पहाडबाट चिप्लिँदै सुल्किँदै
अरूण र कोसीको भेलमा बग्दै
धरानमा टुक्रिएर
इटहरीमा चोइटिएर
इनरुवामा उछिट्टिएर
दमकमा पोखिएर
दूहबीमा चुहिएर
बल्ल अडियो समथरमा विराटनगर!
पारिबाट च्यापिँदै
वारिबाट थिचिँदै
कसैको स्वामित्वमा नपरिकन
कसैले अपनत्व नलिइकन
उहिल्यै विराट राजाको
घर, गोठ र ग्वाली आफ्नो साँधमा
संयोग परेकोले
न्वारान भएको
शान्त, सौम्य र सुधो विराटनगरले
अब काठमाडौँ उक्लन छोड्नु पर्छ
र,
यहीँ घरजम बसाएर
आफ्नो मुहार फेर्न पर्छ।