दुःखका कथाहरू लेखेर
म आँसुको कारण बन्न चाहदिनँ
किनकि म मुस्कानको पारखी हुँ
हुन त आजभोलि घृणाको व्यापार निकै चम्किएको छ
तर पनि मैले प्रेम गर्ने निकै ठूलो जोखिम उठाएको छु
तिमी फूलको ओइलाइरहेको डाठ देखाउँदै आफ्नो धारणा बनाउँछौ
म भर्खर कोपिला लाग्दै गरेका फूलहरूलाई कल्पिएर कविता लेख्छु
तिमी वितृष्णाको एउटा झिल्को तिर इसारा गर्दै
आफ्नो आक्रोशहरू पोख्छौ
म ती वितृष्णाभन्दा अलिकति थोरै परका
तृप्तताहरू तिर हेर्दै गुनगुनाउँछु
तिमी सोध्छौ कहिलेकाहीँ
दाजु तपाईं र ममा आखिर फरक के छ?
म भन्छु फरक त त्यस्तो केही छैन
मात्र दृष्टिकोणको।