छोरा,
पटक-पटक
इस्टकोटको
च्यात्तिएको खल्तीतिर
आँखा नडुला
तेरो बासँग
न
खल्तीमा राख्नका लागि केही छ
न
खल्ती सिउन सक्ने हैसियत छ।
छोरा,
पुँजीका नाममा
पुँजीवालाहरूले
धेरैथोक गरे
आन्दोलन भयो
योजना थपिए
बजेट थपियो
सबैको जमिन बढ्यो
तर छोरा
तेरो बा'को भने
खातामा ऋण र
थाप्लोमा पीरबाहेक
केही बढेन।
छोरा,
तैँले पढेको छस्
संसार बुझेको छस्
तर छोरा
यिनीहरू खतरा छन्
यिनीहरू
सोझो गरिबी पुर्न
खाडल खन्न लगाएर
निस्किएको माटोले तँलाई छोप्नेछन्
र
भन्नेछन्
गरिबी हराइसक्यो।
यिनीहरूको अगाडि
आँसु नदेखाउनू
आँसु बटुलेर
मरभूमिमा पोख्नेछन्
र
तँलाई नै खोज्न लगाउनेछन्
यही देखाउन कि
अब दुखी कोही रहेन।
तँ
आफ्नो आँसुको मूल्य
रगतको भाउमा
आफै चुकाउनु पर्ने ठाउँमा जन्मिएको छस्।
दलालहरू
बेच्छन्, जान्छन्
हत्याराहरू
मार्छन्, जान्छन्
यिनीहरू त
हत्या गरेर बेच्छन्।
त्यसैले
विपत्तिको सङ्केत दिई
विद्रोह अल्झाएर
विनाश गर्नेबाट
प…रै बस्नू।
तैँले
यो पत्र पढ्दासम्म
धावा बोलेका
शासकको निजी धारा बमोजिम
पठाउनेको अघि
स्व. लेखिनेछ
छोरा,
तेरो बाबू
स्वर्ग पुग्दैछ
तर
तँ
मलाई
नपछ्याउनू है।