व्यंग्य
अब हामी सबै खुसी हुने दिन आयो रे। हामी सबै भनेको नेपालीहरू के। यसमा नेतादेखि नागरिकसम्म, कर्मचारीदेखि विद्यार्थीसम्म, स्वदेशमा बसेकादेखि विदेशमा रहेकासम्म सबै परिन्छ।
भर्खर सार्वजनिक भएको समाचार सुनेर खुसी हौँ, मख्ख परौँ, प्रफुल्ल हौँ भनेको हो। किनकि अब हाम्रा दुःखका दिन गए, सुखका दिन आए रे। नचाहिँदो कुरा गर्यो भन्नु होला, त्यो पक्कै होइन। यसमा हामी सबै ढुक्क भए हुन्छ।
अब हाम्रा दुःखका दिन पक्कै गए। यति भए पुगेन? हामीले खोजेको यही हो। तैपनि अरु अलिकति थपौँ। अब हाम्रा विकास निर्माणका काम पनि सरासर हुने भए। हाम्रा यस्ता काममा बाधा, विरोध, अवरोध, रोकावट, थुनछेक कहीँ कतैबाट पनि नहुने भयो। हामीले चाहेको र खोजेको यस्तै हो भने हामी किन खुसी नहुने?
देशमा त्यस्तो विशाल परिर्वतन के भयो र हामी खुसी हुने? भन्नु होला। परिर्वतन बिना विकास कसरी हुन्छ? त्यो पनि भन्नु होला। हिजोका दिनमा किन विकास भएन? हिजोअस्ति पनि हामीले विकास निर्माण कुरा गरेका हौँ तर किन विकास निर्माण भएन? यो पनि भन्नु होला।
तपाईंले भनेको सोह्रै आना ठिक हो तर पनि अब हाम्रा राम्रा दिन आए भन्ने कुरा पुनः दोहोर्याउन चाहान्छु। कारण आगामी निवार्चनपछि देशको माहोल, वातावरण, अवस्था सबै सकारात्मक दिशामा परिर्वतन हुने भयो। यही भएर हाम्रा खुसी हुने दिन आए, दुःखका दिन गए भनेको।
कसरी विश्वास गर्ने आगामी निर्वाचनपछि देशको अवस्था, वातावरण, परिस्थिति सबै परिर्वतन हुन्छ, त्यो पनि सकारात्मक दिशामा? हिजोका दिनमा पनि हामीकहाँ थुप्रै निर्वाचन भएका हुन्। परिणामले व्यक्ति विकास देखाए पनि देश विकास भनेजस्तो, सोचेजस्तो देखाउन सकेन भन्ने गरिन्छ।
धरहरा वा देशमा बनेका कुनै पनि भ्युटावरबाट एउटा सानो ढुंगा फ्याँक्ने हो भने नागरिकको टाउको होइन, नेताको टाउकोमा लाग्छ। त्यो पनि कुन पार्टीको नेताको टाउकोमा लाग्यो छुट्टयाउन सजिलो छैन। यतिका धेरै नेता र पार्टी भएको देशमा दुःखका दिन गए भनेर कसरी विश्वास गर्ने? भाषण मिठो गरे पनि काममा हामी खुट्टा तानातानमै अलमलिएका छौँ भने विकास कसरी हुन्छ?
हामीकहाँ विकास किन र कसले गर्दा भएन त्यो किटानीका साथ बताउने कुनै आधार छैन। तैपनि सत्तापक्ष र प्रतिपक्षबीच एक प्रकारको दोषारोपण गरेको सुनिन्छ। एकअर्काको सहयोग र अठोटको अभावमा विकास हुन सकेन अर्थात् मैले काम गर्न सकिनँ किन भन्ने? अरुले काम गर्न दिएन भनियो भने उम्कन सजिलो हुन्छ रे। उम्किएको जुनसुकै कुरा पनि राम्रो हुन्छ रे। त्यही भएर होला हामीकहाँ उखान पनि बनाइएको छ, उम्केको माछो ठूलो।
अब कुरा गरौँ चुनावपछि देशको वातावरण कसरी परिर्वतन हुन्छ? हामीकहाँ दिन प्रतिदिन समाचार आइरहेको छ। आगामी निर्वाचनमा सत्ता साझेदार दलहरूबीच तालमेल, सत्ता गठबन्धनका दलहरूबीच तालमेल, पार्टीहरू एकआपसमा मिलेर चुनाव लड्ने। निकट भविष्यमा हामीहरू स्थानीय र संसद गरी दुईवटा निर्वाचनमा सहभगी हुनुछ। यी दुवै निर्वाचनमा पार्टीहरू मिलेर निर्वाचनमा गएपछि कति रमाइलो होला, कल्पना गरौँ।
चुनाव त मिलेर लड्ने गरे। त्यो त सधैँ मिलेर लड्छन् भन्नु होला। एउटै पार्टीका नेताहरू मिलेर लड्ने बागी उम्मेदवार नहुने भनेको होइन के। यस पटकको तालमेल गरेर वा एकआपसमा मिलेर लड्ने भनेको पहिलेको भन्दा फरक छ। प्रष्ट रुपमा भन्नु पर्दा सबै पार्टीका नेताहरू मिलेर चुनाव लड्ने रे।
विभिन्न पार्टीका नेताहरू विभिन्न सिटमा भाग लगाएर, भाग मिलाएर चुनाव लड्ने भनेको रे। यति भएपछि उस्तै परे सबै सिट निर्विरोध हुने भयो। जो मिल्न सक्दैन उसको बाकस खाली। यति भएपछि बहुदलीय व्यवस्थाको सरकार प्रतिपक्ष विहीन हुने भयो। अब विचार गरौँ, सरकारमा प्रतिपक्ष नभएपछि कस्तो होला?
जे होस प्रतिपक्ष नभएपछि संसद अवरोध र थुनछेक हुने भएन, विगत यति दिनदेखि प्रतिपक्षद्वारा संसद अवरोध, संसदको कामकारबाही ठप्प भन्ने समाचार नै बन्ने भएन। नारा, जुलुस, हड्तालजस्ता कामकारबाही हुने नै भएन। यसको अर्थ जान्न पनि शब्दकोष हेर्नुपर्ने होकी?
सडकमा टायर कसले बाल्ने, जिन्दावाद मुर्दावादको नारा कसले लगाउने? नेपाल बन्द, चक्का जाम सबै हराउने, बाटोमा जुलुस देख्नै नपर्ने, यातायात सरर हुने भएपछि हाम्रा दुःखका दिन गए सुखका दिन आए भनेको ठिकै लाग्यो। त्यसैले अब हामी खुसी हौँ, मक्ख परौँ, प्रफुल्ल हौँ। किनकि विकास भनेको यस्तै होइन त?