भन्लान् अलक्षिनी, छ महिनामै श्रीमान मर्यो। उसका शुभ चिन्तक भन्लान् 'अभागी रैछे'। भोलिका दिनबाट उसले यस्ता कयौँ बोलीको सामना गर्नुपर्ने छ। चाहना यत्ति छ कि अब अरुको बोलीको प्रवाह नगरी ऊ आफ्नो जिन्दगीको बाटोमा अगाडि बढ्न सक्ने आँट राखोस्। जीवनको हरेक मोडमा साथीत्व र आत्मीयता निभाएको म पनि उसको अबको अवस्थाप्रति निर्विकल्प रुपमा निशब्द थिएँ।
धार्मिक रुपमा महान् मानिने पशुपति, त्यही पशुपतिबाट कसैको प्रेम सुरु हुन्छ, कसैले त पशुपतिकै कसम पनि खाइरहेका हुन्छन् तर पशुपति पछाडिको दृश्य केही फरक हुन्छ। त्यहाँ थुप्रैका सपना जलेको देख्न सकिन्छ। साधना जस्ताको स्वतन्त्रता जलेको देखिन्छ, उसको श्रीमान र उसले जस्तो भविष्य देख्नेहरूको भविष्य जलेको देख्न सकिन्छ। भविष्यका सपना जलेको देख्न सकिन्छ।
मजस्ता मित्रहरूको आत्मीयता जलेको देख्न सकिन्छ, साथीत्व र अघोषित प्रेम जलेको देख्न सकिन्छ। बुझ्न सकिन्छ पुरुष बिना नारी र नारी बिना पुरुषलाई आफ्नो सपना पूरा गर्न कतिसम्म गाह्रो पर्छ। देख्न सकिन्छ कयौँका परिवार उजाडिएको, कयौँका रंगिन सिउदो पुछिएको।
त्यसैले त होला 'यदि साँच्चीकै जीवन बुझ्नु छ भने केही क्षण आर्यघाट नजिक बिताउनु पर्छ' र बुझ्न सकिन्छ 'पशुपतिमा पोलिएका ती सपनाहरूलाई।'
यो पनि:
पशुपतिमा पोलिएका सपना