'अइया… आ...!'
पीडाका शब्दहरू सुनिन थाल्यो। वरिपरि बसेका सबैजना खुसीले उत्सुक देखिए। कस्तो अचम्म! पीडाका श्वास, सुस्केरा र शब्दहरू सुन्न पाउँदा पनि हर्षित हुने यो कस्तो क्षण हो? कस्तो स्वार्थी र आरिसेपन भएको मानिसको स्वभाव हो?
झट्ट यो दृष्यावलोकन गर्नेलाई लाग्ला, हामी कतै मानवता विहीन र शत्रुतापूर्ण व्यवहार त गरिरहेका छैनौँ।
म भावुकता भित्र रूमल्लिएर गहन रुपमा अनुभूत गर्दै गएँ। आत्मालाई कठोर बनाएर आफूभित्र रहेका करुणा एवं दयाका भावहरूले ती दुःखद् चित्कारहरूलाई पछिल्तिर धकेल्दै, कुल्चँदै बडो साहसका साथ घटनालाई नियाल्न चाहेँ।
कर्याक्क खाट बजेको आवाज आयो। रमा दिदी जुर्मुराए जस्तो छ। होस् खुल्यो कि क्या हो? डाक्टरले त भनेका थिए- अप्रेसन सफल भा'छ।
रमा दिदी विगत आठ घण्टादेखि बेहोस नै थिइन्। रुवाबासी चलिरहेको थियो। सबैले आश मार्न थालिसकेका थिए। तैपनि सास भएसम्म आश हुन्छ भनेर होला दुई/चार जना वरिपरि रुँगेर बसेका थिए।
सबैको नजर त्यतातिर हुत्तियो। कुरुवाहरू जर्याकजुरुक्क उठेर आफ्ना टिठलाग्दा मुहारमा खुसीको उज्यालो भर्दै मुस्कुराएँ। यत्तिकैमा भाइ रविले भने- 'हे भगवान! हाम्रो कल्याण गरिदियौँ, यी टुहुराटुहुरीहरूको दिन फर्कियो।'
कुनै-कुनै रोग वंशाणुगत पनि हुन्छ अरे भन्थे। त्यही भएर हो कि करिब २० वर्ष अगाडिको कुरा होला। रमाकी आमा पनि यसरी नै घरमा अकस्मात ऐया! ऐया! भन्दै पेट थिचेर लड्दै, पछारिँदै बेहोस भएरै परलोक गएकी थिइन् रे। आज फेरि त्यही कहानी दोहोरिएला जस्तो लागेको छ, उनका आफन्तजनहरूलाई। यसैले सबैले कचौरा जत्रो सानो मुख लगाएर दुःखी हुँदै गहभरि आँसु टलपलाएर बस्न बाध्य छन्।
हो, हिजै बेलुकाको कुरा हो। उनी आमा झैँ लड्दै, पछारिँदै घरी होसमा त घरी बेहोसीमा अइया! अइया! भन्दै थिइन् रे। यत्तिकैमा उनलाई रातारात हस्पिटलमा ल्याएर भर्ना गरिएको रहेछ। जाँच पड्तालपश्चात पत्ता लाग्यो कि गलब्लाडरको मुखमा स्टोन आएर साह्रो पारेको रहेछ। खै, पित्तथैली फुटेको हो कि के हो? डाक्टर साबले केही पनि भन्न चाहेनछन्।
डाक्टर साहेब र आफन्तहरू बीचमा छलफल भएछ, अन्तत्वगत्वा अपरेशन गरिएछ। डाक्टरले भनेका रहेछन् तर आफन्तलाई पत्यारै लागेनछ। तैपनि, झिनो आश पालेरै बसेका थिए। त्यसैले होला आज पीडा, सुस्केरा र दुखित आवाजहरू सुन्न पाउनु पनि खुसीको विषय बनेको रहेछ।
रमालाई वरिपरिबाट श्रीमान्, छोराछोरी र आफन्तजनले घेरिरहेका थिए। उनी आवाज निकाल्दै थिइन्- 'अँ.. हँ.. हँ.., 'अइया आमा!'
उनले विस्तारै आँखा खोलिन्, फेरि बन्द गरिन्। यस्तै क्रमहरू दुई/चार पटक चल्दै गयो।
रुन्चे स्वरमा रामुले बोलाए- 'आमा! आमा!'
श्रीमानले बोलाए- 'रमा, रमा, ए रमा!'
रमाको इन्द्रीयले आवाजहरू पहिचान गर्यो कि क्या हो? उनले आँखा उघारिन् र टुलुटुलु हेरिरहिन्। त्यसपछि आँखाको नानी वरिपरि घुमाउँदै 'बाबु रामु, रामु' भन्दै बोलाउन लागिन्।
उनको यस्तो प्रतिक्रियाले एकैक्षणमा सबै खुसीले गद्गद् भए र आँखामा आँसु टलपलाए। मुहारमा खुसी, शब्दमा भावुकता, अनि त्यहाँ एउटा नव जीवन र नयाँ संसारको पुनरावृत्ति भयो।
बिरामी भेट्न आउनेहरूले स्वास्थ्य लाभको कामना गर्दै, रमाको जीवनका यी घटनाका बारेमा सोधीखोजी गरे। सारा वृतान्त स्वयं उनले पनि सुनिन् र भन्न लागिन्-
'अहो! म त मरेरै पो बाँचेकी रहेछु। आमालाई झैँ धामीकोमा नलगी अस्पतालमा उपचार गरेका कारण आज मैले यो दिन देख्न पाएछु। म धन्य रहेछु, मलाई पुनर्जीवन प्रदान गर्न सहयोग गरिदिनु भएकोमा यहाँहरू सबैप्रति कृतज्ञ र ऋणी छु।
डाक्टर साबहरूको अथक प्रयास र मानव धर्मप्रति सदा म आभारी छु। मैले यहाँहरूको त्यो ऋण चुकाउन अवश्य पनि सक्दिनँ होला। भगवानलाई कोटीकोटी प्रणाम छ। उहाँले हामी सबैको पुकार सुनिदिनु भयो। जसले गर्दा हाम्रा छोराछोरी टुहुराटुहुरी हुनबाट जोगिए, हामीले पुनः नयाँ संसार पायौँ।'
एकैक्षण वातावरण शून्यताले छायो।
आफन्त, नर्स, डाक्टर सबैले उनको भनाई मनन् गरिरहेका थिए। ती कलिला बाँसका मुनाजस्ता नाबालक छोराछोरीको मलीन अनुहार हर्षले मुस्कुराएको देखियो। सबैमा खुसीको सीमा नै रहेन।
रमा भन्दै गइन्- 'वास्तवमै दुनियाँ र जगतले कोल्टे फेरेकै हो। मानिसको सोच व्यवहारमा ठूलो परिवर्तन आएछ।
हेर्नुहोस्, आजभन्दा करिब २० वर्ष अगाडि यो दिन आएको भए, अहिले म तपाईंहरू जति नै हर्षित र भाग्यमानी हुने थिएँ तर अफसोस्! त्यो दिन... म कल्पना गर्न पनि सक्दिनँ।'
उनको स्मृतिमा चलचित्रको दृष्यझैँ आमा 'दुर्गा' झलझली आइन्। पेटको दुःखाइले उहाँ पटक-पटक मुर्छा पर्नु हुन्थ्यो। उपचार गर्न त्यसबेला धामीझाँक्री मात्र लगाइन्थ्यो, संयोगवश 'फुकफाक'बाट उहाँ निको पनि हुनुहुन्थ्यो।
अहिले आएर उनले आत्मा आलोचना गरिन्- 'वास्तवमा हामी भ्रममा रहेछौँ, अन्धविश्वासमा रहेछौँ। अन्ततः आमाले यही कारणले गर्दा देह त्याग गर्नु पर्यो।'
उनी भन्दै गइन्- 'यो अवस्थासम्म ल्याइपुर्याउने आजको सरकारलाई धन्यवाद छ जसले समाजमा रहेका ती समाजसेवी धामीझाँक्रीलाई स्वास्थ्यकर्मीको तालिम दिएर यहाँ व्याप्त भएको तान्त्रिक भ्रमलाई हटाई व्यक्तिको मनोविज्ञानमा परिवर्तन ल्यायो। वर्षौदेखिको अन्धविश्वास, कुरीति, विकृति र विसंगतिलाई हटाई समाज रुपान्तरण गरी मजस्ता कैँयन मृत्युको संघारमा पुगेका बिरामीलाई बचाउन सफल भयो।