यति लामो समयसम्म घरमा बसेको म सायद पहिलो पटक होला अहिले। कोभिडको महामारीले निम्त्याएको लकडाउनले मलाई घरमै थन्काइदिएको थियो।
दसैं/तिहारमा मात्रै अनुहार देख्न पाइने छरछिमेकमा भएका साथीहरूलाई धारा, पँधेरा, खोल्सा-खोल्सी जताततै भेट्न पाइन्थ्यो। गाउँ भरिएको थियो। पखेरामा फुलेका गुराँस, बाँझिएर बसेको भूमिले हाम्रो स्पर्श पाउन थालेका थिए।
एसएलसीपछि छुट्टिएका साथीहरू पनि पाखा पखेरामा देखिन थाले। कोभिडको त्रास त छँदै थियो तर साथीभाइको दर्शन पाउँदा कता-कता लकडाउन सुनौलो पनि लाग्यो। पहिलो महिना दिन कटाउन त्यति असहज भएन।
शिक्षक सेवा आयोगमा नाम निस्किएपछि बेजिल्ला पोस्टिङ भएकोमा छोटो बिदा आउँदा जाँदा ठिक्क हुने। त्यसैले पहिलो लकडाउनको पहिलो महिना रमाइलो नै लागेको थियो। समय प्रतिकूल बन्दै थियो। लकडाउन थपिँदै गयो।
घरको नजिकै लाहुरे काकाको घर थियो। काकाको छोरी र म निकै मिल्ने दौंतरी थियौं। ऊ लाहुरेकी छोरी, म किसानकी। काका र बुवा आँगनमा गफिँदै हुनुहुन्थ्यो।
'छोरी कता छिन् कान्छा?'
बुवाको प्रश्न सक्न नपाउँदै काकाले भन्नुभयो, 'कता हुनु? अनलाइन क्लास छ। बिहानदेखि साँझसम्म ल्यापटपमै घोप्टिन्छे। सरकारी मास्टरहरूलाई जस्तो सहज कहाँ छ र? घरै बस्यो। तलब पाकिराख्या हुन्छ। गजब छ सरकारी शिक्षकलाई!'
म आमासँग अँगेनो छेउमा बसेर रोटी बेल्दै थिएँ। काकाको कुराले मन चसक्क भयो।
उहाँले मतिर देखाउँदै थप्नुभयो, 'ऊ तपाईंकी छोरीलाई नै हेर्नु न, कति काइदा छ! महिनौं भयो घरमै देखिरा’छु, स्कुल जानु नपर्ने, अनलाइन क्लास हुँदो रैनछ। खै! कहिल्यै अनलाइनमा पढा’को देख्दिनँ मैले।'
काकाको कुरा दिमागमा एक तमास घुमिरह्यो। उता स्कुल बन्द भएर बच्चाहरूलाई पढाउन नपाएर पेट पोलिरहेको बेलामा मान्छेहरूको यस्ता टीकाटिप्पणीले झन् मलाई पीडा दिन्थ्यो। मनमा कुरा खेल्दा छटपटी भएर राति अबेरसम्म निद्रा परेन। बाल्यकालको सम्झनाले घेर्न थाल्यो।
काकाकी छोरी जिना र म घरबाट सँगै निस्कने गर्थ्यौं। गाउँ भए पनि जीप आउने जाने गर्थ्यो। ऊ हातमा तीन तले टिफिन लिएर टाइसुटमा जुत्ता बजाउँदै हिँड्थी। म उसलाई एकटकले तलदेखि माथि हेर्ने गर्थेँ।
उसको मङ्ग बसाएको तीन तले टिफिनको नास्ताले मेरो भोको पेट झन कुक्याउँथ्यो। अलि पर पुगेपछि उसलाई लिन जीप आउँथ्यो। म उसलाई हात हल्लाउँदै पर पुग्दासम्म हेरिरहन्थेँ।
म झण्डै एक घण्टा पैदल यात्रापछि स्कुल पुग्थेँ। स्कुलमा पुगेर आफ्नो जामामा लागेको धुलो टक्टकाउँदै कपाल मुसार्थेँ। अनि हतारिँदै नसकेको गृहकार्य पूरा गर्थेँ। उसको घरअगाडि सिमेन्टले ढलान गरेको मन्दिर थियो। नयाँ सुकुलमाथि दरी ओछ्याएर ऊ सात बारहरू चर्को गरी पढ्थी। म बारीको छेउपट्टिबाट सुनिरहन्थेँ। ऊ सँगसँगै मलाई कण्ठ हुन्थ्यो।
उसले च्यातेर फालेको फोर-लाइन कापी मेरो लागि नोटकपी बन्थ्यो। उसले जस्तै लेख्न कोसिस गर्थेँ। उसको त्यो सुकिलो मुकिलो मेहनतले भन्दा मेरो अभावग्रस्त मेहनतले जिन्दगीमा नयाँ रङ भर्न थालेको थियो। म कक्षामा प्रथम हुन्थेँ। ऊ सधैं पाँचौं हुने गर्थी।
काकाले भन्नुहुन्थ्यो, 'इशा फर्स्ट भई, तिमी पनि हुनुपर्छ नि!'
जिना छिटो-छिटो उत्तर दिन्थी, 'त्यो त सरकारी स्कुल पढेर प्रथम भाकी हो। त्यहाँका विद्यार्थी त के जान्ने हुन्छन् र? हाम्रो बोर्डिङमा त एक से एक जान्ने छन्। उनीहरूसँग कम्पिटिसन गरेर फर्स्ट हुन त धेरै गाह्रो छ नि ड्याडी।'
म पनि होला नै भन्थेँ। उसको स्टान्डर्ड ड्रेस, टिफिन, सरसफाइले मलाई कुत्कुत्याउँथ्यो। उसले फालेका जुत्ता, पुराना बेल्ट अनि पछाडि बोक्ने ब्याग निकै सम्हालेर लगाउने गर्थेँ। स्कुलमा ड्रेस अनिवार्य थिएन। तर मलाई पढाउने शिक्षकहरू साँच्चै निपूर्ण थिए। स्कुल कति बेला पुगूँजस्तै लाग्थ्यो।
कक्षामा म अरूभन्दा अलि फरक थिएँ। मलाई अरुले भन्दा छिटो लेखेर सकाउनु पर्ने। निकै प्रेममय थियो मेरो स्कुले जीवन। शुक्रबारीय कार्यक्रम हुने गर्थ्यो। म प्रायः प्रथम हुन्थेँ। हातभरि कापी लिएर हुर्रिँदै घर आउँथेँ।
जिनाले डिलबाट कापी, मेडल र प्रमाणपत्र देखाउँथी। मनमनै सोच्थेँ- कति राम्रो कापी, मेडल अनि प्रमाणपत्र!
अनि झस्किन्थेँ- ए साँच्ची, उसको त बोर्डिङ स्कुल पो हो त!
एसएलसी नजिकिँदै थियो। जिना होस्टल बस्न थाली। म एक्ली भएकी थिएँ। बाटोमा आउँदा-जाँदा कापीमा नोट गर्दै पढ्ने बानी थियो मेरो। बिदाको दिन बाख्रा चराउन जानुपर्ने, खेतको डिललाई बेञ्च बनाएर घण्टौंसम्म पढिरहन्थेँ।
एसएलसी सकियो। रिजल्ट निस्केछ। असारको महिना म मकै बोक्दै थिएँ। जिना हुर्रिँदै नजिक आई, 'ओई केटी, थाहा पाइस्? रिजल्ट निस्केछ नि! मेरो त फर्स्ट डिभिजन आयो।'
ऊ फुलेर फल लाग्नै आँटेजस्तो भएकी थिई। म अत्तालिएँ। रिजल्ट कहाँ हेर्नु? भोलिपल्ट स्कुल गएँ।
शिक्षकहरू सबै खुसी हुँदै मेरो नजिक आउनुभयो र धाप मार्दै भन्नुभयो, 'बधाइ छ, प्रथम श्रेणीमा पास भयौ।'
म फुरुंग भएँ। कताकति पाइला टेक्दै घर पुगेँ।
'आमा… म फर्स्ट डिभिजनमा पास भएँ।'
काका अलिक मलिनो हुनुभयो, 'कुन डिभिजनमा रे नानी?'
'प्रथम श्रेणी अंकल।'
त्यति बेला डिस्टिङ्सन भन्ने थिएन। फर्स्ट डिभिजनलाई नै सबभन्दा माथिल्लो श्रेणी मानिन्थ्यो।
काकाको एउटा नराम्रो बानी मेरो र जिनाको तुलना गर्नु, त्यो कुरा जिनालाई राम्रो लाग्दैन थियो। ऊ रिसाउली भनेर कतिपय कुरा मैले उसलाई सुनाउँथिनँ।
एसएलसीपछि साइन्स लिएर पढ्ने रहर थियो आर्थिक अवस्था तगारो बनिदियो। अंग्रेजी विषय लिएर प्लस टु सक्काएँ। ब्याचलर पढ्नका लागि जागिर नगरी पढ्ने उपाय भएन।
एउटा बोर्डिङ स्कुलमा विज्ञापन खुलेको थियो। दरखास्त दिएँ। जिना पनि आएकी थिई। लिखितमा दुवै जनाको नाम निस्कियो। अन्तर्वार्तामा लागि बोलाइयो।
'सरकारी स्कुल पढ्नुभएको रहेछ, बोर्डिङ स्कुलमा पढाउन सक्नु हुन्छ र?' ममाथि प्रश्न तेर्सियो।
'सक्छु सर' भनेँ।
तीन जना सरले मलाई पालैपालो सोध्दै हुनुहुन्थ्यो। अन्तर्वार्ता सकिएपछि म बाहिर स्कुलको गेटनेरै बसेकी थिएँ।
मेरो अन्तर्वार्ता लिने एकजना सर मुसुक्क हाँस्दै मतिर आउनुभयो र भन्नुभयो, 'हाम्रो प्रत्येक प्रश्नमा तिमीले सिर्जनशीलता, जिन्दगीको अनुभव, परिपक्वता अनि व्यवहारिकता समेटिएको उत्तर दियौ। म तिमीदेखि अति प्रभावित भएँ। सफलताको शुभकामना।'
त्यति भनेर सर गेटबाट बाहिर निस्कनुभयो। मैले लामो सास फेरेँ। मनमा एक किसिमको आनन्द आयो।
नतिजा आयो। मेरो नाम निस्कियो। बोर्डिङ स्कुलमा अध्यापन गरेसँगै क्याम्पसको पढाइ र शिक्षक सेवा आयोगको तयारीलाई पनि निरन्तरता दिई नै रहेँ। स्थायी शिक्षक पदपूर्तिको लागि विज्ञापन भयो। लिखितमा नाम निस्कियो। अन्तर्वार्तापछि गृहजिल्लाभन्दा बाहिरको जिल्लामा नियुक्तिको लागि सिफारिस भएँ।
जिनासँग छुट्टिएर बेजिल्ला बस्दा मलाई उसको निकै याद आउँथ्यो। सरकारी स्कुल पढाउन जाँदा पहिलो दिन मलाई निकै गाह्रो भयो।
विद्यार्थीलाई कापी निकाल भन्यो 'छैन मिस, पेन्सिल छैन मिस!' भन्थे।
कसैले भन्थे- भोक लाग्यो मिस।
कसैले भन्थे- थकाइ लाग्यो मिस।
यस्तो परिस्थितिमा विद्यार्थीलाई कसरी सिकाउन सकिन्छ? मलाई निकै ठूलो चुनौती थियो। पहिले बोर्डिङ स्कुलमा पढाउँदा आफूले खोजेभन्दा बढी विद्यार्थीले देखाउने गर्थे। हटकेशमा नास्ता, कपासले जस्तै आनन्द दिने ड्रेस, बसाइ व्यवस्थापन, यातायातको सुविधा यी सबै कुरा पाइला-पाइलामा भेटिन्थे।
लेखाउनु, पढाउनु, घोकाउनु यिनै काम गरिन्थ्यो। विद्यार्थी सतप्रतिशत पास हुन्थे। अनि मेरो गर्धन फुल्थ्यो। सरकारी स्कुलको शिक्षक भएको छ महिना बितिसकेको थियो। तर अपेक्षाकृत उपलब्धि केही पनि थिएन।
अभिभावकहरूलाई भेट्न गयो घरमा भेट्नै मुस्किल। अभिभावकलाई भेट्न मेलापातमा नै जानुपर्ने। अनि कामको माचोमा छोरीछोरी नै स्कुल नपठाउने चलन। माचो छोप्न नसके पेट रित्तो हुने डर। आज एउटा आयो भोलि अर्को नआउने। मलाई निकै असजिलो महसुस भएको थियो।
वास्तवमा सरकारी स्कुलमा पढाइ नै नहुने होइन, यी समस्याहरू अहिले पनि छन्।
यत्तिका धेरै समस्याबाट ग्रसित हुँदाहुँदै पनि कयौं विद्यार्थीहरू हिरा भएर निस्किएका छन्।
तर सरकारी स्कुलका विद्यार्थी र शिक्षकको कदर नगर्ने प्रवृत्ति उस्तै छ।