कविता
कसैले भने
तिमी गुलाबको फूल हौ!
के म त्यही
कोमल गुलाबको फूल हुँ त?
रक्तिम लाली अङ्गभरि फिँजाउँदै
पत्र पत्रमा मग्मगाउँदै
निश्चल र स्निग्ध प्रारूपजस्तै
कसैको मनभरि फुल्ने
के म गुलाब हुँ त?
सृष्टिको अनुपम कला रे
प्रकृतिको लालित्य छटा रे
भन्नेले त खै के के भने भने!
तर म!
कहिले काँडाहरूसँग पौंठेजोरी खेल्दै
कहिले भमराको कामुक वासना छल्दै
घाम पानी असिनाको कठोर नियतिलाई
भोग्दै फूल बनेकी हुँ।
मेरो सौन्दर्यलाई सुम्सुमाउन
केही सुकोमल हातहरू
केही दरफराउने हातहरू
स्पर्शका लालसाले
बाटोभरि नजर बिछ्याउँछन्
र प्यास मेटाउन खोज्छन्।
हो! म त्यही कोमल गुलाब हुँ
श्रद्धाले हेर्दा म सुन्दर हुन सक्छु
विश्वासले हेर्दा कोमल हुन सक्छु
सुन्दर प्रकृतिलाई बुझ्न खोज्दा
जीवनको सार हुन सक्छु।
तर कामुक हेराइमा
वासना देखिन सक्छु
र त पटक पटक साटिन्छु म
कहिले देवालयमा
कहिले विजय उत्सवमा
कहिले पर्व, कहिले हर्ष
कहिले आश, कहिले लास
सबैतिर म साटिन्छु
शुभकामनामा होस् या प्रणयमा
नि:शर्त म साटिइरहन्छु।
के थाहा?
फूल चुँडेर लानेहरूलाई
कोपिलादेखि फूलसम्मको यात्रामा
कतै तापमा छट्पटिँदै
कतै ठिहीमा कठ्याङ्ग्रिँदै
तप तप आँसुका शीतहरू
पोखेर हर बिहानी
फुलेको हुन्छ
गुलाब पनि!