ठूलो डाँडाले घप्लक्कै
टोपी लगाकी
लेकबेसी सजिलै छुट्याउन सकिने
लटरम्मै आरुबखडा फली
हामीलाई स्वाद चखाउने
प्रिय जन्मभूमि
तिमीले त बिर्सेउ होला
तिम्रो त्यो चिसोपनमा
पनि हामी कति आत्मीय
र न्यानो महसुस गर्थ्यौं
हिउँदमा जोतेको बारीमा
राजेश दाइको कथा सुनाउँदै
रमाउँदा होस् या गोठालोमा
आलु पोलेर आधा-आधा खाँदा
प्रिय जन्मभूमि
दाइले मुग्लानबाट ल्याइदेको
भेस्ट कट्टु लगाई स्कुलमा
साथीलाई फुइँ लगाउँदा होस्
या सुन्तलाको बारीमा
आफ्नो घमण्ड साट्दा
त्यसैले मन चस्किन्छ
प्रिय जन्मभूमि
सहरको धुवाँधुलोले
निसासिँदा तिम्रो
समीपको स्वच्छ हावा
कोइलीको धुन कहाँ
याद नआउने हो र
मङ्सिरमा गरिने दाइँ
र काकीको मास बाख्राले
खाइदिँदा डराएको अनुभव
अहिले पनि आइरहन्छ
प्रिय जन्मभूमि
कयौँ पुस्ताको मेहनत
पल्लाघरे काकाको
पर्खालको ढुङ्गा आफ्नो
बारीमा ल्याई गोरू जोत्न
मिल्ने गरो बनाको
अनि आफ्ना पुस्तौँ
पुस्ताको मेहनतलाई
त्यति सजिलै
भुल्न नसकिने रहेछ
प्रिय जन्मभूमि।